PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आरती स्ट्रिप्सका मालिक सञ्जय सिङ्घल प्राविधिक प्रमुख गुप्तासहित ३ जनालाई कुटेर भारत फर्किए



अनन्तराज न्यौपाने

आरती स्ट्रिप्सका मालिक सञ्जय सिङ्घल प्राविधिक प्रमुख गुप्तासहित ३ जनालाई कुटेर भारत फर्किए

विराटनगर : आरती स्ट्रिप्सका मालिक सञ्जय सिङ्घलले उद्योगका प्राविधिक प्रमुख एवम् वरिष्ठ इन्जिनियर नागेन्द्रप्रसाद गुप्तासहित ३ जनालाई निर्घात कुटेका छन्।

भारतबाट पश्चिमबङ्गालको विमानस्थल बागडोगरा हुँदै काँकडभिट्टा नाकाबाट यही चैत ६ गते शुक्रवार विराटनगरस्थित उद्योगको परिसर आइपुगेका सिङ्घल चैत ८ गते आफ्ना कामदार कुटेर सोमवार भारत फर्किएका हुन्।

सिङ्घल भारतको तत्कालीन बहुराष्ट्रिय कम्पनी भूषण स्टिलका मालिक हुन्। भूषण स्टिल टाट पल्टिएपछि सिङ्घलविरूद्ध भारतका अदालतमा बैङ्किङ कसुरको मुद्दा छ। उनलाई त्यहाँको अदालतले भारत नछाड्न आदेश दिएको छ। तर, अदालतका आदेशविपरीत उनी बारम्बार नेपाल आउने गर्छन्।

नेपाल–भारत आवागमनका लागि पासपोर्ट–भिसा नचाहिने र नाकामा पनि खासै जाँच नगरिने हुँदा सञ्जयलाई ओहर–दोहर गर्न सजिलो भएको हो।

इन्जिनियर गुप्ताले आफूमाथि सिङ्घलले निर्घाट कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।

जिप्रकाका मुद्दा शाखाका इन्स्पेक्टर मिलन थापाले सिङ्घलले कुटपिट गरेको भन्दै गुप्ताले उजुरी दिएको पुष्टि गरे।

‘तर, त्यो जाहेरी एसपी (सन्तोष खड्का) सा'ब आफैँले राख्नुभएको छ,’ इन्स्पेक्टर थापाले भने, ‘दर्ताको प्रक्रियामा होला। मुद्दा शाखामा आइपुगेको छैन।’

एसपी खड्काले पीडित पक्षले घाउजाँच केस फारम गराउन आउँछु भनेर गए पनि सम्पर्कमा नआएको बताए।

‘पीडित पक्ष नआए पनि जाहेरी दर्ता हुन्छ,’ एसपी खड्काले भने, ‘पीडित पक्षले अभद्र व्यवहारमा जाहेरी दिएका हुन्।’

उनले सिङ्घल सम्पर्कमा आएनन् भने उनका विरूद्ध पक्राउ पुर्जी जारी गरिने स्पष्ट पारे।

पीडित गुप्ताले आफू निर्दोष भएको बताउँदा–बताउँदै सिङ्घल कुटपिटमा उत्रिएको बताए।

उनले आफू सन् २००९ देखि आरतीमा कार्यरत भएको जानकारी दिँदै त्यहाँका इमान्दार कामदारमध्ये एक भएको दाबी गरे।
गुप्ता वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ४ का स्थायी बासिन्दा हुन्।

आरतीका प्रशासन प्रमुख दिवस नेपालले आफू बाहिर बाहिरै भएका कारण कुटपिटका घटनामा अनभिज्ञ रहेको जानकारी दिए।
उद्योगका उपाध्यक्ष अश्विनी शर्माले उद्योग मालिक सिङ्घल र इन्जिनियर गुप्ताबिच चर्को भनाभन भएको आफूले सुनेको स्पष्ट पारे।

‘हाम्रा मालिक सर्ट टेम्परवाला छन्,’ उपाध्यक्ष शर्माले भने, ‘सामान्य हात हालाहाल भएको हुनसक्छ।’

आरतीका मालिक सिङ्घलले आफ्ना कामदारलाई कुटपिट गरेको यो पहिलो घटना होइन। तीन वर्ष अघि पनि उनले उद्योग परिसरभित्र आरतीका उपाध्यक्ष सञ्जीव शर्मा र मार्केटिङ प्रमुख इन्द्रजित गर्गलाई कुटेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell