PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बालुवाटार बैठकबारे जसपा र एमाले नेता भन्छन् : सत्ता साझेदारीमा कुनै कुरा भएको छैन, मधेस मुद्दामा सकारात्मक



पहिलोपोस्ट

बालुवाटार बैठकबारे जसपा र एमाले नेता भन्छन् : सत्ता साझेदारीमा कुनै कुरा भएको छैन, मधेस मुद्दामा सकारात्मक
फाइल तस्विर

काठमाडौं: जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रुपमा अगाडि बढेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै बरिष्ठ नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रुपमा अगाडि बढेको बताएका हुन्। पहिले मुद्दा मामिलाको काम अगाडि बढेमा सत्ता समीकरण लगायतको विषयमा कुरा गर्ने उनले बताए। नेता, कार्यकर्ताको मुद्दा फिर्ता गर्न पार्टीभित्र एकमत भएको भन्दै उनले नेताहरुले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरे पनि निर्णय भने पार्टीले गर्ने बताए। उनले भने, ‘मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रुपमा अगाडि बढेको छ। काम होस् भन्ने हामीले चाहेको। पहिले मुद्दा मामिलाको अगाडि बढोस् न। अनि बाँकी कुरा पनि गरौँला नी त।’

जसपाका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँगको भेटमा आफ्ना मागहरुको विषयमा कुरा भएको बताए। माग पुरा गर्ने आश्वासन आएको भए पनि देखिने गरी काम नभएको बताए। छलफलको क्रममा जसपाको सहयोग चाहिए काम गरेर देखाउनुपर्ने अनि मात्रै जसपाले निर्णय गर्ने बताएको नेता कर्णले बताए। उनले भने, ‘हामी गएका थियौं। हामीले त्यहाँ ४ वटा विषयहरु उठाइरहेका छौं। जुन हाम्रो माग हो। त्यो मागलाई आश्वासन अस्तिदेखि पाइराख्या छौं। भन्या पनि हो। पोजेटिभ कुरा चलिराखेको छ। तर देखिने गरी काम आएकै छैन। काम हुनुपर्‍यो। उहाँहरु सहयोग मागिराख्नुभएको छ भने आज पनि हाम्रो छलफलमा, काममा हेर्नुपर्‍यो। काम गरेर देखाउनुपर्‍यो। त्यसपछि मात्रै हामी निर्णय गछौँ भन्नेकुरा गर्‍यौं। उहाँले देखाउँछु भन्नुभएको छ हेर्दै जाउँ।’

नेकपा(एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जसपा र एमालेबीचको सम्बन्धमा कुनै शर्त नभएको बताए। रेशम चौधरीको रिहाइ, मधेस आन्दोनसँग सम्बन्धित विषयमा कुरा भए पनि सत्ता साझेदारीको विषयमा कुरा नउठेको बताए। उनले भने, ‘कुनै पनि शर्तबन्दी छैन हाम्रो सम्बन्धमा। उहाँहरुले कुनै पनि शर्तबन्दी राख्नुभएको छैन। रेशम चौधरी, मधेस आन्दोलन लगायतका विषयमा उहाँहरुले भन्नुभएको छ। सत्ता साझेदारी गर्नेकुरा त्यहाँ उठिरहेको छैन।’

अहिलेसम्म जसपाको मागसँग सम्बन्धित भएर मात्रै कुरा भइरहेको उपनेता नेम्बाङको भनाइ छ। दुईपार्टीबीच राम्रो सम्बन्ध भयो भने सत्ता समीकरण हुनसक्ने पनि उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell