PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै कञ्चनपुरमा प्रशासनले गर्‍यो कडाई



पहिलोपोस्ट

कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै कञ्चनपुरमा प्रशासनले गर्‍यो कडाई

काठमाडौं : कोभिड-१९ संक्रमणको जोखिम पुनः बढेको भन्दै कञ्चनपुरमा स्थानीय प्रशासनले कडाई गरेको छ। भारतका विभिन्न प्रान्तहरुमा कोभिड-१९ को संक्रमण बढिरहेको र नेपालमा पनि सोको जोखिम बढ्ने सम्भावना रहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर प्रशासनले विभिन्न आदेश जारी गरेको छ।

गृह मन्त्रालयको निर्देशन एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयबाट जारी भएको निर्देशन र जिल्ला सुरक्षा समिति तथा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयको आधारमा आज राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि प्रशासनले उक्त आदेश जारी गरेको छ।

यस्ता छन् प्रशासनले जारी गरेका आदेशहरु :

१. निकट रहेको फागू पूर्णिमा (होली) लगायत कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा आदिमा भिडभाड गर्न, मानिसहरु भेला जुलुस गर्न नपाइने।

२. धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दुरी लगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नु पर्ने।

३. अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायात लगायतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी गर्न पाउने।

४. कञ्चनपुरस्थित अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने गड्डाचौकी र गौरीफन्टा नाकाबाट मापदण्ड बमोजिम यात्रुहरुको आगमन र मालसामानको ढुवानी व्यवस्था बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिने। यस बाहेकका सबै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन पूर्णरुपमा बन्द गर्ने।

५. तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने सबै नेपाली नागरिक र पूर्व स्वीकृति प्राप्त भारतीय नागरिकको अभिलेख राख्ने र नाकामा रहेका हेल्थ डेस्कबाट अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नु पर्ने। ज्वरो आएका यात्रुहरुको मलेरियाको आरडीटी तथा सम्भव भएसम्म कोभिड १९ को एन्टिजेन टेस्ट गर्नु पर्ने।

६. सबै व्यक्तिहरुले मास्क, सेनिटाइजर र सोसल डिस्टान्सको मापदण्ड कडाइका साथ पालना गर्नु पर्ने।

७. सबै कार्यालय/निकाय/संघ संस्था एवं शैक्षिक संस्थाहरुले सामाजिक दुरी लगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी नियमित रुपमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्ने।

८. बैठक, गोष्ठी वा सेमिनार भर्चुअल माध्यमबाट गर्नु पर्ने। अत्यावश्यक बैठक, गोष्ठी वा सेमिनार गर्नु परेमा जनस्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण परिपालना गर्नुपर्ने।

९. यस आदेशमा भएको व्यवस्था अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell