PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

थ्री नेसन्स लिग : बंगलादेशी कप्तान सोहेल भन्छन्, ‘अर्को खेलमा अझै राम्रो खेल्नेछौं’, कीर्गिस्तानी प्रशिक्षकको भनाइ : पहिलो हाफमा खेलाडी कन्फ्युज्ड भए

थ्री नेसन्स लिग : बंगलादेशी कप्तान सोहेल भन्छन्, ‘अर्को खेलमा अझै राम्रो खेल्नेछौं’, कीर्गिस्तानी प्रशिक्षकको भनाइ : पहिलो हाफमा खेलाडी कन्फ्युज्ड भए

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : थ्री नेसन्स कप फुटबल आजबाट शुरु भएको छ। आज सम्पन्न उद्घाटन खेलमा बंगलादेशले कीर्गिस्तानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्‍यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले कीर्गिस्तानको यू-२३ टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

जितपछि उत्साहीत बंगलादेशी कप्तान सोहेल रानाले आजको खेल राम्रो भएको भन्दै अर्को खेलमा अझै राम्रो खेल प्रस्तुत गर्ने बताए। त्यस्तै, आज तीन जना खेलाडीलाई डेब्यु गराएका बंगलादेशी प्रशिक्षक जेम्स डेले नेपाल र कीर्गिस्तानबीच खेल हेरेर युवा खेलाडीलाई प्राथमिकता दिने या अनुभवी खेलाडी उतार्ने भन्ने निर्णय गर्ने बताए।

आजको खेलमा बंगलादेशका तीन खेलाडी डेब्यू गर्नेमा मोहम्मद मेहेदी हसन, मोहम्मद रिमोन होस्सन र मोहम्मद मतिन मिह रहेका छन्। उता कीर्गिस्तानमा भने युवा खेलाडीहरुको बाहुल्यता छ।

सीमित सिनियर खेलाडीमात्र अहिलेको टीममा भए पनि चाँडै यू-२३ का खेलाडीले सिनियर टिममा स्थान बनाउने कीर्गिस्तानी प्रशिक्षक होल्डोसोब नुरबेकले बताए। आजको खेलमा बंगलादेशी टोली अनुभवी रहेको भन्दै आफ्नो टोली तयारीको कमी लगायतका कारण पराजित भएको बताए।

‘पहिलो हाफमा हाम्रा खेलाडीहरु कन्फ्युजनमा रहे, दोस्रो हाफमा उनीहरुले आफ्नो क्षमता देखाउन खोजेका थिए तर नतिजा निस्किएन,’ उनले भने, ‘अर्को कुरा भने हामी यहाँ आउनु अघि पर्याप्त तयारी गर्न पाएका थिएनौं।’

त्यस्तै, आजको खेलमा म्यान अफ द म्याच समेत भएको कप्तान सोहिलले भने : आजको म्याच जित्न पाउँदा धेरै खुशी छौं। अर्को खेलमा अझै राम्रो खेल प्रदर्शन गर्ने प्रयास गर्ने छौं।

दशरथ रंगशालामा हुने प्रतियोगितामा सामान्य प्यारापिटतर्फ ७०० र भीआईपी तर्फ १५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ। १५ हजार दर्शक क्षमता रहेको दशरथ रंगशालामा सामाजिक दुरी पनि कायम राख्नु पर्ने अवस्थालाई ध्यानमा राख्दै १२ हजार टिकेटमात्र बिक्री हुने जनाइएको छ।

यसपछि मार्च २५ (चैत १२) गते हुने खेलमा नेपालले कीर्गिस्तानसँग खेल्नेछ। र, मार्च २७ (चैत १४) मा हुने खेलमा नेपाल र बंगलादेश भिड्नेछन्। मार्च २९ (चैत १६) गते हुने फाइनल खेलमा शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। सबै खेलहरु साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell