PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

सामुहिक रुपमा होली नखेल्न पर्सा प्रहरीको अनुरोध



पहिलोपोस्ट

सामुहिक रुपमा होली नखेल्न पर्सा प्रहरीको अनुरोध

काठमाडौं : जिल्ला प्रहरी कार्यालय पर्साले होलीको अवसरमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न अनुरोध गरेको छ।

बुधवार विज्ञप्ति जारी गर्दै कोभिड १९ संक्रमण बढेको भन्दै कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न भनिएको हो। त्यस्तै आफ्नो घरपरिवारभित्र मात्र होली मनाउन अनुरोध गरिएको छ।

मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने, मोटरसाइकल चालकले हेल्मेट नलगाउने, मोटरसाइकलमा दुई जना भन्दा बढी व्यक्ति बसी सवार गर्ने, समूहमा मोटरसाइकल चलाउने लगायतका ट्राफिक नियमहरुको उल्लङ्घन गर्ने कार्य गरे कारबाही गर्ने चेतावनी समेत दिइएको छ।

भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि वीरगंजमा पनि सतर्कता अपनाउन थालिएको छ। कोरोना महामारीको दोस्रो लहर शुरु भएको आँकलनसहित स्थानीय प्रशासन सीमा नाकामा कडाईको साथै कोरोना महामारीसँग जुध्न तयारीमा जुटेको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साले आज बैठक बसी होली पर्व नजिकिँकै जाँदा २५ जनाभन्दा बढीको संख्यामा भिडभाड नगर्न भनेको छ। त्यस्तै, नेपाल भारत सीमामा उच्च सतर्कता अपनाउन सुरक्षाकर्मीलाई कडा निर्देशन समेत दिइएको केन्द्रका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय पर्साको सभा हलमा बसेको बैठकमा सीमा नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकता परेको अवस्थामा नेपाली सेनालाई समेत परिचालन गर्न सकिने केन्द्रले गरेको निर्णयमा उल्लेख छ। साथै, वीरगंज भन्सार नजिकै हेल्प डेस्क स्थापना गर्ने पनि निर्णय भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell