PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

भारतबाट सुदूरपश्चिम आउनेमा फेरि देखिन थाल्यो कोरोना : जोखिम बढ्दो, सतर्कता शून्य



एम बम

भारतबाट सुदूरपश्चिम आउनेमा फेरि देखिन थाल्यो कोरोना : जोखिम बढ्दो, सतर्कता शून्य

कैलाली : नेपालमा अहिले फेरि कोरोना महामारीको दोस्रो लहर उकालो गतिमा छ। जसको प्रभाव सुदूरपश्चिमका नाकाहरूमा देखिन थालेको छ।

सुदूरपश्चिमको प्रमुख नाका त्रिनगर गौरिफन्टाबाट नेपाल आएकामध्ये शुक्रवार यता ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा मंगलवार एकै दिन ६ जनामा संक्रमण देखिएको छ। गौरिफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

यसरी महामारीको जोखिम बढ्दै जाँदा पनि सरोकारवालाहरू भने पहिलेको जसरी नै आँखा चिम्लेर बसेका छन्। गतवर्ष महामारी निकै बढिसकेपछि मात्रै व्यवस्थापन गर्न खोज्दा नागरिकहरूको सीमामा बिचल्ली हुनुका साथै भाइरसको संक्रमण पनि समुदायसम्मै पुगेको थियो। अहिलेको बेवास्ताले पनि अवस्था त्यो भन्दा जटिल बनाउने देखिएको छ।

सुदूरपश्चिमेलीहरूको रोजगारको प्रमुख गन्तव्य मानिएको भारतबाट अहिले होली मनाउन तथा हिउँदे बाली भित्र्याउन र बर्षे बाली लगाउन मासिनहरु आउने क्रम बढ्न थालेको छ। त्रिनगर गौरिफन्टाबाट दुई साता अघिसम्म दैनिक ३ सय हाराहारीमा मात्रै मानिसहरू नेपाल आउने गरेका थिए। अहिले त्यो संख्या दोब्बरले बढेर झन्डै ६ सय हाराहारी पुग्न थालेको छ।

त्रिनगर गौरिफन्टा नाकामा स्थापना भएको नागरिक सीमा सहायता केन्द्रका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाका अनुसार अहिले मानिसहरू आउने क्रम तुलनात्मक रूपमा दोब्बरले बढेको छ। तर, नाकामा सबैको कोरोना परीक्षण गराउन भने नसकिएको उनले बताए।

गौरिफन्टामा ज्वरो मापन गरेर र सम्भावित केही मानिसको कोरोना परीक्षण गरेर घर पठाउने गरिएको छ। यसले भारतमा फैलिएको दोस्रो लहरको कोरोना नेपालमा पनि ग्रामीण भेगका समुदायस्तरसम्मै पुग्ने खतरा बढेको छ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भारतमा दोस्रो लहरको कोरोना फैलिएको भन्दै सुदूरपश्चिमका चार प्रमुख नाका, कैलालीको त्रिनगर गौरिफन्टा, कञ्चनपुरको गड्डाचौकी र दार्चुला तथा बैतडीका दुई नाकामा कडाइ गर्न निर्देशन जारी गरे पनि त्यसको पूर्ण पालना हुन नसक्दा प्रदेशमा कोरोनाको जोखिम फेरि बढेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell