PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरीय चुली भलिबल कप आजदेखि शुरु, आर्मीको विजय सुरुवात



पी बी खड्का

सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरीय चुली भलिबल कप आजदेखि शुरु, आर्मीको विजय सुरुवात

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रयोगिता शुरु भएको छ।

आजबाट शुरु भएको भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले विजय सुरुवात गरेको छ। आर्मीले सल्यानको कुपिण्डे क्लबलाई ३-१ को सेटमा हराउँदै जित दर्ता गराएको हो।

आर्मीले पहिलो सेटमा सल्यानलाई २५-२१ मा हराउँदा दोस्रो सेटमा भने सल्यानले आर्मीलाई २५-२२ ले स्तब्ध पार्दै खेल बराबरीमा पुयाउन सफल भयो। त्यसपछि आर्मीले पुनः सल्यानलाई तेस्रो र चौथो सेट २५-१९ र २५-२२ मा पाखा लगाउँदै दुई अंक जोड्न सफल भयो।

नकआउट चरण अन्तर्गत बेस्ट अफ फाइभको फर्म्याटमा खेलाइएको प्रतियोगितामा विभिन्न प्रदेशका आठ टिमको सहभागिता रहेको आयोजक चुली युवा क्लबले जनाएको छ।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले एक लाख ५० हजार सहित ट्रफि पाउने छन्, तेस्रो हुनेले एक लाख र चौथो हुनेले ५० हजार रुपैयाँ सहित ट्रफि पाउने क्लबका सदस्य अमर चन्दले जानकारी दिए।

त्यस्तै, प्रतियोगितामा खेलको विभिन्न विधामा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्। खेल कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका थिए। सो क्रममा उनले खेलकुद क्षेत्रका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए।

प्रतियोगिताको पूर्वसन्ध्यामा पत्रकार र आयोजक चुली युवा क्लबबीच मैत्रीपूर्ण भलिबल खेल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell