PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मोरङका १७ वटा स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने



फूलमाया पुरी

मोरङका १७ वटा स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

विराटनगर : मोरङमा यही चैत २० गतेदेखि नवौं चरणको हात्तीपाइलेविरूद्धको औषधि खुवाइने भएको छ।

विराटनगर महानगरपालिकासहित मोरङका १७ वटा स्थानीय तहमा उक्त औषधि खुवाइने छ। जसमा सबै स्थानीय तहका ९ लाख २४ हजार ५ सय ६२ जनालाई हात्तीपाइलेविरूद्धको औषधि खुवाउने लक्ष्य रहेको कार्यालयका प्रमुख डा सुरेश मेहताले जानकारी दिए।

त्यस्तै, मोरङको एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकामा एकै पटक हात्तीपाइले विरुद्धको औषधि खुवाइने अभियानको शुभारम्भ हुने कार्यालयले जनाएको छ।

‘जिल्लाभरीमा चैत्र २० गतेदेखि हात्तीपाइले विरूद्धको औषधि खुवाइने अभियानको शुभारम्भ हुनेछ,’ स्वास्थ्य कार्यालय प्रमुख मेहताले भने, ‘औषधि खुवाउने केन्द्र स्थानीय तहले तोक्नेछ।’

जसका लागि यस पटक ५ हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुनेछन्।

बुधवार विराटनगरस्थित तथ्यांक विभागको हलमा गरिएको सञ्चारकर्मीहरुसँगको अन्तर्कृया कार्यक्रममा मोरङमा अब नवौं चरणको हात्तिपाइलेको औषधि खुवाइने र यो अभियान अन्तिम चरणमा पुगेको उनको भनाई छ।

जनगणना अनुसार मोरङमा १० लाख ८७ हजार ७ सय २१ जनसंख्या रहेको छ। जसमध्ये १३ प्रतिशतमा हात्तीपाइलेको रोग रहेको उनले बताए।

डा मेहेताका अनुसार मोरङको सुनवर्षी र रंगेली नगरपालिका भित्रको गाउँमा १ सय २० जना हात्तीपाइले रोगीका बिरामी रहेका छन्।

‘मोरङमा ९ औं पटक हात्तीपाइलेविरूद्धको औषधि खुवाइने अभियान शुरू भएको हो,’ उनले भने, ‘यस अघि मोरङमा आठौं पटक हात्तीपाइले विरूद्धको औषधि खुवाइसकिएको छ।’

गत वर्ष मोरङमा ७९.९ प्रतिशतले हात्तीपाइलेविरूद्धको औषधि सेवन गरेको स्वास्थ्य कार्यालयको अभिलेखमा देखिन्छ। स्वास्थ्य कार्यालयका अनुसार गाउँमा भन्दा पनि शहरी क्षेत्रका मानिसले हात्तीपाइलेविरूद्धको औषधि कम सेवन गर्ने गरेको पाइएको छ।

औषधि सेवनबारे आम मानिसमा गलत धारणाको कारणले शहरी क्षेत्रका मानिसले लक्ष्यभन्दा कम संख्यामा औषधि सेवन गरेको पाइएको डा मेहताको भनाई छ।

‘सहरी क्षेत्रमा आफू निकै सुरक्षित महसुस गरेकाले हो वा बुझाइकै कारणले लक्ष्यभन्दा कम संख्यामा औषधि सेवन गरेको पाइयो’, उनले भने, ‘त्यसैले यसपटक खुवाइने औषधि प्रभावकारी बनाएर अगाडि बढ्ने लक्ष्य रहेको छ।’

सहरी क्षेत्रका सबैलाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न उनले आग्रह गरे।

कार्यालयले चैत मसान्तसम्मा लक्ष्य अनुसार औषधि खुवाइसक्ने योजना बनाएको छ। यस पटकको कार्यक्रम लक्ष्य लिएको हरेक व्यक्तिले औषधि नखाएसम्म अभियान निरन्तर संचालन हुने स्वास्थ्य प्रमुख मेहताले जानकारी दिए।

मोरङका करिब ७०० वटा बुथ केन्द्र तोकिने छन्। २० गते प्रत्यक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा औषधि खुवाइने छ भने त्यसपश्चात स्वास्थ्य स्वयंसेविकाले खुवाउने मलेरिया स्वास्थ्य निरीक्षक राम लामाले बताए।

देशभरीमा ६३ वटा जिल्लाका २ करोड ५० लाख मानिस हात्तीपाइले रोगको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। यस अभियानमा प्रदेश १ को झापा, मोरङ र धनकुटामा हात्तीपाइलेविरूद्धको औषधि खुवाइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell