PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

थ्री नेसन्स् कपमा कीर्गिस्थानविरुद्ध उत्रँदै नेपाली टोली, फाइनल तय गर्ने खेलको रणनीति यस्तो



पहिलोपोस्ट

थ्री नेसन्स् कपमा कीर्गिस्थानविरुद्ध उत्रँदै नेपाली टोली, फाइनल तय गर्ने खेलको रणनीति यस्तो

काठमाडौं: मंगलवारबाट काठमाडौंमा सुरु भएको थ्री नेसन्स कपमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल सुरु हुने छ।

प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजय ब्यहोरेको कीर्गिस्तान आजको खेलमा जित्नै पर्न दवाबमा उत्रने छ भने नेपाल पनिजित निकाल्दै फाइनल सुरक्षित गर्न चाहन्छ।

प्रतियोगिताअघि मिडिया कन्फ्रेन्समा कीर्गस्तान र बंगलादेशबीचको पहिलो खेल हेरेर सोही अनुरुपको रणनीति बनाउने बताएका बालगोपाल महर्जनले हिजोमात्र २३ सदस्यीय टोली घोषणा गरेका छन्। नेपाली टोलीमा विराज महर्जनले पुनरागमन गर्दा नवयुग श्रेष्ठ, विकास खवासलगायत खेलाडी बाहिरिएका छन्। प्रशिक्षक महर्जनले नेपाली टोलीको मिडफिल्डलाई बलियो बनाउन खोजेको देखिन्छ।

त्यस्तै पहिलो खेलमा पराजय ब्यहोरेपछि कीर्गिस्तानका प्रशिक्षक होल्डोसोब नुरबेक घरेलु टोलीसँग खेल्न अझ कठिन हुने बताएका थिए। उनले बंगलादेशको खेलमा पराजय ब्यहोर्नुको पछि अपर्याप्त तयारी र पहिलो हाफमा खेलाडी ‘कन्फ्युज’ हुनु रहेको बताएका थिए।

‘पहिलो हाफमा हाम्रा खेलाडीहरु कन्फ्युजनमा रहे, दोस्रो हाफमा उनीहरुले आफ्नो क्षमता देखाउन खोजेका थिए तर नतिजा निस्किएन,’ उनले भने, ‘अर्को कुरा भने हामी यहाँ आउनु अघि पर्याप्त तयारी गर्न पाएका थिएनौं।’

फिफा वरियतामा कीर्गिस्तान नेपालभन्दा धेरै अघि छ। यद्यपि फिफा वरीयतामा ९६ औं स्थानमा रहेको कीर्गिस्तानको यू २३ टोलीसँग नेपालले खेल्न लागेको हो। प्रशिक्षक नुरबेक अहिले नेपाल आएको टोलीको औसत उमेर २१/२२ मात्र भएको र सिनियर टिमका सीमित खेलाडीमात्र टिममा भएको बताए। यद्यपि चाँडै यी खेलाडीहरुले सिनियर टीममा स्थान बनाउनेमा विश्वस्त देखिए उनी।

यता नेपाली टोली अभ्यासमा उत्रिएको केही महिना भइसक्यो। विश्वकप छनोट अन्तर्गतको खेलका लागि केही महिनायता नेपाली टोली अभ्यासमा छ। तर, विश्वकप छनोटको खेल भने तत्काललाई टरेको र घरेलु मैदानमा पनि नहुने भएपछि थ्री यो प्रतियोगिता एन्फाले आयोजना गरेको हो। नेपाली सिनियर टोली झण्ड ६ वर्षपछि घरेलु मैदानमा उत्रँदै छ। 

दशरथ रंगशालामा हुने प्रतियोगितामा सामान्य प्यारापिटतर्फ ७०० र भीआईपी तर्फ १५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ। १५ हजार दर्शक क्षमता रहेको दशरथ रंगशालामा सामाजिक दुरी पनि कायम राख्नु पर्ने अवस्थालाई ध्यानमा राख्दै १२ हजार टिकेटमात्र बिक्री हुने जनाइएको छ।

यसपछि मार्च २७ (चैत १४) मा हुने खेलमा नेपाल र बंगलादेश भिड्नेछन्। मार्च २९ (चैत १६) गते हुने फाइनल खेलमा शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। सबै खेलहरु साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

नेपाली टोली

गोलकिपर - किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की

डिफेन्डर्स : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर : त्रिदेब गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रबिशंकर पासवान

फर्वार्ड्स् : अन्जन विष्ट, दर्शन गुरुङ, अभिशेक रिजाल, भरत खवास  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell