काठमाडौं : रेड पाण्डा मारेर त्यसको छालाको तस्करी गरेको अभियोगमा प्रहरीले बुधवार तीन जनालाई सार्वजनिक गर्यो। पक्राउ पर्नेहरूमा सोलुखुम्बु महाकुलुङ २ का ७६ वर्षीय जगत्बहादुर राई, ५६ वर्षीय कवीर शङ्कर राई र ५७ वर्षीय मितुरधन राई रहेका छन्। पक्राउ परेका तीन जना काठमाडौं रेड पाण्डाको छाला तस्कर गर्ने डिलरकै रूपमा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी कवित कटुवालले बताए।
'उनीहरू डिलर नै हुन्। जङ्गलमा पासो लिएर जाने मार्ने अनि काठमाडौं लगायत अन्य ठाउँमा सप्लाइ गर्ने गरेको पाइएको छ। उनीहरूसँग अन्य मानिस पनि संलग्न छन् वा छैनन् भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ,' डिएसपी कटुवालले भने।
उनीहरूलाई रातो हाब्रेको छालासहित महाकुलुङ गाउँपालिकाबाट पक्राउ गरिएको हो। सात रातो हाब्रेका छाला र पाँच पासोसहित उनीहरूलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो। उनीहरूले मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्र गैर कानुनी रूपमा वन्यजन्तुको चोरी सिकार गरी मार्ने, आखेटोपहार लुकाइछिपाई राखी खरिदबिक्री गर्ने तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाका आधारमा तिनलाई पक्राउ गरिएको डिएसपी कटुवालले बताए।
उनीहरूले एउटा छालाको ४० हजार रुपैयाँ लिएर बिक्री गर्ने गरेको खुलेको छ। त्यसपछि त्यहाँबाट किने छाला अन्य व्यक्तिलाई बिक्री गर्दा २ लाख रुपैयाँसम्म लिने गरेको पाइएको छ। ' काठमाडौं र चिनसम्म यसको छाला पुग्ने गरेको देखिएको छ। मूल्य २ लाख रुपैयाँसम्म बिक्री गर्ने गरेको देखिन्छ,' डिएसपी कटुवालले भने।
अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएका तीनै जनालाई कानुनी कारबाहीका निम्ति राष्ट्रिय निकुञ्ज पठाइने बताइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा (२६) को १ अनुसार पाँच लाख रुपैयाँदेखि १० लाखसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद सजाय या दुवै हुन सक्ने कानुनी प्रावधान छ।