PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

युट्युब हेरेर नक्कली नोट उत्पादन, कीर्तिपुरबाट प्रहरीले समात्यो दुई जना



पहिलोपोस्ट

युट्युब हेरेर नक्कली नोट उत्पादन, कीर्तिपुरबाट प्रहरीले समात्यो दुई जना

काठमाडौं : नक्कली नोट बनाइरहेको अवस्थामा प्रहरीले कीर्तिपुर नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ। गएराति कीर्तिपुरस्थित समल टोलबाट ३५ वर्षीय गनबहादुर लोप्चन र ३९ वर्षीया माया तामाङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले जानकारी दिए।

लोप्चनको योजनामा केही सातादेखि कीर्तिपुरमा कोठाभाडा लिएर नक्कली नोटको कारोबार गरेको प्रहरीले जानकारी दिएको छ। लोप्चनले युट्युबमा रहेका सामग्री हेरेर नक्कली नोट बनाउन सिकेको र कारोबार गरेको खुलेको छ।

'हामीसँग उसले युटुबबाट हेरेर फोटोकपी मेसिन किनेर छापेको बताएको छ,' एक प्रहरी अधिकृतले सुनाए।

लोप्चनले न्युरोडबाट १९ हजार रुपैयाँमा फोटोकपी मेसिन र आवश्यक पर्ने अन्य कागज किनेर ७/८ दिनदेखि नक्कली नोटको कारोबार गरेको प्रारम्भिक बयान दिएका छन्। पक्राउ परेका लोप्चन यसअघि मिस्त्रीका रुपमा काम गर्दै आएको खुलेको छ। आर्थिक अवस्था निकै नाजुक भएपछि नक्कली नोटको कारोबारमा लागेको उनले प्रहरीलाई बताएका छन्।

'केही गर्दा पनि पैसा कमाउनै सकिएन। बाँच्नै पर्‍यो भन्दै यस्तो धन्दा गरेको भन्छ,' एक प्रहरी अधिकृतले सुनाए।

बुधवार कलंकीको फुटपाथ पसलमा तरकारी किन्न माया तामाङले नक्कली नोट दिएको जानकारी प्रहरीमा आएपछि प्रहरीले अनुसन्धान गरेको थियो। त्यही क्रममा प्रहरीले माया तामाङलाई नियन्त्रणमा लिएको थियो। तामाङको साथबाट ९ थान पाँच सयको नक्कली नोट फेला परेको थियो।

प्रहरीले कीर्तिपुरस्थित लोप्चनको कोठाबाट  एक हजार दरको ५१ थान, ५ सय दरको ५७ थान र १ सय दरको २ थान नक्कली नोट फेला पारेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell