PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

माधव नेपाल समूहले डाक्यो केन्द्रीय कमिटी बैठक, ओलीविरुद्ध के बन्दैछ रणनीति?



प्रकाश भण्डारी

माधव नेपाल समूहले डाक्यो केन्द्रीय कमिटी बैठक, ओलीविरुद्ध के बन्दैछ रणनीति?
सानेपा कार्यकर्ता भेलाको दृष्य।

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। शुक्रवारका लागि बैठक बोलाइएको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिए। शुक्रवार विहान ११ बजे कलंकीमा केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल-खनाल समूहका नेपाल सहित ४ जना नेतालाई स्पष्टिकरण सोधेपछि त्यसको जवाफ कसरी दिने भन्नेबारेमा उनीहरुबिच छलफल भइरहेको छ।

मंगलवार महासचिव इश्वर पोखरेलले ३ दिन भित्र जवाफ बुझाउन भन्दै नेपाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्यास भुसाललाई पत्र पठाएका थिए।

तीब्र छलफलमा नेपाल

बिहीवार दिनभर नेपाल समूहका नेताहरु छलफलमा जुटेका थिए। बिहीवारसम्म स्पष्टिकरणको जवाफ दिने समय भए पनि उनीहरुले हालसम्म जवाफ फर्काइसकेका छैनन्। राजनीतिक र कानुनी रुपमै ओलीलाई प्रश्नसहितको जवाफ फर्काउने नेपाल समूहको तयारी छ। ४ जनाले संयुक्त रुपमा जवाफ फर्काउने नेपाल समूहका नेता गंगालाल तुलाधरले जानकारी दिए। उनले नेताहरु अहिले पनि जवाफको तयारीका लागि छलफलमै रहेको बताए। 'अहिले पनि छलफलमै हुनुहुहुन्छ। जवाफ त दिन्छौं नै,' उनले भने।

केन्द्रीय कमिटी सदस्य ठाकुर गैरेले नेताहरुले जवाफ र आफ्नो समूहको रणनीतिका बारेमा बुधवार दिनभर छलफल भएको बताए। 'हिजो दिनभर छलफल गर्नुभएको हो। जवाफ पठाउनेबारे अझै टुंगो भइसेकेको छैन,' उनले भने।  

नेपाल समूहका नेताहरुले ओलीलाई स्पष्टिकरण सोध्ने नैतिक आधार नभएको भन्दै ओलीको चर्को आलोचना गर्दै आएका छन्। पार्टीमा फेरि पनि ओलीसँगै मिल्ने या बिद्रोह गर्ने भन्नेबारेमा नेपाल समूहमा एकमत भइसकेको छैन। नेपाल समूहका नेता जीवनराम श्रेष्ठले ओलीले गरेका निर्णय मान्ने नसकिने भएकाले अवैधानिक कुराको जवाफ नहुने बताए।

'मेरो विचारमा त ओलीका निर्णयहरु नै अवैधानिक हुन्। अवैधानिक कुराको जवाफ नै हुँदैन,' उनले भने।

मिलनको आशा झिनो

नेपाल समूहभित्र ओलीसँग मिल्नै नसकिने विचार राख्ने नेताहरुको संख्या बढदो छ। फागुन २८ गतेको निर्णयपछि ओलीले पुनर्मिलनको ढोका बन्द गरेर नेपाल समूहलाई अलग्याउन खोजेको भन्दै उक्त समूहका नेताहरु अब निर्णायक लडाइमा उत्रिनुपर्ने बताइरहेको छन्। चैत ४ र ५ गतेको नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा पनि अधिकांश नेताहरुले ओलीको अघि घुडा टेक्न नहुने सुझाव दिएका थिए। यद्दपि, ओलीले फेरि पनि निर्णय फिर्ता लिएमा मिल्न सकिने भन्दै कतिपय नेताहरुले पार्टी नै अलग गर्न नहुने धारणा राखिरहेका छन्।

नेपाल समूहका नेता तुलाधरले आफ्नो समूहका गतिविधि पार्टी अलग गर्नका लागि नभएको बताए। 'हाम्रा गतिविधि अलग हुने खालका होइनन्। दबाव सिर्जना गर्नका लागि गतिविधि भइरहेका हुन्,' उनले भने। ओलीकै कारण अहिले एमाले निकै अलमलमा रहेको र अब केही समयमै समूह निर्णायक अवस्थामा पुग्ने तुलाधरको भनाई छ।

निर्णायक निर्णय गर्न भन्दै नेपाल समूहले शुक्रवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ। अहिलेको राजनीतिक घटनाक्रम र पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गर्न भन्दै बैठक बोलाइएको भए पनि नेपाल समूहले उक्त बैठकबाट महत्वपूर्ण राजनीतिक निर्णय लिने तयारी थालेको छ।

'ओलीले अलग गर्न चाहे'

नेपाल समूहका नेताहरुले आफूहरुले पार्टी फुटाउन नचाहेको भए पनि ओलीले भने पार्टीमा फर्कँनै नदिएको आरोप लगाएका छन्। नेपाल समूहका नेता तुलाधरले ओलीले आफ्नो समूहलाई अलग गर्न चाहेको बताए।

'हाम्रो पहल त एकताकै हो। तर, उहाँले अलग होउन् भन्ने चाहनुभएको छ,' उनले भने

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादीलाई आ-आफ्नो बाटोमा फर्काइदिएपछि एमालेभित्र पुनर्मिलन नभइ विवाद चर्किएको छ। २०७५ जेठ दुई गते अघिकै कमिटीलाई मान्यता दिनुपर्ने नेपाल-खनालको अडान भए पनि ओलीले फागुन २८ गते आफ्नो समूहको बैठक बोलाएर नेपाल समूहका नेतालाई पदमुक्त गरेका थिए।

ओलीका गतिविधिप्रति आक्रोशित नेपाल समूहले नेताहरुलाई गरिएको कारवाहिको प्रक्रिया पार्टी फुटकै संकेत भएको दाबी गरिरहेका छन्। चैत ७ गते ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकले ओलीलाई थप अधिकार दिने निर्णय गरेको थियो। संसदीय दलको विधान संशोधनलाई अनुमोदन गर्दै उक्त बैठकले समानुपातिक सांसदको बन्द सूची हेरफेर, सांसदहरुलाई कारवाहीको अधिकार, राष्ट्रिय सभाको नेता छान्ने अधिकार लागएतका अधिकार ओलीलाई दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell