PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेपाली झण्डामा भारतीय खेलाडीको प्रतिस्पर्धा : नेपाली पक्ष भन्छ, 'हामीलाई जानकारी छैन, भारतले गैरकानुनी काम गर्‍यो'



मुकुन्द घिमिरे

नेपाली झण्डामा भारतीय खेलाडीको प्रतिस्पर्धा : नेपाली पक्ष भन्छ, 'हामीलाई जानकारी छैन, भारतले गैरकानुनी काम गर्‍यो'

काठमाडौं : भारतमा सम्पन्न भएको घोडचढी प्रतियोगिताको विश्वकप क्वालिफार्यसमा नेपालको झण्डा प्रयोग गरेर भारतीय खेलाडीहरुले प्रतिस्पर्धा गरेको खुलेपछि नेपाली पक्षले विरोध जनाएको छ।

नेपालका अक्वेस्ट्रियन एसोसिएसनका अध्यक्ष रवि राजकर्णिकारले उक्त प्रतियोगिताबारे आफूहरु अनभिज्ञ रहेको बताए। संघले भर्खरै मात्र मान्यता पाउँदै गरेकोले अन्तर्राष्ट्रिय प्रतियोगितामा यसरी सहभागिता जनाउन सम्भव नरहेको उनले बताए।

'हामीले भर्खर त इन्टरनेशनल अक्वेस्ट्रियन एसोसिएसनको प्रोभिजनल मान्यता प्राप्‍त गरेका छौं,' उनले भने,'त्यो सन्दर्भमा हाम्रो अहिलेसम्म अन्तर्राष्ट्रिय सहभागिता एक पटक हो। त्यो पनि ओलम्पिकले लगेको।  त्यसबाहेक सहभागिता जनाउन हामीलाई मान्यता नै छैन' उनले भने।

ग्रेटर नोएडामा सम्पन्न घोडचढी प्रतियोगिताको विश्वकप क्वालिफायर्स 'टेन्ट पेगिङ वर्ल्डकप क्वालिफायर्स' मा चारजना भारतीय खेलाडीहरुले नेपालको झण्डा प्रयोग गर्दै खेलेर तेस्रो स्थान हासिल गरेका थिए।

मार्च १६ देखि १८ सम्म आयोजना भएको प्रतियोगितमा अमेरिका, ओमन, बेलारुस, भारत, पाकिस्तान र नेपाल सहभागी थिए। त्यहाँ सम्पन्न ७ फरक प्रतियोगितामा भारतले ६ स्वर्ण र एक कास्यसहित ५१५ अंक जोडेर पहिलो हुँदै प्रतियोगितामा प्रथम भयो। र, विश्वकपका लागि क्वालिफाइ भयो। विश्वकप प्रतियोगिता भने सन् २०२३ मा दक्षिण अफ्रिकामा हुनेछ।

सम्बन्धित समाचार : नेपालको झण्डा लिएर भारतीय नै उत्रिए वर्ल्डकप छनोटमा, नेपाललाई अत्तो न पत्तो!

नेपाल नै सहभागी भएको भनेर सार्वजनिक भएपछि अहिले नेपाल र भारतमा यसको चर्चा भइरहेको छ।

अध्यक्ष राजकर्णिकारले भारतमा सम्पन्न प्रतियोगितमा बारे आफूले पनि हिजोमा जानकारी पाएको बताए।

'हामीलाई जानकारी पनि थिएन। हिजोमात्र मलाई ‌ओलम्पिकबाट बोलाउनु भएको थियो। म त नेशनल स्पोर्ट्स कोर्स गराउने सन्दर्भमा बोलाउनु भएको हो की भनेर ओलम्पिकमा गएको थिएँ। अनि यो कुरा अघि आयो,' उनले भने, 'यो त कानुन विपरित भयो। जसले यो काम गरेको छ उनीहरु त्यसप्रति उत्तरदायी हुनुपर्छ।'


पाकिस्तानी मिडियामा प्रकाशन भएको खेलको अंकतालिका


 

राजकर्णिकारले नेपालबाट कुनै संघले पनि गैर नेपालीहरुलाई सहभागिता जनाउन कानुनले नदिने बताउँदै प्रश्न गरे : अब यो कसले गर्‍यो? कसरी गर्‍यो? थाहा छैन।

भारतीय फेडेरेसनले नेपालको फेडेरेसनबाट नै खेलाडीको नामावली गएको दाबी गरेको थियो। अध्यक्ष राजकर्णिकारले भने भारतीय दाबी झुटो रहेको बताए।

यसअघि भारतीय फेडेरेसनका महासचिव जइबीर सिंहले नेपाली संघबाट खेलाडीको नाम आएकाले पृष्ठभूमि परीक्षण नगरी प्रतियोगितामा समावेश गराइएको बताएका थिए।

'नेपालको संघले हामीलाई नाम पठाएको हो। त्यसैले आईटीपीएले यो स्वीकृत गरेको हो। त्यसैले हामीलाई लाग्यो यी खेलाडीहरु 'जेन्युन्' हुन्,' उनले भनेका छन्, 'कुनै देशको फेडेरेसनले भन्छ कि यी हाम्रा खेलाडी हुन् र यिनीहरुले हाम्रो प्रतिनिधित्व गर्नेछन्। हामीले त्यसलाई स्वीकार्छौं। अझ नेपालसँग त भिसाको पनि आवश्यकता पर्दैन। त्यसैले हाम्रो ध्यान पाकिस्तान र अमेरिकामा रह्यो।'

राजकर्णिकारले भने भारतीय अभिव्यक्ति नै गलत भएको भन्दै भने, 'त्यो गलत अभिव्यक्ति हो। एउटा त हाम्रो फेडेरेसनलाई अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउने अधिकार नै छैन अहिलेसम्म। भर्खर त हामीले ओलम्पिकबाट चिठी लिएर अन्तर्राष्ट्रिय फेडेरेसनलाई पठाइरहेका छौं,' उनी भन्छन्, ' हामीलाई न निमन्त्रणा आएको थियो न हामीलाई जानकारी नै आएको थियो। न अन्तर्राष्ट्रिय संघसँग हाम्रो सम्बन्धन नै छ। हाम्रो खेलाडी गएका नै छैनन्।'

राजकर्णिकारले अन्तिम समयसम्म टिम नपुग्ने भएपछि गैरकानुनी रुपमा नेपाली टिम थपिएको हुनसक्ने अनुमान लगाएका छन्।

'कसले गरेको थाहा भएन। हिजो हामीले छलफल गरेको अनुसार चाहीँ आफ्नो खेल गराउँदा पाँचवटा देशको सहभागिता जनाउनु परेको हुनाले भारतले नै भित्र मिलाएर गरेको हुन सक्छ,' उनले प्रतिप्रश्न गरे, 'नत्र भए गेम अघि नै हामीसँग भेरिफाइ गर्न सक्थ्यो नि? त्यो किन गरेन?'

प्रतियोगिता सकिएपछि गैर नेपालीले सहभागिता जनाएको भन्दै कसैले उजुरी गरेको हुनसक्ने उनको अनुमान छ।

'त्यसपछि त उनीहरुलाई आपत् भयो। हामीले खेलाडी पठाएको भए कि करेस्पोन्डेन्ट कोही होला,' उनले भने, 'केही कम्युनिकेसन त होला नि? कसले गरेको हो देउ भनेर भन्दा पनि उनीहरु दिन तयार छैन। हामीलाई कसरी दोष दिने?'

यस विषयमा राजकर्णिकारले भारतीय फेडेरेसनका महासचिवबिच छलफल भएको बताए। त्यसक्रममा राजकर्णिकारले अन्तर्राष्ट्रिय संघको नियम अन्तर्गत सामना गर्न उनलाई सुझाएको बताए।

'भारतको महासचिवलाई मलाई के गर्ने भनेर सोधे। मैले इन्टरनेसनल फेडेरेसनको नियम अन्तर्गत के गर्नुपर्छ त्यही अनुसार सामना गर्नुहोस भने,' उनले भने, 'त्यो नेग्लिजेन्स त उहाँहरुको हो नि।'

यद्यपि, अन्तर्राष्ट्रिय महासंघमा उजुरी गर्नपर्ने आवश्यकता भने राजकर्णिकारले देखेका छैनन्।

'हामी किन उजुरी गर्ने? त्यो त महासंघ आफैले कारवाही गरिहाल्छ नि,' उनको तर्क छ, 'नेपालको संघसँग समन्वय नराखी झुटो रुपमा नेपाल भनेर सहभागिता जनाएर त्यसमा पनि गैर नेपालीहरुलाई भाग लिन लगाएको भनेको त क्रिमिनल एक्ट नै भयो नि।'

राजकर्णिकारले भारतीय पक्ष आफ्नै कमजोरीका कारण अफ्ठ्यारोमा परिरहेका बताए।

नेपालको नामबाट सहभागी भएका भारतीय खेलाडी योगेन्दरले नेपाली फेडेरेसनको सुप्रिय भन्ने व्यक्तिले बोलाएपछि गएको जनाएका छन्।

उनले टाइम्सअफ इण्डियासँगको कुराकानीमा भनेका छन्, 'एकजना सुप्रिय भन्ने व्यक्ति म सँग नजिकिए र प्रतियोगितामा नेपालबाट सहभागिता जनाउन आग्रह गरे। ती ब्यक्तिले आफूले नेपालको प्रतिनिधित्व गर्ने बताएका थिए। त्यसैले म ग्रेटर नोइडा गएर प्रतियोगितामा सहभागिता जनाएँ।'

यही प्रश्न भारतीय फेडेरेसनका महासचिवले नेपालका अध्यक्षसँग पनि सोधेका रहेछन् : नेपालको संघमा कोही सुप्रिय भन्ने पदाधिकारी छन् ?

'सुप्रिय भन्ने नेपाली संघमा कोही छ भनेर भारतीय संघको महासचिवले पनि सोधेका थिए,' अध्यक्ष राजकर्णिकारले भने,'नेपालको संघमा त्यस्तो कुनै व्यक्ति छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell