PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

कोभिड रोकथामका लागि सीमानाका बन्द र लकडाउन गर्ने सरकारको सोच छैन: अर्थमन्त्री पौडेल



पहिलोपोस्ट

कोभिड रोकथामका लागि सीमानाका बन्द र लकडाउन गर्ने सरकारको सोच छैन: अर्थमन्त्री पौडेल

काठमाडौं: अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन्।

कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन्।

बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताए। उनले भने, ‘सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ। त्यसबाट हामी जोगिनु पर्ने छ। अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ। त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं। अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन। त्यो अहिले उपयुक्त पनि हुँदैन।’

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए। सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि शुरु भइसकेको बताए। कोभिड पछिको आर्थिक पुर्नउत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रीत भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए।

राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्नेकुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे। उनले भने, ‘बजेटले राष्ट्रिय प्राथमिकतालाई ठिक ढङ्गले चिनेर आउँछ। राष्ट्रिय सन्दर्भमा प्राथमिकताहरु ठिक ढंगले निश्चित गरेर आउँछ। दोस्रो, बजेट कार्यान्वयनको सुनिश्चितता गरिन्छ। दुईवटा कुरामा हामी बढी ध्यान दिन्छौं।’

कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell