PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

सभामुख सापकोटा र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट



पहिलोपोस्ट

सभामुख सापकोटा र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हालेका नेपालका लागि पाकिस्तानी राजदूत सायेद हैदर शाहबीच आज शिष्टाचार भेट भएको छ। सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शाहलाई सफल कार्यकालको शुभकामना दिए।

सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ वर्ष लामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको बताउँदै दुई देशका जनताबीचको सम्बन्ध अझ पुरानो रहेको चर्चा गरे। उनले निर्मल पूर्जा मगर नेतृत्वको नेपाली हिमाल आरोहीहरुले यसै वर्ष पाकिस्तानको केटु हिमाल आरोहणमा प्राप्त गरेको ऐतिहासिक सफलतापछि पाकिस्तानका प्रधानमन्त्री, सेना प्रमुख लगायतले गरेको न्यानो स्वागत र प्रदान गरेको हौसालाका लागि आभार व्यक्त गरे।

संघीय संसदमा नेपाल-पाकिस्तान संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले संसद-संसदबीचको सम्बन्धलाई थप विकास, विस्तार र सुदृढिकरण गर्दै दुवै देशको समृद्धिका सम्भावना खोज्दै अघि बढ्न सकिने बताए। उनले दुई देशबीच कृषि, हाइड्रोपावर, पर्यटन, सूचना-प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औंल्याए।

राजदूत हैदर शाहले दुई देशबीच औपचारिक सम्बन्धले ६ दशक पार गरेको र जनता-जनताबीच लामो ऐतिहासिक र साँस्कृतिक सम्बन्ध रहेको चर्चा गरे। उनले आफ्नो कार्यकालमा नेपालमा व्यापार लगायतका क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। पर्वतारोहण, जलविद्युत लगायतका क्षेत्रमा सहकार्यका सम्भावना खोज्न पहल गर्ने उनको भनाइ छ।

राजदूत हैदरले नेपाली नेतृत्वले दक्षिण एशियाली सहयोग संगठन सार्कको स्थापनाकालदेखि नै अबलम्बन गरिरहेका विषय प्रशंसनीय रहेको चर्चा गर्दै सार्कका माध्यमबाट बहुपक्षीय सम्बन्धका साथै क्षेत्रीय शान्ति र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell