PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

घाइतेको उपचारमा लापरबाही भएको भन्दै तराई अस्पतालमा तोडफोड



राधेश्याम पटेल

घाइतेको उपचारमा लापरबाही भएको भन्दै तराई अस्पतालमा तोडफोड

वीरगंज : वीरगंज पावरहाउस नजिकै रहेको तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ। बिहीवार अपरान्ह ४ बजे अस्पतालमा तोडफोड भएको हो।

सवारी दुर्घटनामा परी घाइते भएका वीरगंज २० हरपतगंजका २६ वर्षीय आशेषप्रसाद यादवको मृत्युको विषयलाई लिएर परिवारजनले अस्पताल परिसरमा तोडफोड गरी क्षति पुर्‍याएका हुन्। घाइतेको उपचारमा अस्पतालका चिकित्सकहरुले लापरवाही गरेको भन्दै अस्पतालको झ्याल र ढोकाको सिसा फोडिएको छ।

त्यसैगरी, अस्पतालको आकस्मिक कक्षमा काम गर्ने एक जना डाक्टरको कारको सिसा पनि फुटाइएको छ। दिउँसो १ बजेको समयमा वीरगंज २४ रामगढवा नजिकै रानीघाटबाट ना ४३ प ९८३४ नम्बरको मोटरसाइकलको पछाडि बसी हरपतगंज घर गइरहेका यादवलाई पावरहाउसबाट ड्राईपोर्ट तर्फ गइरहेको कन्टेनर बोक्ने ना ३ ख ३९९२ नम्बरको टेलरले ठक्कर दिएको थियो।मोटरसाइकल चालक यादवकै गाउँ निवासी वर्ष २४ का श्यामबिहारी यादव पनि घाइते भएका छन्।

उनको पनि तराई अस्पतालमा उपचार भइरहेको छ। पौने १ बजे भएको दुर्घटनापछि १ बजे घाइतेलाई एम्बुलेन्समा राखेर तराई अस्पतालमा पुर्‍याइएको तर पैसा जम्मा नगर्दा डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचारमा ढिलाई गर्दा रक्तश्राव भएर घाइते आशेषप्रसाद यादवको मृत्यु हुन गएको मृतकका दाइ रामा यादवको गुनासो छ।

यता, अस्पतालका सञ्चालक डा रोशन कुर्मीले सवारी दुर्घटनाबाट विरामीको अवस्था नाजुक भएको र उनको खुट्टा नराम्ररी घस्रिएर रक्तश्राव हुँदा चिकित्सकले प्रयास गर्दागर्दै मृत्यु भएको बताए। उनले चिकित्सकहरुले मृत घोषणा गरेपछि परिवारजनले गाउँले र आफन्तजन बोलाएर सुरक्षाकर्मीकै अगाडि तोडफोड गरी क्षति पुर्‍याएको आरोप लगाए।

उनले भने, ‘दुर्घटनामा गम्भीर घाइते थिए, खुट्टा पुरै ताछिएको अवस्थामा ल्याइएको थियो। बढी रगत बगेकोले यादवको मृत्यु भएको हो, यसमा डाक्टरको दोष छैन। तर, परिवारजनले आक्रोशमा आएर चिकित्सक र अस्पतालमाथि गरेको प्रयास दुःखदायी छ।’

तोडफोड भएपछि वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालयको टोली पुगेर घटनालाई साम्य पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell