PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

देशको सुरक्षा व्यवस्था फितलो बन्दै गएको छ : राज्यमन्त्री उषा यादव



राधेश्याम पटेल

देशको सुरक्षा व्यवस्था फितलो बन्दै गएको छ : राज्यमन्त्री उषा यादव

वीरगंज : प्रदेश २ की आर्थिक मामिला राज्य मन्त्री उषा यादवले राज्यको सुरक्षा व्यवस्था कमजोर र फितलो बन्दै गएको आरोप लगाएकी छन्। आस्मान नेपाल नामक गैरसरकारी संस्था र शिक्षा पत्रकार समाजद्वारा वीरगंजमा आयोजित बहिनी शिक्षाको लागि दिदी कार्यक्रम, प्रदेश स्तरीय सिकाई आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘आजको समयमा राज्य कहाँ छ, के गरिरहेको छ, दैनिक रुपमा बालिका तथा महिला बलात्कार हुनु परेको घटना सार्वजनिक भइरहेका छन्। यसमा स्कूल कलेज पढने विद्यार्थी तथा सोझासाझो महिलाहरु पनि बलात्कारको सिकार भइरहेका छन्।’

राज्यले आफ्नो सुरक्षा रणनीति र संयन्त्रमा सुधार ल्याउनु पर्ने उनको भनाइ थियो। उनले आस्मान नेपालको विगत ७ वर्षदेखि नेपालको ६ जिल्लामा सञ्चालनमा रहेको यो कार्यक्रमले विद्यालय तहमा ड्रप आउटको समस्यालाई केही हदसम्म कम गर्न सहयोग गरेको बताइन्।

उनले यस वर्षदेखि कार्यक्रम समापन भइरहेको बेलामा अबको समयमा यस्तो कार्यक्रमलाई निरन्तरता दिन सम्बन्धित पालिकाले साझेदारको रुपमा काम गर्नु पर्ने आवश्यक रहेकोमा जोड दिइन्।

कार्यक्रममा वीरगंजका मेयर विजयकुमार सरावगीले प्रदेश २ को पर्सा र सर्लाहीमा यो कार्यक्रम लागू हुँदा निकै फाइदा पुगेको बताए। उनले पर्साको ८ पालिकाहरुको १२ वटा मावि स्कूलमा यो कार्यक्रमले फाइदा पुगेको बताए।

यो कार्यक्रमले विद्यालय छोड्ने बालिकाहरुलाई पुनः विद्यालयमा ल्याउन, बालविवाह, दाइजो प्रथा, महिनावारी सम्बन्धी पनि ज्ञान र जनचेतना जगाउन मद्दत पुगेको उनले बताए। उनले अगामी दिनमा पनि कार्यक्रमको निरन्तरताको लागि आफूहरु साझेदारको रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रदेश सभासद करिमा बेगमले यस्तो कार्यक्रमले बालिका शिक्षामा योगदान पुगेको बताइन्। उनले प्रदेश २ सरकारको नारा बेटी पढाउ, बेटी बचाउ भन्ने रहेकोले यस्तो कार्यक्रम आठ जिल्लाकै अधिकांश मावि स्कूलहरुमा लागू गर्नु पर्ने सुझाव दिइन्।

कार्यक्रममा बहिनी शिक्षाको लागि दिदी कार्यक्रमका बिग सिस्टरहरुले आफनो अनुभव साटासाट गरेका थिए। पर्सामा ८५ जना ठूली दिदी र ८२० जना सानी बहिनीहरुलाई यस कार्यक्रममा सहभागी गराएका थिए। भिएसओ, ब्रिटिश काउन्सिल, गर्ल्स् इजुकेसन च्यालेन्ज र आस्मान नेपालको संयुक्त लगानीमा गत २०७१ सालदेखि प्रदेश २ को पर्सा, सर्लाही, वाग्मती प्रदेशको धादिङ, गण्डकी प्रदेशको लमजुङ, लुम्बिनी प्रदेशको बाँके, कर्णाली प्रदेशको सुर्खेत जिल्लामा गरी कुल ३० पालिकामा यो कार्यक्रम सञ्चालन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell