PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

कर्णाली सरकारको दोस्रो चौमासिक प्रगति समीक्षा : बजेट कार्यान्वयनको गति बढाउन मुख्यमन्त्रीको निर्देशन



पी बी खड्का

कर्णाली सरकारको दोस्रो चौमासिक प्रगति समीक्षा : बजेट कार्यान्वयनको गति बढाउन मुख्यमन्त्रीको निर्देशन

सुर्खेत : कर्णाली प्रदेश सरकारको दोस्रो चौमासिक प्रगति समीक्षा गरिएको छ। बिहीवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको समीक्षामा बजेट कार्यान्वयनको गति सुस्त भएको निचोड निकाल्दै कार्यान्वयनमा तीव्रता दिनुपर्ने औँल्याइएको छ।

विषयगत मन्त्रालयका मन्त्री, सचिव सहितको गोष्ठीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयन निराशाजनक भएको भन्दै तत्काल गति बढाउन निर्देशन दिएका हुन्।

‘समीक्षामा बजेट कार्यान्वयन सुस्त भयो, कहाँ के समस्याले अप्ठ्यारो पारेको छ, कुनै बाहानाबाजी गरेर ढिला गर्न हुँदैन’, मुख्यमन्त्रीलाई उदृत गर्दै प्रवक्ता विमला केसीले भनिन्, ‘बाधा अड्काउ फुकाउन तयार छौँ। तर, बजेट कार्यान्वयनमा तीव्रता दिन निर्देशन भएको छ।’

त्यस्तै, कार्यालयका कर्मचारीबाट दैनिक कामको रिपोर्ट सचिवलाई दिनुपर्ने र सचिवले हप्ता दिनमा मन्त्रीलाई रिपोर्ट दिनुपर्ने एवं विषयगत मन्त्रीले सोही सातामा मुख्यमन्त्रीलाई कामको प्रगति विवरण पेश गर्नुपर्ने मुख्यमन्त्री शाहीले निर्देशन दिएका छन्।

साथै, प्रदेश सरकारले यसअघि गरेको कार्य सम्पादन करार सम्झौतालाई आत्मसाथ गरेर काम गर्नुपर्ने मुख्यमन्त्रीको जोड छ। यसरी कामको दैनिक समीक्षा गरेर अघि बढे विगतको भन्दा यस वर्ष बजेट कार्यान्वयनको प्रगति बढी हुने सरकारको अपेक्षा छ।

‘मुख्यमन्त्रीज्यूले दिएको निर्देशन अनुसार र यसअघि हामीले कार्य सम्पादन करार सम्झौता गरेका थियौँ, त्यसरी नै काम गर्न भन्नु भएको छ,’ प्रवक्ता केसीले भनिन्।

अघिल्ला वर्षहरुको भन्दा राम्रो योजना र बजेट कार्यान्वयनको नतिजा आउनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ छ।

‘सरकार ढल्दैन, ढुक्क हुनुस्’

नेकपा एमालेको ओली समूहका नेता यामलाल कँडेलको अगुवाईमा सरकारलाई दिएको समर्थन फिर्ताले मुख्यमन्त्री अल्पमतमा परेको भन्दै सरकार ढल्ने र फेरिने अड्कल बाजी भइरहेका छन्।

यद्यपी, मुख्यमन्त्री शाही त्यो स्वीकार्न तयार छैनन्। बाहिरी हल्लाको भरमा सरकार नफेरिने उनी दावी गर्छन्।

‘एमालेकै माननीयज्यूहरुले सरकारलाई दिएको समर्थन कायमै छ भनिरहनुभएकै छ, सरकार कसरी अल्पमतमा हुन्छ?’ मुख्यमन्त्री शाहीले कर्मचारीलाई निर्देशन दिँदै भने, ‘कसैले चाहेकै भरमा सरकार ढल्ने, परिवर्तन भइहाल्ने भन्ने हुँदैन, ढुक्क हुनुस् सरकार बहुमतमै छ। लागेको काम नरोक्नुस्।’

उनले सरकारको समर्थनमा बहुमत सदस्य संख्या कायमै रहेको भन्दै काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिएका हुन्।

नेता कँडेल पक्षले दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेकै ज्वाला पक्षले समर्थन कायमै रहेको जनाएको थियो।

त्यसलगत्तै मुख्यमन्त्री शाहीले मन्त्रालयका सचिव सहित अन्य कर्मचारीहरुलाई सरकार फेरबदल नहुने भन्दै निरन्तर आफ्नो काममा लाग्न निर्देशन दिएका थिए। उनले पटक पटक कर्मचारीलाई काम गर्न निर्देशन दिँदै सरकार परिवर्तन नहुने आश्वस्त पारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell