PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

श्रीसिया खोला प्रदुषण बहसः संसदीय टोलीलाई सिडिओको दाबी, '१५ मिनेटमै सफा गर्न सकिन्छ'



राधेश्याम पटेल

श्रीसिया खोला प्रदुषण बहसः संसदीय टोलीलाई सिडिओको दाबी, '१५ मिनेटमै सफा गर्न सकिन्छ'

वीरगंज : पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले माथिल्लो निकायको निर्देशन र आर्शिवाद रहेको खण्डमा पर्साको श्रीसिया खोलालाई १५ मिनेटमा सफा गरेर देखाउने बताएका छन्। पर्साको जिल्ला समन्वय इकाई कार्यालयको सभा हलमा आयोजित अन्तक्रियामा उनले यस्तो दाबी गरेका हुन्।

संघीय संसद उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले पर्साको श्रीसिया खोला अनुगमन गर्न आएको टोली समक्ष उनले खोलालाई प्रदुषणरहित बनाउने प्रतिबद्धता देखाइरहँदा सभा हल तालीले गुन्जयमान बनेको थियो। बिहीवार उनले भने, ‘माननीय ज्यूहरु तपाईहरुको निर्देशन र आर्शिवाद रहिरह्यो भने १५ मिनेटमा श्रीसिया खोलाको पहिलेको अवस्थामा फर्काउँछु, खोलालाई फोहोर गर्ने कामलाई बन्द गर्न सकिन्छ, सफा र कंचन पानी बग्ने खोलाको रुपमा श्रीसियालाई परिणत गर्न सकिन्छ।’

अनुगमन टोलीको संयोजक सांसद देवेन्द्र पौडेलले पर्सावासीको समस्यालाई सरकार समक्ष प्रतिवेदन बनाएर आवश्यक पहलको विषयमा सिफारिस र निर्देशन दिने ठोकुवा गरे। उनले भने, ‘उद्योग चल्नु पर्छ, तर जुन कामको लागि अनुमति लिएका छन्, त्यसको छानबिन गरी ईजाजत विना चलेका उद्योगलाई कारबाही गर्नू पर्छ, बाँकी उद्योगको पनि अनुगमन गरी छानबिन गर्नू पर्छ।’ उनले प्रधानमन्त्री  र उद्योग मन्त्री समक्ष यस भेगको श्रीसिया खोलाको समम्यालाई हल गर्ने गरी निकै सक्रियता पूर्वक राख्ने बताए।

अनुगमन टोलीका सदस्य सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले उद्योगहरुले पैसा कमाउन धानको भुस जलाएर खरानी निकाल्ने अनि खरानीलाई व्यवस्थापन गर्न सरकारले जग्गा दिने विषयमा असहमति रहेको बताएका थिए। उनले भने, ‘वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले भनेका छन्, धानको भुसको खारानी व्यस्थापनको लागि सरकारले १५/२० विघाको प्लट दिनु पर्यो रे, तर पैसा तपाईहरुले कमाउने? अनि जग्गा हामीले उपलब्ध गाराउने। यो राज्य हितमा छैन।’

त्यसैगरी वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले स्थानीय सरकारको कुरा केन्द्र सरकारले नसुन्ने गरेको आरोप लगाए। उनले तीन वर्षदेखि वीरगंज महानगरले लेखेको पत्रचार केन्द्र सरकारले जवाफ नदिएको अरोप लगाए। उनले भने, ‘जे जति अधिकार र सरकार सञ्चालनको कुरा कागजमै सीमित छ, कुनै परामर्श वा बजेटको सवालमा केन्द्र सरकार वा दातासँग माग्दा कुनै रेस्पोन्स हुने गरेको छैन।’ उनले श्रीसिया खोला सफा बनाउन ६० करोडभन्दा बढीको आयोजना एडिबीसँग माग गरेको बताए। तर ९ सय करोडको आयोजना काटेर ५ सय करोडमा झारेको उल्लेख गर्दै भने, 'तेस्रो चरणको बजेट पनि माग गरेको छौ, तर पाएको छैनौ।' उनले वीरगंजबाट नेपालको समग्रमा ४३ प्रतिशत राजश्व र ७३ प्रतिशत आयात हुँदाहुँदै पनि वीरगंजलाई हेर्ने दृष्टिकोण राज्यको फरक रहेको उनले आरोप लगाए। 'विराटनगरमा १ बिलियनको अयोाजना गएको छ, तर वीरगंजमा श्रीसिया खोलाको दुबै साइडमा नाला बनाउने र औद्योगिक कोरिडोर पार्क बनाउने योजनालाई सरकारले गम्भीर रुपमा लिएको छैन,' मेयर सरावगीले भने। उनले श्रीसिया खोलाको २००५ मा गुगलको नक्सामा चौडाई १५० मिटर रहेकोमा हाल ५० मिटरभन्दा पनि कम रहेको र फोहोर मैलाले खोला ढलमा परिणत बन्दै तथा बहाव क्षेत्र पनि साँघुरिदै गएको चर्चा गर्दै खोलाको छेउमा दुई वटा नाला बनेको खण्डामा प्रदुषित पानीलाई प्रशोधन गर्ने वाटर ट्रिटमेन्ट प्लान्टबाट खोलालाई सफा तथा नालाको छेउमा रुख विरुवा रोपेर पार्क बनाउन पनि उनले अपिल गरे।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले बारा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं ३ रामवन मुहान रहेको श्रीसिाय खोलाको प्रदुषणको उदगम स्थान बारा भएता पनि पर्सा प्रदुषणको क्षेत्र पर्ने भएकोले यहाँको धार्मिक संस्कृति माथि पनि प्रहार भएको जिकिर गरे। वक्ताहरुहरुले भारतीय दूतावासको पत्रको अधारमा छठको समयमा खोला सफा गर्नूपर्ने भन्दै स्थानीय प्रशासनलाई माथिल्लो तहको निर्देशन आउने गरेको पनि बताइएको थियो। त्यसपछि १५ दिनको लागि स्थानीय प्रशासनले उद्योगलाई चिठी लेखेपछि खेला सफा हुने र बाँकी समयमा फलामजन्य, छाला, घ्यू, खद्यान्नलगायत उद्योगले बिना प्रशोधन रसायनयुक्त पानी खोलामा फाल्ने गरेकोले खोलाको अवस्था विग्रेको बताएका छन्। खोलाको पानी पहिले गाउँलेले खाने गरेको वा खाना पकाउन पनि प्रयोग गर्ने गरेकोमा अहिले जनावरले उक्त पानी खादा मर्ने गरेको वीरगंज महानगर वडा नं १८का वडा अध्यक्ष ब्रहमदेव राउत कुर्मीले बताए। उनले कार्तिक स्नान भन्ने एक महिने पर्व पनि खोला प्रदुषण भएपछि प्रभावित भएको र स्थानीयहरुको दाहसंस्कारमा पनि समस्या भएको बताएका थिए। अनगुमन टोलीले धानको भुसको छवाली(खरानी) रातिको समयमा खोलामा जथाभावी फाल्दा खोलाको पानीको रंग कालो र चौडाई पनि घट्दै गएको बताएका थिए। कार्यक्रममा अगुमन टोलीमा संघीय सासद प्रदीप यादव, मायादेवी न्यौपाने, प्रमोद शाह, प्रदेश २ सांसद जनन्त अन्सारी, करिमा बेगम, रमेश कुर्मी, पर्साका एसपी बेलबहादुर पाण्डे, जिल्ला समन्वय इकाई अधिकारी छबिरमण भट्टराईलगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell