PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

सप्तरी प्रिमियर लिग : बजाज खड्क वारियर्स र रुपनी राइडर्स फाइनलमा



पहिलोपोस्ट

सप्तरी प्रिमियर लिग : बजाज खड्क वारियर्स र रुपनी राइडर्स फाइनलमा

काठमाडौं: विवेक यादव कप्तानीको बजाज खड्क वारियर्स र कुशल भुर्तेल कप्तानीको रुपनी राइडर्स सप्तरीमा जारी तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेका छन्।

शुक्रबार प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा विवेक यादव कप्तानीको बजाज खड्क वारियर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो। अंक तालिकामा दोश्रो स्थानमा रहँदै रुपनी राइडर्स फाइनल प्रवेश गर्‍यो। वारियर्स र राइडर्स दुवैले लिग चरणमा ४ खेल खेल्दा समान ३ जित र १ हार बेहोरे। शनिवार दुई टिमबिच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ।

राज रंगशालामा सम्पन्न खेलमा बजाज खड्क वारियर्सले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा टिभीएस किंग्स राजविराजले पुरै २० ओभर ब्याटिङ गरेता पनि ७ विकेट क्षतीमा १५४ रन मात्र बनाउन सक्यो।

टिभीएस किंग्सको लागि रोबिन सिंहले अर्धशतकीय योगदान दिने क्रममा २२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ५१ रन बनाए। सुरज कुर्मीले ३६ रन, प्रशान्त सिंहले २४ रन तथा सोनु अन्सारीले १६ रन योगदान दिए।

बजाज खड्क वारियर्सको बलिंगमा गोमानंद अमात्य, भुलावन सहानी र अनिल खरेलले समान २ विकेट लिए भने पप्पु यादवले १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १८१ रन बनाएको थियो।

वारियर्सको लागि ओपनर अनिल शाहले सर्वाधिक ७० रन योगदान दिए जुन क्रममा उनले ४९ बलमा ९ चौका र २ छक्का प्रहार गरे। कप्तान विवेक यादवले १४ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ३७ रन बनाए। निरज यादवले ३२ तथा पवन सर्राफले १८ रन योगदान दिए।

टिभीएस किंग्स राजविराजको बलिंगमा रोबिन सिंह, मेहबुब आलम र दिनेश अधिकारीले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell