विराटनगर : लामो समयदेखि गतिलो फुटबल टिम नभएको विराटनगरले राष्ट्रिय स्तरको फुटबल क्लब पाएको छ। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको हातबाट बिहीबार साँझ आयोजित समारोहमा विराटनगर सिटी फुटबल क्लब घोषणा गरियो।
हाल १४ खेलाडी अनुबन्धित भइसकेको क्लबमा राष्ट्रिय खेलाडी रञ्जित धिमाललाई क्याप्टेन नियुक्त गरिएको क्लबका प्रमुख कार्यकारी अधिकृत शुभाशिष कोइरालाले बताए।
क्लबमा धिमालका साथ अन्य राष्ट्रिय खेलाडी सुनिल बल र सन्तोष तामाङ पनि छन्।
क्लबले गोलकिपरमा किशोर गिरि र सूर्य अधिकारी तथा डिफेन्समा रञ्जित धिमाल, सरोज दाहाल, विक्रम धिमाल र विजय धिमाल नियक्त गरेको छ। त्यस्तै मिडफिल्डरमा हेम तामाङ, सुनील खड्का, सुरजजिउ ठकुरी, सुनिल बल, अशोक थापा र सुशील लामा छन्। क्लबले फरवार्डतर्फ दीपक राई र नीरकुमार राईलाई नियुक्त गरेको छ।
टिममा २० खेलाडी अनुबन्धित गर्ने योजना छ। कोइरालाले क्लबले राष्ट्रिय सुपर लिगमा सहभागी हुने अवसर पाएको जानकारी दिए। क्लबले प्रख्यात विदेशी खेलाडी र प्रशिक्षकलाई पनि अनुबन्धित गर्नेछ।
