PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दुई दशकपछि पूरा भयो पुस्करको सपना, बुद्धबारे बुझ्न 'थिएटर फेस्टिभल'



लक्ष्मी बलायर

दुई दशकपछि पूरा भयो पुस्करको सपना, बुद्धबारे बुझ्न 'थिएटर फेस्टिभल'

करिब २१ वर्षअघि पुस्कर गुरुङले 'मिलारेपा' नाटकमा अभिनय गरे। गौतम बुद्ध सम्बन्धित नाटक खेल्दै गर्न बुद्ध नाटकप्रति अभिरुची बढ्यो उनको। त्यसपछि उनले आफ्नो प्रयासमा नेपाल सेन्टर अफ इन्टरनेशनल थिएटर इन्स्टिच्युट स्थापना गरे। नाटक बनाउन हौसिएका उनले जर्मन लेखक फ्याडरिक सिलरको कृतिमाथि प्रत्येक दुई वर्षमा थिएटर फेस्टिभल हुने समाचार पढे। सोचे : एउटा लेखकको नाममै थिएटर फेस्टिभल हुन्छ भने बुद्धसँगमात्रै सम्बन्धित नाटक बनाउन किन सकिन्न र!  

करिब दुई दशकपछि उनको त्यो सपना पूरा भएको छ।  बुद्धसँग सम्बन्धित नाटक बनाउने हुटहुटीकै कारण यसपटक उनले राष्ट्रिय नाचघरमा 'बुद्ध थिएटर फेस्टिभल' आयोजना गरे। चैत्र ८ गतेदेखि सुरु भएको फेस्टिभलमा नाचघरको नाट्यशालामा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि ७ वटा नाटक प्रदर्शन भइरहेका छन्। फेस्टिभल चैत्र १४ गतेसम्म संचालन हुनेछ।


तस्विर : बुद्ध थिएटर फेस्टिभल / फेसबुक पेज


बुद्धलाई 'थिम' बनाएर नाटक गर्ने सोच पुरानै भएपनि विभिन्न कारणले रोकिएको बताउँछन् फेस्टिभलका निर्देशक पुस्कर गुरुङ।  

भन्छन्, ' मैले जानेको माध्यम नै नाटक थियो। बुद्धकै कामहरु र कथाहरु नाटकमार्फत देखाउने कोसिस गरेको छु। धेरै अघि देखि नै योजना बनाएको भएपनि आँट नआएर र आर्थिक अभावले गर्दा पनि फेस्टिभल संचालन हुन सकेन।'


निर्देशक पुस्कर गुरुङ


करिब २० वर्षदेखि थाँती रहेको काम फेरि सुरु गर्ने मौका भने ३ वर्ष अघि जुटेको बताउँछन् उनी।

दोल्खा गएको बेला वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग त्यहाँ उनको भेट भयो। त्यही क्रममा नै उनले बुद्ध फेस्टिभल गर्ने आफ्नो प्रोजेक्टको बारेमा पौडेललाई सुनाए। मुख्यमन्त्रीले प्रदेश सरकारले पनि सहयोग गर्ने भन्दै अघि बढ्न 'ग्रीन सिग्नल' दिए। वाग्मतीकै प्रदेश सांसद पशुपति चौलागाइलाई योजनाको प्रस्तावना बुझाए। महिनौंको प्रक्रियापछि प्रदेशले आर्थिक सहयोग गर्ने भयो। गत वर्ष नै फेस्टिभल हुने तय भएको थियो। तर कोरोनाका कारण त्यो सम्भव हुन सकेन। यो वर्ष भने महामारीबिच पनि वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक राष्ट्रिय नाचघर र डबली थिएटरको आयोजनमा फेस्टिभल संचालन भइरहेको गुरुङ बताउँछन्।

बुद्ध बुझ्ने प्रयास

बुद्धबाट संसारभरका मानिसहरु प्रभावित रहेको भन्दै उनले बुद्धलाई नेपाली जनताले राम्रोसँग बुझेर आफ्नो हो भनेर चिन्न सकोस् भनेर यो फेस्टिभल संचालन गरेको बताउँछन्।

'बुद्ध सबैमा हुन्छ। तर निस्कन मात्रै बाँकी हो। तर हाम्रो नेपालमा बुद्धलाई गुम्बामा मात्र सिमित राखिएको छ। तर अब बुद्ध हाम्रै भनेर अनुभुति गर्नुपर्छ,' गुरुङले भने।

अहिले भइरहेको फेस्टिभलमा विदेशी नाटकहरु समेत समावेश गरिएका छन्। फेस्टिभलमा सहभागिताका लागि धेरै देशलाई प्रपोजल पठाए पनि यसपटक भारत र हङ्कङले मात्रै सहभागिता जनाएको गुरुङले बताए। कोरोनाको भय अझै रहेकाले विदेशी नाटकहरु स्टेजमा मञ्चन हुन नपाएको उनी बताउँछन्।

निर्देशक गुरुङ फेस्टिभलमा विदेशी नाटकबाट त्यहाँ बुद्धलाई हेर्ने दृष्टिकोण बुझ्न सहयोग हुने बताउँछन्। यसपटक विदेशी नाटक कम भएपनि आउने वर्षहरुमा थप विदेशी नाटकहरु मञ्चन हुने उनले बताए।

'विदेशीको दृष्टिकोणबाट बुद्धलाई कसरी प्रस्तुत गरिँदो रहेछ भनेर हेर्न पनि फेस्टिभलमा विदेशी नाटक पनि समावेश गरिएको हो। अर्को वर्ष धेरैभन्दा धेरै विदेशी नाटक मञ्चन गराउने प्रयास गर्नेछु। फेस्टिभल विश्वव्यापी स्तरको हुनेछ।' गुरुङले भने। उनले यो वर्ष एक हप्तालाई मात्रै फेस्टिभल संचालन हुने भएपनि आउने वर्षहरुमा १५ दिन देखि  एक महिनासम्म फेस्टिभल आयोजना गर्ने उद्देश्य रहेको बताए।

अहिले भारतमा कोरोना संक्रमण बढ्दै गइरहेको छ। जसकारण नेपालमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। यो समयमा मनोरञ्जन र कला क्षेत्र ठप्प भएको छ। यस्तो अवस्थामा फेस्टिभल संचालन गरेका गुरुङ चाँडै नाटक र कला क्षेत्रले लय समाउनेमा आशावादी छन्।  

भने, 'मलाई बुद्ध फेस्टिभलको शुरुवात गर्नु थियो। त्यही गरेको हुँ। कोरोना भएपनि खोप आइसकेकाले डराउनु पर्ने अवस्था छैन। मान्छेले यो संसारमा नजितेको केहि छैन। विस्तारै सबै ठिक हुन्छ। नेपाली थिएटरमा सानो इँटा थप्ने काम गरेको छु। सुस्ताएको क्षेत्रलाई जगजगाउने भन्दा पनि एउटा आँट भने दिएको छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell