हेटौँडा : हेटौँडामा रहेको सुन्दर सामुदायिक बनमा दिनहुँजसो आगो लाग्दा स्थानीय रातभरी अनिदो हुने गरेका छन्। स्थानीय रातभर आगो नियन्त्रण गर्न जंगलमै रहने गरेका छन्।
तर, करिब १० मिनेटको दुरीमा रहेको बन कार्यालयको बेवास्ताका कारण हेटौँडा-२ स्थित चौकीटोलका बासिन्दा केही दिनयता चिन्तामा छन्। बन कार्यालयनजिक रहेको बनस्खण्डी सामुदायिक बनमा पनि निरन्तर आगलागी भइरहेको छ। हेटौँडा–१ को भैरवडाँडाका बनमा पनि दुई दिनदेखि आगलागी जारी छ।
हेटौँडाका एक दर्जनभन्दा बढी वडाका जंगलमा आगलागी भइरहेका छन्। स्थानीय क्षेत्रमा केही दिनयता जंगलमा लागेको आगलागीले स्थानीयलाई सताइरहेको छ। यसप्रति हालसम्म कुनै निकायले चासो दिएका छैनन्।
जीवजन्तु र वनस्पतिको वासस्थानका रुपमा रहेका जंगलमा लागेको यसपटकको डढेलोले स्थानीयलाई हालसम्मकै सबभन्दा बढी सताएको अनुमान गरिएको छ। हेटौँडाको आकाशलाई धुँवाले ढाकेका कारण दिउँसै साँझ परेजस्तो हुने गरेको छ।
हेटौँडा क्षेत्रका घना जंगलमाथिको आकाशमा दिनभर बाक्लो धुँवा निरन्तर देखिएको छ। जंगलमा आगो लागिरहेकाले हेटौँडाको आकाश धुँवा नै धुँवाले ढाकेको देखिन्छ। विज्ञहरुले चरिचरन वा बाली लगाउन जमिन तयार गर्न स्थानीयले सुक्खा मौसममा जंगलआसपास डढेलो लगाउने प्रचलनले आगलागीका घटना बढेको बताएका छन्।
पछिल्लो समय हेटौँडामा फैलिएको धुलो र धुँवाका कारण श्वासप्रश्वास र आँखामा गम्भीर समस्या देखिन थालेको छ। केही दिनदेखि हेटौँडा सामुदायिक आँखा अस्पतालमा बिरामीको भिड लागेको छ। आँखा पोल्ने र चिलाउने समस्या भएका बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ। त्यसको मुख्य कारण हाल मकवानपुरमा विभिन्न स्थानका बनमा भइरहेको आगलागी भएको चिकित्सक बताउँछन्।
हेटौँडा उपमहानगरसहित आसपास क्षेत्रहरुमा लागेको आगलागी (डढेलो)ले हेटौँडा बजार धुँवामा रुमल्लिएको छ। पछिल्लो एक सातायता विभिन्न स्थानीय तहमा निरन्तर बनजंगल आगलागी भइरहेको छ।
हेटौँडाको भैरवडाँडा तथा हेटौँडानजिक मकवानपुरगढीका विभिन्न स्थान, वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालय, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, बन निर्देशनालय, डिभिजन बन कार्यालय नजिकका बनजंगलमा आगलागी हुँदा सम्बन्धित निकाय मौन छन्।
बजारनजिकका बनमा आगलागी हुँदा बजार क्षेत्रका सर्वसाधारणको आँखा पोल्ने, सास फेर्न समस्या देखिएको हेटौँडा-४, पारिजातपथका रमेश राईले बताए। दुई दिनदेखि राति घरको छतबाट हेटौँडा आसपास हेर्दा बनमा आगलागी भइरहेको देखिएको उनले बताए।
उनले भने, ‘दिउँसो धुँवाले आँखा पिरो हुन्छ, राति आगोको झिल्काहरु प्रष्ट देखिन्छन्। समयमै नियन्त्रणमा नलिने हो भने यसले बननजिकका बस्तीहरु सिध्याउन बेर छैन। सासै फेर्न गाह्रो भो हिजोआज,’ उनले चिन्ता जनाए।
अस्पतालमा बढे बिरामी
हेटौँडा सामुदायिक आँखा अस्पतालका डा सुनिल थकालीका अनुसार चार/पाँच दिनको हाराहारीमा बिरामीको चाप बढ्न थालेको बताए। लकडाउनपश्चात् पछिल्लो समय अस्पतालमा टोकनको संख्या बढाइएको छ। हेटौँडामा भइरहेको वायु प्रदुषणका कारण बिरामी संख्या बढेको डा थकालीको भनाइ छ।
आँखा पोल्ने, चिलाउने, आँशु आउने जस्ता समस्या लिएर बिरामी आउने गरेको र धँवाकै कारण यस्तो भएको जवाफ आउने थकालीले जानकारी गराए। सम्बन्धित निकायले प्रदुषण नियन्त्रण, धुलो/धुँवा व्यवस्थापन, सामुदायिक स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
डा थकाली भन्छन्, ‘वातावरण प्रदुषण, धुलो/धुँवाले आँखामा संक्रमण हुन्छ। यसका कारण आँखा पाक्ने, सुक्खा हुने, पोल्ने, बिझाउने जस्ता समस्या देखिन्छन्। हाल हेटौँडामा यस्ता समस्या मानिसको साझा समस्या बनेको छ। प्रदुषण नियन्त्रण, धुलो/धुँवाको समस्या समाधान नगर्ने हो भने भविष्यमा धेरैलाई आँखाको समस्याले सताउँछ,’ डा थकालीले भने।
एक महिनामा १९ आगलागी
फागुन २० गते अकलबहादुर चेपाङको आगलागीबाट एकतले घर जेलेर नष्ट हुँदा उनले करिब १९ लाख बराबर क्षति व्यहोर्नु पर्यो। चैत ८ गते हेटौँडा-१६, आकाशधारास्थित जंगलमा आगलागी हुँदा सुकुमान मोक्तानको घर जलेर करिब १६ लाख बराबर क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ। यतिका ठूला रकम बराबरको धन क्षति भएका घटनाहरु बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल बताउँछन्।
कार्यालयको तथ्यांक हेर्दा फागुन शुरुदेखि हालसम्म १९ वटा आगलागीका घटना भएका छन्। जसमा एक महिना अवधिमा घर र गोठ आगलागी भएको देखिन्छ। प्रहरी नायब उपरीक्षक रिमालका अनुसार घरनजिक जंगलमा आगलागी हुँदा घरसम्म आइपुग्ने कुरा मानिसले खेलाँचीका रुपमा लिँदा यस्तो भएको हुनसक्ने उनको अनुमान छ।
पाइप जलेपछि काकाकुल
हेटौँडा-१, भैरवडाँडा क्षेत्रमा डढेलोले खानेपानीको पाइप जलाउँदा स्थानीय खानेपानीको समस्यामा परेका छन्। बुधवार दिउँसोबाट खानेपानीको समस्याको मारमा परेको स्थानीय बिनोदकुमार सापकोटाले बताए।
उनले पछिल्ला दिनहरुमा बनजंगलमा आगलागी भइरहँदा बुधवार आगलागी बस्तीनजिक आइपुग्दा खानेपानीको पाइप जलेर नष्ट हुँदा खानेपानीबाट टोलबासी बञ्चित भएको बताए।
उनले भने, ‘दुई दिनदेखि भैरव डाँडाआसपास जंगलमा लागिरहेको डढेलोले बुधवार खानेपानीको पाइप जलेर नष्ट भएको छ। खानेपानीको पाइप जलेर नष्ट हुँदा पाथीभरा मन्दिर आसपासका करिब ३ दर्जन घरधुरी खानेपानीबाट पूर्णरुपमा बञ्चित भएका छौँ। खानेपानी जोहो गर्न दुई किलोमिटर पैदलयात्रा गर्ने गरेका छौँ।
नियन्त्रणका प्रयास जारी
डिभिजन बन कार्यालय हेटौँडाका बन अधिकृत इमनाथ पौडेलले आगलागी नियन्त्रणका लागि प्रयास गरिएको बताएका छन्। उनले विभिन्न उपाय अपनाइरहँदा पनि आगलागीले भिरपाखामा तीव्रगति लिँदै गएकाले नियन्त्रणमा कठिन भएको तर आफू जिम्मेवारीबाट पछि नहटेको बताए।
आगलागीले प्रभावमा आफू पनि परेको अवगत गराउँदै नियन्त्रका लागि प्रहरी, प्रशासनको समन्वयमा जनशक्ति प्रयोग गर्ने, विभिन्न प्रकारका विद्युतीय सामग्री प्रयोग गर्न कुनै कञ्जुस्याईँ नगरिएको पौडेलको भनाइ छ। यससँगै उनले जतिसक्दो शीघ्र आगलागी नियन्त्रण गरिने बताएका हुन्।
डिभिजन बन कार्यालय मकवानपुर हेटौँडाको क्षेत्रभित्र कुल क्षेत्रफलको करिब ६६ प्रतिशत भुभागमा बन रहेको तथ्यांक छ। मध्यपहाडमा १२ हजार ४ सय ९४ हेक्टर र चुरे तथा भित्री मधेशमा ६० हजार १ सय २५ हेक्टर गरी ७२ हजार ६ सय २० हेक्टरमा बन क्षेत्र छ। झाडी तथा बुट्यानले करिब ४ प्रतिशत क्षेत्र ओगटेको छ भने घाँसे मैदान करिब १.५ प्रतिशत छ।
‘बन विनाशमा डढेलोलाई एक प्रमुख कारण मानिन्छ। बनमा डढेलो लगाएपछि पालुवा पलाउँछ, दाउरा निकाल्न सजिलो हुन्छ भन्ने परम्परागत् सोच भएका मानिसले आगो झोस्ने गरेका छन्,’ डिभिजन बन कार्यालय हेटौँडाका सूचना अधिकृत अच्युत उपाध्याय भन्छन्, ‘डढेलोले गर्ने असरबारे जनचेतना नहुँदा सानो फाइदाका लागि पनि डढेलो लगाउने र जसले गर्दा वातावरणीय क्षति भइरहेको छ। प्राकृतिक कारणले पनि बनमा डढेलो लागे पनि हालको विनाशमा मानवीय कारण बढी जिम्मेवार छ।’
बन क्षेत्रले ठूलो परिमाणमा अक्सिजन दिने भएकाले पनि यसलाई ‘पृथ्वीको फोक्सो’ को रुपमा लिने र यसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न ठूलो भूमिका खेल्ने गरेको छ। जलवायु परिवर्तनका कारण सुक्खा समय लम्बिएकाले यस्तो भएको बताइन्छ।
‘बनमा लाग्ने डढेलोले वनस्पति, बन्यजन्तु र जैविक विविधतामा क्षति गराउनुका साथै वायुमण्डलमा हरितगृह ग्यास बढाउँछ,’ उपाध्याय भन्छन्।
डढेलो लगाउनेलाई दण्डित गर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयन प्रभावकारी छैन। मुलुकी ऐन, २०२० मा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ।
बन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘बनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापलाई अपराधका रुपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने’ व्यवस्था पनि कागजमै सीमित छ।
डढेलो नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष २०७३/०७४ मा छुट्याएको ६ करोड ८६ लाखमध्ये ४ करोड ५० लाख फ्रिज भयो। आव २०७४/०७५ मा त उक्त शीर्षकमा २ करोड ८६ लाखमात्र छुट्याइएको थियो।