PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

आगलागी नियन्त्रण गर्न वाग्मती प्रदेश प्रहरीको प्रदर्शनी



निशा गुरुङ

आगलागी नियन्त्रण गर्न वाग्मती प्रदेश प्रहरीको प्रदर्शनी

हेटौँडा : विपद् जोखिम न्यूनीकरण प्रशिक्षण तथा आगलागी नियन्त्रण प्रदर्शनी कार्यक्रम गरिएको छ। शुक्रवार वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा गरिएको कार्यक्रम आज सकिएको छ।

विपद् जोखिम न्यूनीकरण सम्बन्धी प्रशिक्षण ६ दिनसम्म चलेको थियो। जसमा सहभागीहरुलाई आगलागी नियन्त्रण सम्बन्धी प्रदर्शनी अभ्यास सिकाइएको थियो। वर्तमान समयमा भइरहेको आगलागीका घटनालाई के-कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारे आम नागरिकलाई सुसूचित गराउने कार्यका लागि उक्त प्रदर्शनी प्रस्तुत गरिएको कार्यालयले जनाएको छ।

सो अवसरमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थलगत अभ्यासद्वारा अग्निशामक यन्त्रको प्रयोग, विभिन्न विधिबाट ज्वलनशील तरल पदार्थमा हुने आगलागी, शरीरमा हुने आगलागी, एलपीजी ग्यासबाट हुने आगलागी र विद्युत सर्टबाट हुने आगलागी नियन्त्रण सम्बन्धी फायर सेफ्टी डेमोन्स्ट्रेसन र घाइतेलाई ओसार पसार गर्ने तरिका समेत प्रदर्शन गरिएको थियो।

वाग्मती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा विपद् जोखिम न्यूनीकरणको लागि जिम्मेवार रहेका निकाय एवं व्यक्तिहरुलाई जोखिम न्यूनीकरण सम्बन्धी प्रशिक्षकको रुपमा तयार गरी उनीहरुबाट स्थानीयस्तरमा विपदीय घटना न्यूनीकरणको लागि थप जनशक्ति तयार गर्ने उद्देश्यले आन्तारिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा चैत ८ गतेदेखि शुरु गरिएको थियो। तालिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र स्थानीय तहका कर्मचारी गरी ३४ जनाको सहभागिता रहेको थियो।

विभिन्न निकायबाट यस प्रशिक्षणमा सहभागी भएकाहरुलाई विपद् जोखिम न्यूनीकरणको प्रशिक्षकको रुपमा विकास गरी उनीहरुबाटै स्थानीय स्तरमा विपदिय घटना न्यूनीकरणको लागि थप जनशक्ति तयार गरिने बताइएको छ। प्रशिक्षक सहभागीहरुलाई वर्तमान समयमा भइरहेको आगलागीका घटनालाई के कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विपद् व्यवस्थापन गुल्मद्वारा प्रदर्शनी गरी प्रशिक्षण प्रदान गरिएको जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell