काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषण निकै बढेको भन्दै घरभित्रै बस्न सबैलाई आग्रह गरेको छ। अचानक मौसममा आएको परिवर्तनसँगै काठमाठौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको भन्दै मन्त्रालयले यसले श्वासप्रश्वासमा कठिनाई लगायत विविध स्वास्थ्य समस्याहरू देखा पर्न सक्ने बताएको छ।
हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरी सचेत रहन मन्त्रालयले आग्रह गरेको हो। मन्त्रालयले घरबाहिर खुलास्थानमा नबस्न, नखेल्न, मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न भनेको छ।
त्यस्तै, बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकहरुको विशेष ख्याल गर्न समेत मन्त्रालयले सुझाव दिएको छ। फोहोरहरुको उचित व्यवस्थापन गर्ने तर फोहोर जलाउने काम नगरी कसैले फोहोर जलाउने काम गरेमा त्यसलाई निरुत्साहित गर्न मन्त्रालयको आग्रह छ।
‘घर बाहिर ननिस्कौँ। निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गरौँ र कोभिड-१९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गरौँ गराऔँ,’ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।
त्यस्तै, धुलो/धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न पनि मन्त्रालयले भनेको छ। अत्यावश्यक नभई सवारी साधनहरु नचलाउने र सवारी साधन वा पेशा व्यवसायका कारण हुन सक्ने वायु प्रदूषणका कारणहरुलाई कम गर्न मन्त्रालयले आग्रह गरेको छ।

