PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रदेश १ का चार मन्त्री र दुई राज्यमन्त्रीले शपथ लगत्तै गरे पदभार ग्रहण



फूलमाया पुरी

प्रदेश १ का चार मन्त्री र दुई राज्यमन्त्रीले शपथ लगत्तै गरे पदभार ग्रहण

विराटनगर : प्रदेश १ का चार मन्त्री र दुई राज्यमन्त्रीले सपथ ग्रहण लगत्तै आ-आफ्नो पदभार ग्रहण गरेका छन्। शुक्रवार दिउँसो प्रदेश प्रमुख कार्यालयमा सपथ लिएका उनीहरुले आजै मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन्।

ताप्लेजुङका टंक आङ्बुहाङ्ग लिम्बु आर्थिक मामिला तथा योजना मन्त्रीको पदभार ग्रहण गरेका छन्। त्यस्तै, इलामका रामबहादुर मगर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, खोटाङकी उषाकला राई सामाजिक विकास मन्त्री, ओखलढुंगाका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार विकास मन्त्री पदमा नियुक्त भएका छन्।

यसैगरी, मोरङका राजकुमार ओझाले उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र उदयपुरकी कला घलेले भूमि व्यवस्था कृषि तथा सहकारी राजयमन्त्रीको जिम्मेवारी पाएका छन्।

नवनियुक्त मन्त्रीहरुलाई शुक्रवार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शपथ गराइएको हो। मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री शेरधन राईले शपथ गराएका छन्।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको पदोन्नति भइ सोही मन्त्रालयको मन्त्रीको जिम्मेवारी पाएका हुन्।

प्रदेशको यातायात व्यवस्था सम्बन्धी एउटा कार्यक्रमिक फाइल सदर गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ्गले पदभार ग्रहण गरे। मन्त्री टंक आङ्बुहाङ्गले प्रदेशको आर्थिक धरातलमा टेकेर बजेट निर्माण गर्ने तथा यस अघि भएका कमिकमजोरी सच्याउदै अघि बढ्ने बताए।

त्यस्तै, मन्त्रालयहरुबीच समन्वय गरी दातृ निकायहरुसँग सहयोग जुटाउदै सरकारले आफ्ना योजनाहरु अगाडि बढाउने उनको भनाई छ।

यता, सामाजिक विकास मन्त्री उषाकला राईले पनि आफ्नो पदभार ग्रहण गरेकी छिन्। प्रदेश प्रमुखको कार्यालयमा सपथ लिए लगत्तै मन्त्रालयमा पुगी उनले पनि आजै पदभार ग्रहण गरेकी हुन्। पदभार ग्रहण गर्दै मन्त्रालयको काम नयाँ ढंगले अगाढी बढाउने मन्त्री राइले बताइन्। उद्घाटन र समापनमा समय विताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमिकता दिने उनको भनाई छ।

‘उद्घाटन र समापनलाई धेरै प्राथमिकतामा राख्ने छैन’, उनले भनिन्, ‘जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्नेछु।’

पदभार ग्रहणपछि कर्मचारीसँगको परिचयात्मक कार्यक्रम गर्दै फरक तरिकाले काम गर्ने सोच भएको बताइन्। ‘केही नयाँ काम गरौं’ भन्दै कोरोना संक्रमण पुन: बढ्न शुरु भएकाले यसको नियन्त्रणका लागि जुट्न उनले आग्रह गरिन्।

त्यस्तै, अस्पतालहरुमा धेरै फोहोर हुने गरेको सुन्नमा आएकाले सरसफाईमा ध्यान केन्द्रित गर्न पनि उनले जोड दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell