PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

जग्गाको श्रेस्ता च्यातिएको भन्दै मालपोत पर्साका हाकिमलाई सेवाग्राहीद्वारा कुटपिटको प्रयास



राधेश्याम पटेल

जग्गाको श्रेस्ता च्यातिएको भन्दै मालपोत पर्साका हाकिमलाई सेवाग्राहीद्वारा कुटपिटको प्रयास

वीरगंज: मालपोत कार्यालय पर्साका हाकिम कमोद तिवारीलाई सेवाग्राहीले कुटपिटको प्रयास गरेका छन्। शुक्रबार बिहान ११ बजे सेवाग्राहीको समूह उनको कार्यकक्षमा कुट्न पुगेपछि कर्मचारीहरुले रोकेका थिए।

वीरगंज-१८ भवानीपुर माइती भई पतिको घर कलैया उपमहानगरपालिका-१८ बस्ने रीतादेवी लोहारिनको नाममा जारी भएको लालपूर्जाको श्रेस्ता च्यातिएको भन्दै उनका आफन्तजनले कार्यालयका हाकिम तिवारीलाई कुटपिटको प्रयास गरेका थिए। तर सोही समयमा केही कर्मचारीले उनलाई बचाएको बताइएको छ।

साविक भवानीपुर-४, कित्ता नम्बर ४२६ को ८ कट्ठा साढे १२ धुर र कित्ता नम्बर ४२७ को ३ कट्ठा ८ धुरको श्रेस्ता भवानीपुर मोठको ढड्डामा नभेटिएपछि मालपोत कार्यालय पर्सामा विवाद भएको थियो। जग्गाधनी लोहारिनका पति विन्देश्वरी ठाकुर लोहारले महागढीमाई नगरपालिकाको बरियापुरस्थित एनआइसी एशिया बैंकको शाखाबाट ३ कट्ठा ८ धुर जग्गा (घडेरी) धितो राखेर ५० लाख रुपैयाँ ऋण लिने प्रक्रिया चालेका थिए। सोही सन्दर्भमा आज बैंकको रोक्का चिठी लिएर मालपोतमा पुग्दा श्रेस्ता च्यातिएको पाइएपछि विवाद भएको थियो।

यस विषयमा कार्यालय प्रमुख तिवारीले कर्मचारी तथा लेखनदासको मनपरीले गर्दा मोठबाट श्रेस्ता च्यातिँदै आएको र त्यसको छानबिन भइरहेको बताए। उनले भवानीपुर गाविस पर्ने मोठका कर्मचारी राकेश साह, रतेन्द्र साह र कम्प्युटर किरण देवकोटासँग स्पष्टीकरण सोधिएको र दोषी पाइएको खण्डमा कारबाही गर्ने आश्वासन दिए।

पीडित रीता देवीले भवानीपुरकै आफ्ना काकाका छोरा सुरेन्द्र ठाकुरले श्रेस्ता च्यातेको आरोप लगाइन्। बुवाको एक्लो छोरी भएको र सम्पत्तिको हकभोग गरेपछि उनीहरुलाई ईर्श्या लागेर पहिलेदेखि नै विवाद गर्दै आएको र केही महिनाअघि श्रेस्ता च्यातिएको उनको आकलन छ।

सुरेन्द्र ठाकुर मालपोत कार्यालय पर्सामा ३५ वर्षदेखि लेखनदासको काम गर्दै आएका छन्। यस विषयमा उनले आफूले श्रेस्ता नच्यातेको दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell