PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कार्टुनिस्ट केशवराज खनालको ‘नेपालमा कार्टुन हिजो र आज’ विमोचन



पहिलोपोस्ट

कार्टुनिस्ट केशवराज खनालको ‘नेपालमा कार्टुन हिजो र आज’ विमोचन

काठमाडौं : कार्टुनिस्ट एवं लेखक केशवराज खनालको ‘नेपालमा कार्टुन हिजो र आज’को विमोचन भएको छ। नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को वस्तु तथा अन्य सिर्जनात्मक कला विभागले आयोजना गरेको कार्यक्रम नाफाकै हलमा भएको थियो।

पुस्तक शुक्रवार नाफाका कुलपति के के कर्मचार्य, उपकुलपति गोपाल चित्रकार, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्राज्ञ रमेशनाथ खनाल र कार्टुनिस्ट क्लब नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका हुन्।

कुलपति कर्मचार्यले नेपालमा कार्टुन कलाको इतिहास धेरै लामो नभएपनि यो पुस्तकले अभावलाई केही हदसम्म पूर्ति गर्ने बताए। अनुसन्धानात्मक यस पुस्तकमा उल्लेख तथ्यांक निकै नै उपयोगी हुने विश्वास उनले व्यक्त गरेका छन्।

उपकुलपति चित्रकारले लेखक खनाललाई शुभकामना दिँदै कार्टुन विधा सबैभन्दा सशक्त र सन्देश प्रवाह गर्न उत्तम माध्यम भएकाले यसको विकासमा सबै लाग्नुपर्ने बताए।

यस्तै, प्राज्ञ रमेशनाथ खनालले पुस्तक विश्व कार्टुनको इतिहासदेखि नेपालमा कार्टुनको विगत र वर्तमान समेटिएकोले कार्टुन बनाउनेदेखि पढाउने शिक्षक समेतलाई उपयोगी हुने बताए।

महासंघका महासचिव विष्टले कार्टुन कलालाई ललितकला र समाजलाई सुसूचित गर्ने पत्रकारिता दुवैको आँखाबाट हेरेर यसको सम्पूर्ण विकासको लागि लाग्नुपर्ने बताए। छापा माध्यममा कार्टुन अनिवार्य छापे पनि डिजिटल मिडियामा कार्टुनले स्थान नपाएको उनको भनाइ थियो।

उनले भने, ‘यो पत्रकारिताको अभिन्न अंग हो। अनलाइन मिडियामा कार्टुन पत्रकारिताले महत्वपूर्ण स्पेस पाउनु पर्छ। यसतर्फ अनलाइन मिडियाको ध्यान तान्न जरुरी छ।’

यसैगरी कार्टुनिस्ट श्रेष्ठले दशक अघि अमेरिका भ्रमण गर्दा त्यहाँको पुस्तकालयमा कार्टुन विधामा भारतसहित अन्तर्राष्ट्रिय पुस्तक भेटिएको सन्दर्भ जिकिर गर्दै नाफा जस्तो राष्ट्रिय संस्थाले पुस्तक निकाल्दा अन्तर्राष्ट्रिय रुपमा प्रमाणिकरण गर्न सजिलो हुने धारणा राखे।

लेखक खनालले स्नाकोत्तर गर्दा कार्टुन विषयमा शोध गर्न खोज्दा सन्दर्भ सामग्री नपाएर शोध पूरा गर्नै कठिन भएको स्मरण गर्दै पुस्तक लेखनमा त्यसले पनि हौस्याएको बताए।

उनले भने, ‘इतिहासका केही कुरा कोट्याएको छु, आशा छ फेरि अन्य इतिहासका पुस्तक खोज्न नपरोस्। कार्टुनको कलापक्ष, राजनीति, क्यारिकेचर तथा व्यंग्य सबै विधालाई समेट्न खोजेको छु।’

लेखकको रुपमा खनालको यो पहिलो पुस्तक हो। पुस्तकमा कार्टुन के हो देखि कार्टुन विधाका समस्या तथा समाधानका उपाय उल्लेख छ। सानो आकारको पुस्तकको मुल्य २ सय रहेको छ। दुई दशकभन्दा लामो समयदेखि कलाकार, कार्टुनिस्ट, लेखक एवं कला पत्रकारको रुपमा काम गरिरहेका खनाल हाल गोरखापत्रमा कार्यरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell