काठमाडौं: थ्री नेशन्स सिरिज अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल र बंगलादेश भिड्ने छन्।
प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तानलाई हराएको बंगलादेशले फाइनलमा स्थान बनाइसकेको छ भने नेपालले फाइनलमा स्थान बनाउनका लागि जित्नु पर्ने या बराबरी खेल्नुपर्ने दवाब छ। नत्र खेल समीकरणको भर पर्नपर्ने हुन्छ।
नेपालले यसअघिको खेलमा कीर्गिस्तानको यू २३ टोलीसँग गोलरहित बराबरी खेलेको थियो। अधिकांश समय बल आफ्नो पक्षमा राखेको नेपालले केही राम्रा अवसरहरु पनि बनाएको थियो यद्यपि त्यसमा नेपाल चुक्न पुग्यो। जसको बराबरीको प्रत्यक्ष फाइदा पुग्यो बंगलादेशलाई। र, बंगलादेश फाइनलमा स्थान सुरक्षित गर्यो।
कीर्गिस्तानसँगको खेलपछि प्रतिकृया दिँदै नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली अट्याकिङमा चुके पनि प्रदर्शन सन्तोषजनक रहेको प्रतिकृया दिएका थिए।
उनले अर्को म्याचमा त्यसलाई सुधारेर अझ राम्रो प्रदर्शन गर्ने विश्वास लिएको बताएका थिए। यसअघिको खेलमा खासगरी अट्याकिङमा बलहरु पाए पनि फर्वाडमा धैर्यताको केही कमी देखिएको उनले बताएका थिए।
‘बल नपाएको पनि होइन। म्याक्सिमम दिएको छ। क्रसहरु पनि दिएको छ। तर फर्वाडले धैर्यता अपनाउनुपर्ने थियो। त्यसमा अलिकति चुकेको देखियो,’ उनले भने, ‘अर्को म्याचमा अवस्य पनि म काउन्सिलिङ गर्नेछु। सुधार्ने प्रयास गर्नेछु।’
त्यस्तै कीर्गिस्तानसँगको खेलमा जित निकालेपछि बंगलादेशका प्रशिक्षकले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताएका थिए।
कीर्गिस्तानसँगको खेलमा तीन जना खेलाडीलाई डेब्यु गराएका बंगलादेशी प्रशिक्षक जेम्स डेले नेपाल र कीर्गिस्तानबीच खेल हेरेर युवा खेलाडीलाई प्राथमिकता दिने या अनुभवी खेलाडी उतार्ने भन्ने निर्णय गर्ने बताए।
यसअघि मंशिर महिनामा बंगलादेश पुगेको नेपाली टोलीले घरेलु टोलीसँग दुई खेल खेल्दा पहिलो खेलमा पराजय र दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो।
फिफा वरीयतामा नेपाल १७१ औं स्थानमा छ भने बंगलादेश १८६ औं स्थानमा छ।
दशरथ रंगशालामा हुने प्रतियोगितामा सामान्य प्यारापिटतर्फ ७०० र भीआईपी तर्फ १५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ। १५ हजार दर्शक क्षमता रहेको दशरथ रंगशालामा सामाजिक दुरी पनि कायम राख्नु पर्ने अवस्थालाई ध्यानमा राख्दै १२ हजार टिकेटमात्र बिक्री हुने जनाइएको छ।
मार्च २९ (चैत १६) गते हुने फाइनल खेलमा शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। सबै खेलहरु साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
नेपाली टोली
गोलकिपर - किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की
डिफेन्डर्स : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ
मिडफिल्डर : त्रिदेब गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रबिशंकर पासवान
फर्वार्ड्स् : अन्जन विष्ट, दर्शन गुरुङ, अभिशेक रिजाल, भरत खवास
