सानैदेखि रोगी शरीर। कहिले के कहिले के भइराख्ने। बालखैदेखि बिभिन्न रोगव्याधिसँग जुधेकाले 'डेलिकेट चाइल्ड' का रूपमा हुर्किएकी लक्कीलाई सधैं त्यो कम्फर्ट जोनबाट बाहिर निस्किनु थियो। कमजोर छोरीका रूपमा अरुले गर्ने व्यवहारले उनलाई इरिटेड पार्न थालिसकेको थियो। कसैगरी पनि यी सबैबाट बाहिर निस्किएर स्वतन्त्र जीवन बिताउन चाहन्थिन् लक्की।
दार्जिलिङका चिया बगानहरुमा लुटपुटिएकी लक्कीको त्यो चाहनाले हुर्किएको धेरैपछि नेपाल छिरेर मात्र मूर्त रूप पायो।
'थ्री सिस्टर्स एडभेन्चर' ट्रेकिङ एजेन्सीकी संस्थापक लक्कीलाई आज भेट्ने जो कोहीलाई सुन्दा अनौठो लाग्छ; बाल्यकालमा कमजोर स्वास्थ्य लिएर हुर्किएकी लक्की कसरी निडर महिलाका रूपमा बदलिइन् र नेपाली पर्यटन क्षेत्रमा नयाँ कामका लागि चिनिइन्। नेपालमै त्यसबेलासम्म कसैले नथालेको महिला ट्रेकिङ गाइडको अवधारणा लक्कीले नै भित्र्याएकी हुन्, जहाँ उनलाई दुई बहिनी डिक्की र निक्कीले पनि उसैगरी साथ दिए।
बिरामी परिरहने लक्कीलाई बुबा कर्णबहादुर भनिरहन्थे- 'कसैमाथि भर नपर्नु, आफ्नो जीवन आत्मनिर्भर भएर बाँच्नु।' सानोमा त्यसको गाम्भीर्य नबुझे पनि अहिले उनलाई लाग्छ, बुबाले अलि रोगी ज्यानकी छोरीलाई पिलन्धरे भएर भन्दा आँटिलो र निडर भएर जीउन घचघच्याएका रहेछन्।
बुबाकै साहसी कुराले उनीभित्र तागत भरिँदो रहेछ। 'मानिसभित्र कमजोरी मात्र हुँदैन, शरीरले कमजोर व्यक्ति मानसिक रूपमा बलियो हुन सक्छ। एउटा पक्ष कमजोर हुने पनि अरु धेरै पाटोहरुमा अब्बल हुन सक्छन् भन्ने मैले पर्वतीय आरोहणको तालिममा भाग लिएपछि मात्र महसुस गरेँ,'– कसरी आफूलाई बलियो 'प्रुभ' गर्ने भन्ने लाग्दा लाग्दै एकदिन अचानक उनी पर्वतीय आरोहणतर्फ मोडिइन्, जुन उनको जीवनकै 'टर्निङ प्वाइन्ट' बन्यो। दार्जिलिङमै उनले पर्वतीय आरोहणबारे तालिम लिएकी हुन्।
स्वरसम्राट नारायण गोपालकी श्रीमती पेमालाले कुनै बेला पढाएकी सुकेपोखरी हाइस्कुलमै लक्कीको पनि स्कुले जीवन बित्यो। उनले त्यहाँ पेमालालाई भेटिनन् तर पेमाला र नारायण गोपालका प्रेमका किस्सा र कसरी उनी नेपाल पुगिन् भन्नेबारे स्कुलमा निकै बात हुन्थ्यो रे!
लरेटो कलेजबाट ब्याच्लर सकेपछि उनी पनि एकदिन नेपाल छिरिन्, तर उनको नेपाल प्रवेश पछाडि पेमालाको जस्तो प्रेमले काम गरेको थिएन। उनी त मनभरी कहिल्यै नभरिने घाउ बोकेर नेपाल आएकी थिइन्। बाबुको मृत्युको पीडाका साथ उनीहरु सन् १९९२ मा सपरिवार नेपाल फिरेका थिए। बुबा बितेपछि उनीहरुलाई त्यो ठाउँ बस्नै मन लागेन रे। सपरिवार 'बाबु बाजेको देश' नेपाल छिरे। कुन ठाउँ बस्ने टुंगो थिएन। काठमाडौंमा केही समय बिताएपछि लक्कीले पोखरा रोजिन्। परिवारै पोखरा बस्न थाल्यो।
दार्जिलिङको चिया बगान वरपर हुर्किएकी लक्की आज पोखरालाई कर्मथलो बनाइरहेकी छन्।
पहिले उनी काठमाडौंमा बसेर मास्टर्स गरिन्। स्कुल पढाइन्, बिभिन्न रीसर्च प्रोजेक्टहरुमा काम गरिन्। रीसर्च प्रोजेक्टकै सिलसिलामा एकपटक उनी पश्चिम नेपालको अछाम पुगिन्। 'कल्पना गर्नुस् त ३० वर्षअघिको अछाम !' आँखा बन्द गर्दै उनले सुनाइन्- 'त्यो बेला त्यहाँका महिलाहरुले गरेको दुःखकष्ट देख्दा म धेरै नै खिन्न भएँ। महिलाहरुको दैनिकी त्यस्तो पनि हुँदोरहेछ भनेर त मैले सोचेको पनि रहिनछु।'
बिना रोकटोक शिक्षादीक्षा पाएका र आत्मसम्मानका साथ जिउन सिकाउने बाबुको काखमा हुर्किएकी लक्कीलाई अछाम यात्राले ठूलो पाठ पढायो। महिलाले पनि मानव भएर जीउन पाउने कहिले होला? उनको मनले उत्तर खोजिरह्यो। खासमा त्यो यात्रापछि लक्कीलाई धेरै कुराहरुले एकैपटक छोयो।
***
रामेछापको ठोसेका लालबहादुर कार्की कामको खोजीमा दार्जिलिङ पुगेका थिए। चिया बगानमा काम गरे। उतै जन्मिएका थिए उनको छोरा कर्णबहादुर। उनी बुबा जसरी दार्जिलिङमै मात्र रमाउन सकेनन्। पुर्ख्यौली थलो खोज्दै आए। यता आए पनि रोजगारीको दरिलो स्रोत भएन। उनी टिक्न सकेनन्, अनि पछ्याए पिताको पथ। पुगे दार्जिलिङ नै। जीवन उतै बित्यो। कर्णबहादुरका सन्तान हुन् -थ्री सिस्टर्स। पिताको निधनपछि नेपाल पसेका उनीहरू सुरुमा जनकपुर पुगेका थिए। हावापानी सुहाउँदो ठाउँमै बस्ने र काम गर्ने मेलो पहिल्याउने हुटहुटीले उनीहरूलाई तराइबाट पोखरा पुर्याएको थियो।
पर्वतीय तालिम लिएपछि उनलाई हिमाल पहाड मन धेरै पर्न थालेको थियो लक्कीलाई। पोखरा आएर बसेपछि त्यहाँको शान्त वातावरणले अझै बढी तानिरहेको थियो। जीविकाका लागि पनि केही त गर्नै पर्थ्यो। दार्जिलिङबाट आएकाले अंग्रेजी पनि राम्रो। उनी लेकसाइडतिर हिँड्दा पर्यटकहरुसँग हाइ हेल्लो गर्थिन्। उनीहरुले पोखरामा आफ्नै गेष्ट हाउस पनि चलाएका थिए। त्यहाँ आउने विदेशी महिला पर्यटकहरुले पुरुष गाइडहरु लिएर घुम्न जाँदा उनीहरुमाथि हुने 'मिस बिहेव' बारे पनि सुनाउँथे।
'तिमीहरु नै गाइड बनेर हिँड न हामीसँग !' पनि भन्थे। त्यो कुराले लक्कीलाई झस्कायो। हो त आफूहरु जस्तै महिलाहरुले यसरी दिएको आँटले उनलाई कसैले हात नहालेको यस क्षेत्रमा पस्न पर्छ कि जस्तो पनि भयो।
अनि तीनै जना दिदीबहिनीले बसेर सल्लाह गरे। उनीहरुले मिलेर त्यो बेलाको 'निड एसेसमेन्ट' गरे। त्यतिबेलासम्म टुरिजममा महिलाहरुको उपस्थिति न्यून रहेछ। अझ ट्रेकिङमा त झन् छँदै नभएको पनि थाहा पाए। लक्की आफैं हिँडेर अन्नपूर्ण बेस क्याम्पसम्म हेर्न पनि गइछन्। अनि उनलाई के लागेछ भने अब महिलाहरुलाई नै लिएर ट्रेकिङ गाइड कम्पनी खोल्ने अनि यसैलाई व्यवसाय बनाउने।
'मैले त सक्ने रैछु भने पहाडी भेगमा जन्मे हुर्केका महिलाले नि गर्न सक्छन् भन्ने स्योर भयो। जुन एरियामा पहिला कसैले काम गरेकै थिएन देखेकै थिएन। त्यो सम्भावना मैले देखेँ। कसै न कसैले त सुरु गर्ने पर्थ्यो। रिस्क लियौं र सन् १९९४ मा काम सुरु गर्यौं,'- थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङ एजेन्सी सुरु गर्दाको कथा लक्कीले बताइन्।
उनीहरुले अन्नपूर्ण क्षेत्रलाई नै रुट बनाउँदै कैयन् पटक विदेशी पर्यटकहरुसँग गाइड बनेर हिँडे। त्यो बेलाको गाउँघर समाज त्यही हो छोरीमान्छे यसरी विदेशीसँग हिँडेका भनेर कुरा काट्थे। कैयन् पटक नराम्रा लाञ्छना पनि सुन्नुपर्ने। तर लक्कीलाई के लाग्थ्यो भने 'सही काम गर्नेहरुका लागि अरुले के भन्छन् भनेर केलाउँदै बस्ने होइन। यी लाञ्छना र आलोचनाहरु त धुलो जस्तो पो हो त। बाहिर हिँड्दा कपडामा धुलो त लाग्छ नै तर त्यो धुलो टकटक्याउँदै अघि बढ्ने हो।'
उनको हिम्मत यति थियो कि अगाडि उभिएर आलोचना गर्ने साहस कसैलाई भएन। 'पछाडि त जसले जे सुकै भनुन् के मतलब!'- उनलाई यही कुराले हिम्मत बढ्यो। अब यो क्षेत्रमा धेरैभन्दा धेरै महिला ल्याउनै पर्छ। पुरुषहरुको मोनोपोली तोड्नै पर्छ भन्ने लाग्यो।
महिलाहरुलाई ट्रेकिङ गाइडका रूपमा काम गर्न बोलाउँदा पहिलो दुई वर्ष त एक जना पनि महिलाहरु काम गर्नै आएनन्। उनीहरु आफैं पर्यटकसँग गाइडका रुपमा जान्थे। दुई वर्ष काम गरिसकेपछि मात्र दुई जना महिलाहरु आए। ती पनि घरेलुहिंसा र अन्य समस्यामा परेका। सामाजिक वा घरेलु समस्या झेलिरहेका महिलाहरु त आए तर आफैं समस्यामा परेका उनीहरुलाई कामका लागि कसरी तयार गर्ने? त्यो चुनौती थपियो। अनि लक्कीले नै त्यसको समाधान खोजिन् 'इम्पावरिङ उमन अफ नेपाल' भन्ने संस्था खोलेर त्यसैमार्फत् टुरिस्ट गाइडको तालिम दिन थालिन्।
एक जना महिलालाई पूरा तालिम दिएर दक्ष बनाउने हो भने औसतमा दुई वर्ष समय लाग्छ। हालसम्म लक्कीको इम्पावरिङ उमन अफ नेपाल संस्थाले कम्तीमा दुई हजार महिलाहरुलाई दक्ष बनाएर पठाइसकेको छ।
लक्कीलाई यो सम्झिँदाजतिको खुशी अरु केहीमा पनि लाग्दैन कि आज उनैले सिकाएका महिलाहरु 'आइ एम टुर गाइड', 'आइ एम ट्रेकिङ गाइड' भन्दै गर्वका साथ फिल्डमा काम गर्छन्। मेरी छोरी, मेरी दिदी, बहिनी, मेरी श्रीमती टुर गाइडको काम गर्छन् भन्न आज परिवारका पुरुषले सरम मान्दैनन्। टुरिजम क्षेत्रमा काम गर्ने महिलाप्रति आज कसैले लाञ्छना लगाउनुअघि धेरै पटक सोच्ने समय आएको छ, जुन लक्कीले काम थाल्दा ताका पटक्कै थिएन।
त्यस बेला त छोरी मान्छेलाई 'डिफेम' गर्नका लागि जे पनि भनिदिने जस्तो पनि आरोप लगाइदिने। विदेशीसँग हिँड्ने छाडा भन्ने ट्याग नि भिराइदिने। तर आज यो सबै कुरामा कति परिवर्तन आइसक्यो सक्यो। लक्कीले देख्दा देख्दै सेतीमा धेरै पानी बगिसक्यो। टुरिजम क्षेत्रमा धेरै छोरीहरु निर्धक्क भएर काम गर्ने अवस्था बनिसक्यो। त्यसैले त लक्कीले नै काम सिकाएका कतिपयले आफ्नै ट्रेकिङ एजेन्सी खोलेर काम थालिसके। अहिले पनि थ्री सिस्टर्ससँग दुई सय जनाभन्दा धेरै महिलाहरु आबद्ध छन्, जो सिजन लागेसँगै गर्वका साथ टुर गाइड वा ट्रेकिङ गाइड बनेर पर्यटकसँगै निर्धक्क घुमिरहेका हुन्छन्।
***
सोलुतिरका महिलाहरु हरेक दिन आफ्ना परिवारका पुरुषहरु ट्रेकिङमा गएको देखेरै हुर्किएका हुन्। तर उनीहरुलाई कहिल्यै लागेन रे यो हाम्रो पनि काम हो। यो त हाम्रा दाई, काका, श्रीमान, बुवाहरुले गर्ने काम मात्र हो जस्तो लाग्थ्यो भन्दै सोलुका महिलाहरु तालिम लिन लक्कीकहाँ पुगेका छन्। नयाँ प्रोफेसनका रुपमा महिलालाई ल्याएर काम दिन सकेकोमा लक्की आफ्नो सफलता मान्छिन्। उनले भनिन् -'पहिले बोलाउँदा पनि आउँदैनथे। अहिले त टुर गाइड बन्न चाहनेहरुको लर्को हुन्छ।'
सुरुबाट अहिलेसम्म आउँदाको परिवर्तनलाई लक्की 'ड्रास्टिक चेन्ज' भन्छिन्। उनले काम सुरु गर्दा ताका गाइडको त कुरै छोडौं होटलमा काम गर्ने महिलाहरुले समेत कसैलाई नभनिदिनुस् है भन्थे।
जतिसुकै पढेलेखेका महिलालाई पनि पाँचतारे होटलमै काम गरेको भन्दा आफ्नो इज्जत जाने डर हुन्थ्यो। सानो सानो होटल र ट्रेकिङ भन्नु त परै जाओस्, सामाजिक समस्या धेरै थियो। समाज र परिवारभित्रै पनि महिलामाथि अपमानजनक व्यवहार पनि उत्तिकै हुने।
'तर आज ढुक्कका साथ आफ्नो पेसा यो हो भन्ने दिन आइसकेको छ। 'टुरिस्टसँग हिँड्ने महिला' भन्ने बिचार बदलिएको छ। हस्पिटालिटी र टुरिजम पढाउने स्कुल कलेज धेरै आइसके। तालिम लिने ठाउँ जति पनि छन्। अब त यो राम्रो सेक्टर हो भन्ने बेला आयो। अब यो क्षेत्रमा आउन छोरीचेलीले लाज मान्नुपर्दैन लाञ्छना खेप्नु पर्दैन,'- लक्कीले ढुक्कको सास फेरिन्।
उनलाई के लाग्छ भने जब महिलाहरुमा ज्ञान र सीपको कमी हुन्छ तब नै उनीहरु कमजोर बन्न पुग्छन्। त्यसैले महिलाहरुले आफूलाई स्थापित गर्नु छ भने त्यो क्षेत्रबारे ज्ञान र सीप हासिल गर्नैपर्छ।
'हामी पनि नपढेको र इनोसेन्ट भएको भए हेपिन्थेम्। हतोत्साही बनाइन्थेम् होला। तर यो क्षेत्र मेरो छनोट र रुचिको थियो। यसलाई सफल बनाउन हामी गुणस्तरमा जानैपर्थ्यो। त्यसैले त हामी अरुलाई पनि निर्धक्क यस क्षेत्रमा ल्याउन सक्ने भयौं। त्यो भनेको हाम्रो शिक्षा र सीपकै कारण हो। त्यसैले त हामीले तालिमबिना यस क्षेत्रमा आउन हुन्न भनेर महिलाहरुलाई तालिम दिन थालेका हौं,'- एउटै महिलालाई दक्ष बनाउन १० पटकसम्म पनि तालिम दिएको उनले दाबी गरिन्।
कोभिडपछि पर्यटन क्षेत्रलाई धेरै नै क्षति पुगेको लक्कीको पनि अनुभव हो। उनी यसलाई सबैभन्दा डेलिकेट क्षेत्र मान्छिन्। पर्यटन भनेको हाम्रो बहुमुल्य हिरा हो। यो जति सोफेस्टिकेटेड छ, त्यतिकै डेलिकेट पनि। हरेक साना ठूला कुराले पर्यटन क्षेत्रलाई प्रभावित बनाउँछ। राष्ट्रिय समस्या होस् वा अन्तर्राष्ट्रिय, आन्तरिक होस् वा बाह्य राजनीति, प्राकृतिक प्रकोप होस् वा युद्ध, ग्लोबल वार्मिङ होस् अरु केही सबै कुराले प्रभावित बनाउँछ पर्यटन क्षेत्रलाई।
'त्यसैले पर्यटन क्षेत्रमा काम गर्ने हामी सबैले के बुझ्नुपर्छ भने यो क्षेत्र सधैं दुहुनो गाई मात्र होइन। गाई कहिले थाक्छ पनि। फेरि ब्याउन्जेल उसलाई आराम पनि चाहिन्छ,'- निकै गम्भीर सुनिइन् लक्की। पर्यटन क्षेत्रमा काम गर्नेले यसलाई सेवा क्षेत्र हो भन्ने बुझेर नर्सले जसरी सेवा दिनुपर्ने उनको सुझाव छ।
अनि टुरिस्ट गाइड बन्नका लागि चाहिँ के हुनुपर्छ त?
'सेल्फ मोटिभेसन हुनैपर्छ। टुरिस्टसँग कुरा गर्न ज्ञानको भण्डार हुनपर्छ। सकेसम्म धेरै सूचना लिने स्वभाव हुनुपर्छ। अनि ट्रेकिङका लागि चाहिँ फिजिकल्ली फिट हुनैपर्छ। अनि हाम्रोमा महिला पोर्टरले अधिकतम १० किलोको झोला बोक्न सक्ने बल पनि हुनुपर्छ।' लक्कीले आधारभूत सीपहरुबारे जानकारी दिइन्।
***
कोभिड पछिको अवस्थाबारेको पर्यटन क्षेत्रबारे पूर्ण जानकार लक्की अब केही फेरबदल गर्न लागेकी छन्।
उनीहरुको थ्री सिस्टर्स एडभेन्चर कोभिडपछि एक वर्षसम्म बन्द नै रह्यो। अब उनी नयाँ जोशका साथ कमब्याक गर्ने सोच्दैछिन्। सातदिने तालिमको योजना छ। नयाँ पदयात्राका रुटहरु पनि एक्सप्लोर गरिरहेको उनले बताइन्- 'हाम्रा रेगुलर क्लाइन्ट छन्। उनीहरुलाई नयाँ गन्तव्य दिनुपर्ने हुन्छ, त्यसैले नयाँ रुटहरु एक्सप्लोर गर्दै त्यसैलाई सेल गर्ने योजना बनाएका छौं।'
अब पर्यटन क्षेत्रमा धेरै चुनौतीहरु बढेको लक्कीलाई महसुस भएको छ। पर्यटनमा स्थापित संस्थाहरु र बिजनेस हाउसहरु पनि यसबेला कसरी सर्भाइभ गर्ने भन्ने अवस्थामा पुगेका छन्। त्यसैले भोलि अहिलेजस्तो समय नहुन सक्छ। टुरिजममा नयाँ ट्विस्ट पनि आउन सक्छ। त्यसैले धेरै अवसर पनि हुन सक्छ। धेरै छनोट पनि हुन सक्छ। लामो अनुभवले खारिएकी लक्कीलाई यो बेला बजारमा पकड लिने र सुधारेर लैजाने प्रसस्त अवसरहरु देखिएको जस्तो लागेको छ। उनी निकै आशावादी सुनिन्छिन्।
'हामीले यतिबेला अझै धेरै तालिम दिइ स्पेसल गाइडहरु निकाल्न खोजिरहेका छौं। पहिले जनरल हुन्थ्यो अब स्पेसलाइज तालिममा जाने योजना छ। अब कोही नेचर गाइड, कोही कल्चर गाइड, कोही ल्याङवेज गाइड अरु विविध हुन सक्छन्। अब त्यसतर्फ जान टुरिजम सेक्टरले सोच्नै पर्छ,'- उनले भनिन्।
लक्की अन्तर्राष्ट्रियस्तरमै पर्वतीय क्षेत्रमा काम गर्ने महिलाहरुको लागि पनि काम गरिरहेकी छन्। २५ वर्षभन्दा बढी यस क्षेत्रमा बिताइसकेकी लक्की 'ग्लोबल्ली भिजिबल' हुन चाहन्छिन्।
टुरिजम इन्टरप्रेन्योर्स एसोसिएसन नेपाल टेवानको चार्टर प्रेसिडेन्ट समेत रहेकी उनी यतिबेला माउन्टेन विमेनका लागि सन् २०२१ को अन्त्यतिर चिलीमा गर्न लागेको सम्मेलनको तयारीमा लागेकी छन्।
त्यस सम्मेलनमा अफ्रिकालगायत अन्य सबै महादेशका पर्वतीय क्षेत्रमा काम गर्ने महिलाहरुको मुद्दाका बारेमा व्यापक छलफल हुने उनले बताइन्। त्यो सम्मेलन माउन्टेन कल्चर, क्लाइमेट र महिलाकै मुद्दामा लक्षित हुने उनले जानकारी दिइन् - 'नेपालमा मैले यतिका वर्ष जे गरें त्यो अब म ग्लोबल्ली गर्न जाँदैछु। अन्य देशमा पनि जहाँ माउन्टेन कल्चर छ त्यहाँ लबिङ गरेर काम गर्ने योजना छ।'
अहिले पनि लक्कीलाई विदेशी ट्रेकिङ कम्पनीहरुले यस क्षेत्रमा कसरी काम गर्ने भन्ने बारे सल्लाह लिइरहेका हुन्छन्। उनीसँग ट्रेकिङ गाइड तालिमका करिकुलम र प्रोग्रामका डिजाइनहरु मागिरहेका हुन्छन्। विदेशी ट्रेकिङ संस्थाहरुसँग एक्सचेन्जमा पनि काम गरिरहेको उनले बताइन्।
उद्यममा रूपमा मात्र नभई टुरिजमसँग जोडिएका लक्कीका केही व्यक्तिगत चाहनाहरु पनि छन्।
उनलाई पर्यटन क्षेत्रमा रहेका महिलाहरुकै निम्ति जीवनभर भिड्न मन छ। 'चिनी सधैं गुलियै हुन्छ। धेरै खानेलाई तीतो लाग्ने न हो। चाहे छुच्ची भनुन्, नराम्रो मानुन् तर पुरुषहरुको 'मोनोपोली ब्रेक' गर्न पनि बोल्नैपर्ने हुन्छ,'- सरकारले पर्यटन क्षेत्रका महिलाहरुमाथिको विभेदका बारेमा नबोलेको उनी गुनासो गर्छिन्।
आफूले काम गर्दै गएपछि यस क्षेत्रमा भएको विभेदबारे बुझ्न थालेको उनी बताउँछिन्। ट्रेकिङ क्षेत्रमा महिला र पुरुषबीच श्रमको मूल्य पाउने कुरामै विभेद भएको उनको बुझाइ छ। महिलाको स्वाभिमानलाई सम्मान गर्न र श्रमको बराबर प्रतिफल पाउन पनि बोल्न जरुरी भएको उनी बताउँछिन्। उनी दार्शनिकले झैं भन्छिन् -'म आफू सफल भएँ भनेर चुपचाप बसिदिने हो भने मेरो त जीवन सफल होला तर बोल्न नसक्नेहरुको आवाज बन्न सक्यो भने सफल मात्र होइन सार्थक पनि बन्छ। पशुले त अरुको चिन्ता गर्छ भने हामीले मानव भएपछि अरु मानवको चिन्ता गर्नु पर्दैन र!'
***
पोखरामा रहेर ट्रेकिङ र टुरको व्यवसाय गरिरहेको थ्री सिस्टर्सले एकताका धेरै सञ्चारमाध्यमहरूको ध्यान खिचेको थियो। उनीहरूका बारेमा बीबीसी र सीएनएनसमेतले रिपोर्ट प्रसारण गरेका थिए। ट्रेकिङ र टुरमा महिलाले गाइड बनेर अघि लाग्नु सहज होइन।
चक्रिय अन्नपूर्ण पदमार्ग संसारभरका साहसिक यात्रा रुचाउनेका लागि 'सपनाको गन्तव्य' हो। यो सहज यात्रा होइन। तर, साहसिक पदयात्रा रुचाउनेहरू जोखिमसँग डराउँदैनन्। यात्रा गरेरै छाड्छन्। यस्तो यात्राका लागि आउनेले रुट बुझेका गाइडलाई साथमा लिन्छन्।
पोखरा र लमजुङ पुगेर यो यात्रा गर्न बर्सेनी पर्यटक नेपाल आउँछन्। यही रुटमा महिला पदयात्रीका लागि पथप्रदर्शक पनि महिला हुनु समयको माग पनि थियो। यो 'एडभेञ्चर' को पेसामा महिला आउनु आफैंमा अनौठो मानिएको थियो। लक्कीले पथप्रदर्शकको काम मात्रै गरिनन्, यस्तो पेसामा आउन चाहने महिलाका लागि बाटो सहज बनाइदिइन्।
सक्रियताको तीन दशकमा थ्री सिस्टर्सले धेरै महिला गाइड उत्पादन गरिसकेको छ। केही विरोधाभास हरेक पेसामा छन्। थ्री सिस्टर्स अपवाद होइनन्। आफूकहाँ तालिम लिएका महिला गाइडहरू अन्त नजाउन्, आफ्नै कम्पनीमा रहेर काम गरुन् भन्ने उनीहरूको जोडलाई नरुचाउने नयाँ पुस्ता नभएका होइनन्। तर यात्रा थामिएको छैन। ट्रेकिङको क्षेत्रमा काम गर्न चाहनेलाई थ्री सिस्टर्सले बोलाइरहेकै र सिकाइरहेकै छ।
त्यसैले नेपाल आएर साहसिक पदमार्गमा यात्रा गर्न चाहने महिला पर्यटकका लागि महिला गाइड उपलब्ध छन्। त्यसको श्रेय थ्री सिस्टर्सले पाइरहेकै छ।