PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारले छापा मारेकोप्रति उपकूलपति सिंहको आपत्ति



पी बी खड्का

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारले छापा मारेकोप्रति उपकूलपति सिंहको आपत्ति

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति डा नन्दबहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेकोप्रति आपत्ति प्रकट गरेका छन्।

विश्वविद्यालयमा छापा मार्नुपर्ने कुनै कारण नभएको भन्दै उनले प्रश्न उठाएका मात्रै छैनन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयलाई तत्काल छानविन गरेर कारवाही गर्नुपर्ने तर्क गरेका छन्।

यद्यपी, कुनै भ्रष्टाचार र अनियमितता भएको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्। अख्तियारले अनियमितता भएको पुष्टि गरे तत्काल राजीनामा दिने उनले घोषणा गरेका छन्।

‘एक जना कर्मचारी हालेको अख्तियारले मलाई प्रमाण देओस्’, उपकूलपति सिंहले अख्तियारप्रति आक्रोसित हुँदै भने, ‘अख्तियारले आफ्नो क्षेत्र नबुझेर राजनीतिक रुपले प्रभावित भएर सञ्चालन हुने हो भने, सीआइएएका चिफ प्रेमकुमार राईजीलाई आग्रह गर्छु, ‘सुर्खेतमा जे भएको छ गलत छ, तत्काल अनुसन्धान होस्।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत अख्तियार अनुसन्धान आयोग सुर्खेतको कार्यालयलाई तत्काल स्पष्टीकरण सोधेर ठीक ठाउँमा राख्न आग्रह गरेका छन्। 

‘भ्रष्टाचारको विरुद्धमा लागेकोमा बधाई दिनुपर्ने ठाउँमा उल्टै छापा मायो भनेर बाहिर चारै तिर गलत म्यासेज गएको छ’, उनले भने, ‘अनियमितताको प्रमाण दिईयोस्, म राजीनामा दिन तयार छु।’

अहिले कुनै पनि कर्मचारी भर्ना नलिएको स्पष्ट पार्दै उपकूलपति सिंहले पार्टटाइम टिचर मात्रै लिइएको बताए।

पछिल्लो समय विश्वविद्यालयमा कर्मचारी नियुक्ती तथा कानुन संकायतर्फको केन्द्रीय क्याम्पसको स्नातक तहमा लिएको प्रवेश परीक्षाका विषयमा अख्तियारमा उजुरी परेको भन्दै अख्तियारको टोली शुक्रवार विश्वविद्यालयमा पुगेको थियो।

‘१० दिनभित्र पुनः प्रवेश परीक्षा हुन्छ, तयारी गर्नुस्’

विश्वविद्यालयको कानुन संकाय अन्र्तगतको केन्द्रीय क्याम्पसले स्नातक तह अध्ययनका लागि गत फागुन १७ गतेदेखि १९ गतेसम्म प्रवेश परीक्षा लिएको थियो। उक्त परीक्षामा अनुर्तिण विद्यार्थीले प्रश्न पत्र लिक गराएर सीमित विद्यार्थीलाई उत्तिर्ण गराएको भन्दै संघर्षमा उत्रिएका थिए।

उनीहरुले सत्यतथ्य छानबिन गर्नुपर्ने भन्दै प्रवेश परीक्षा पुनः लिनुपर्ने माग गरेका थिए। विश्वविद्यालयले सोही अनुसार छानबिन समिति गठन गरेर प्रवेश परीक्षामा अनियमितता भएको निष्कर्ष निकालेर रद्द गरिसकेको छ। विश्वविद्यालयले परीक्षा रद्द गरेपछि प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

उनीहरु बिना कारण परीक्षा रद्द गरेको भन्दै भर्ना अभियानलाई निरन्तरता दिन माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। विश्वविद्यालय परीसरमा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। 

यता, उपकूलपति सिंहले कुनै पनि हालतमा अवको दश दिनभित्र प्रवेश परीक्षा हुने बताएका छन्।

‘छानबिन समितिले पेश गरेको प्रतिवेदन अनुसार प्रवेश परीक्षामा अनियमितता भएको क्लियर छ’, उनले भने, ‘रद्द गरिसकेको छ। अबको दश दिनभित्र पुनः प्रवेश परीक्षा हुन्छ,  तयारी गर्नुस्।’

विश्वविद्यालयले लिने प्रवेश परीक्षामा पहिला सहभागी एक सय ९० जना विद्यार्थीलाई प्राथमिकता दिइने जनाएको छ। ४५ सिटका लागि एक सय ९० जना विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell