PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

जलवायु संकट सम्बन्धी भर्चुअल सम्मेलनको लागि सी र पुटिनसहित ४० देशका प्रमुखलाई बाइडेनको निमन्त्रणा



पहिलोपोस्ट

जलवायु संकट सम्बन्धी भर्चुअल सम्मेलनको लागि सी र पुटिनसहित ४० देशका प्रमुखलाई बाइडेनको निमन्त्रणा
Photo : AP

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु संकट सम्बन्धी भर्चुअल शिखर सम्मेलनको लागि ४० देशका राष्ट्रप्रमुखहरुलाई आमन्त्रण गरेका छन्। ह्वाइट हाउसले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको द गार्डियनले लेखेको छ

दुई दिनसम्म चल्ने शिखर सम्मेलनको लागि बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसहित ४० राष्ट्रप्रमुखलाई आमन्त्रण गरेको बताइएको छ। जलवायु परिवर्तनविरुद्धको लडाइँमा अमेरिका अग्रपंक्तिमा रहेको संदेशको रुपमा सो शिखर सम्मेलन रहने छ। जुन मुद्दाबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हात झिकेका थिए।

‘आमन्त्रण गरिएको कुरा उहाँहरुलाई खवर छ’, सी र पुटिनतर्फ इंगित गर्दै बाइडेनले भने,  ‘तर, उहाँहरुसँग मेरो कुरा हुन पाएको छैन।’

सो शिखर सम्मेलन अप्रिल २२ बाट शुरु हुनेछ। संयोगवश त्यो दिन अर्थ डे समेत परेको छ। शिखर सम्मेलन नोभेम्वरको लागि तय भएको स्कटल्याण्डमा हुने संयुक्त राष्ट्र संघको महत्वपूर्ण सम्मेलन अगाडि आयोजना हुँदैछ। कोरोना भाइरस महामारीका कारण बाइडेनको सो सम्मेलन पूर्णरुपमा भर्चुअल हुने बताइएको छ।

ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिनमै बाइडेनले पेरिस जलवायु सम्झौतामा पुनः सहभागी हुने प्रतिज्ञा गरेका थिए, जुन सम्झौतामा सहभागी हुन ट्रम्पले अस्वीकार गरेका थिए।

संसारकै ठूलो अर्थतन्त्र भएको र दास्रो ठूलो कार्वन उत्सर्जन गर्ने देशको रुपमा रहेको अमेरिका गत फेब्रुअरी १९ बाट पेरिस सम्झौतामा फर्किएको थियो। यससँगै अब सो सम्झौतामा २०१५ मा हस्ताक्षर गर्ने लगभग सबै देश सहभागी भएका छन्।

शिखर सम्मेलन आयोजना हुने समयसम्म अमेरिकाले ‘कार्वन उत्सर्जन लक्ष्य २०३०’को घोषणा गर्ने ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, उसले अन्य देशलाई पनि पेरिस सम्झौता अन्तर्गत रहेर आफ्नो लक्ष्य सार्वजनिक गर्न प्रोत्साहन गर्ने बताइएको छ।

‘शिखर सम्मेलनले जलवायु महत्वकांक्षाका कारण कसरी उच्च स्तरको रोजगारी, अत्याधुनिक प्रविधिको विकास र जलवायुको प्रभावबाट जोखिमपूर्ण देशहरुलाई सहयोग गर्छ भन्ने कुरामा जोड दिनेछ’, ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अमेरिकाले उर्जा तथा जलवायुका प्रमुख सरोकारवालाहरुलाई सम्मेलनमा बोलाएको छ, जसमा विश्वव्यापी कार्वन उत्सर्जनको ८० प्रतिशत हिस्सा राख्ने १७ देश समेत रहेका छन्। त्यस्तै, जलवायु प्रभावका कारण जोखिममा रहेका देशहरु र जलवायु मुद्दामा अग्रपंतिमा रहेका देशका प्रमुखहरुलाई पनि आमन्त्रण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell