PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

७० वर्ष लडेर ल्याएको लोकतन्त्र रक्षाका लागि अझै सय वर्ष लड्न पर्ने हुनसक्छ : सभामुख सापकोटा



पहिलोपोस्ट

७० वर्ष लडेर ल्याएको लोकतन्त्र रक्षाका लागि अझै सय वर्ष लड्न पर्ने हुनसक्छ : सभामुख सापकोटा

काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन्।

शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेको बताए। तर पनि ठूलाठूला बहसपछि संसदले गति लिन थालेको बताउँदै अब जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाए। गत पुस ५ गतेदेखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको उनको भनाइ थियो।

निकै उतारचढाव र महान बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र यो बीचमा समुन्द्र मन्थन भई संसदले पुनः गति लिएको उनले बताए। तर अझै पनि बहस नसकिएको सभामुख सापकोटाको भनाइ छ।

संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार पनि सभामुख सापकोटाले गरे। उनले भने, ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसदले सिङ्गो राष्ट्रको, जनताको अपेक्षा पुरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, यहाँ सबैतिरबाट तपाईहरुले उठाउनुभएको छ। त्यसलाई म उच्च सम्मान गर्छु।’ तर पनि राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शित गरेको र ठूला ठूला सामस्याहरुको समाधान गरेको भन्दै सापकोटाले खुसी व्यक्त गरे।

संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रष्ट पारे। अहिले केही अन्योलता देखिए पनि निराश हुन पर्ने स्थिति नरहेको उनको भनाइ छ। ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लड्न तयार हुनुपर्ने पनि सभामुख सापकोटाले बताए।

उनले भने ‘हामीले ७० वर्ष संघर्ष गरेर ल्याएको लोकतन्त्र हामीले भनिरहेका छौं। अहिले हामीलाई कता कता त्यो लोकतन्त्र विकास विस्तार र सुदृढ भएन भन्ने जस्तो लागिरहेको छ। हामी किन राष्ट्रको जीवनमा त्यति साँधुरो ढङ्गले सोच्छौं। ७० वर्ष होइन अर्को सय वर्ष पनि लड्न पर्ने हुनसक्छ। अर्को सय वर्ष पनि संघर्ष गर्नपर्ने हुनसक्छ। त्यसकारण हामीले राष्ट्रको जीवनलाई हाम्रो व्यक्तिको जीवनसित जोडेर समय सिद्धिन लाग्यो धेरै भयो भनेर हामीले नसोचौं। चिन्तित हुनुपर्ने कुरा छैन। जे हुँदैछ ठिक ठिक हुँदैछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell