काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेता नवीन्द्रराज जोशीको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ।
जोशीको शुक्रवार राती नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। शनिवार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले जोशीप्रति सम्मान प्रकट गर्दै शोकका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ।
जसमा चैत १५, १६ र १७ गतेगरी तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको छ। उक्त दिनहरुमा शोकका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगरिने पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
त्यसैगरी चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय भएको छ। स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशक भन्दा लामो समय अनवरत संघर्षरत अथक योद्धा जोशीको निधनबाट मर्माहत र स्तब्ध भएको उल्लेख गरेको छ।
को हुन् जोशी?
नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उप–मेयर, संविधानसभा सदस्य, पूर्व मन्त्री, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पार्टीका नेता जोशी राजनीतिलाई सधै जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, वौद्धिक र क्षमतावान नेता जोशी नेपाली कांग्रेसमा निष्ठावान राजनीतिज्ञका रुपमा परिचित रहेको विज्ञप्तिमा उल्लेख छ।
लोकतान्त्रिक आन्दोलनका क्रममा स्वर्गीय जोशीले पटक–पटक गरी करीब एक वर्ष जेल जीवन समेत व्यतित गरेका थिए। पार्टीको विभिन्न तहको विभिन्न पदमा रही जोशीले कांग्रेसलाई सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण योगदान गर्दै नेपालमा लोकतन्त्र पुनर्स्थापनाको आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै शैक्षिक एवं सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएको विज्ञप्तिमा उल्लेख छ।
‘उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ। नेपाली कांग्रेसले एक कुशल संगठक र सिङ्गो मुलुकले एक क्षमतावान नेतृत्वलाई गुमाएको छ। उहाँको निधनबाट पार्टी र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, नेता जोशीको निधनप्रति कांग्रेसको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ।’