PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

अभियन्तालाई मेयर शाक्यको प्रश्न, ‘कमलपोखरीको माटो अनुहारमा दल्ने र प्रधानमन्त्रीको राजीनामाबिच के सम्बन्ध छ?’



पहिलोपोस्ट

अभियन्तालाई मेयर शाक्यको प्रश्न, ‘कमलपोखरीको माटो अनुहारमा दल्ने र प्रधानमन्त्रीको राजीनामाबिच के सम्बन्ध छ?’

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अभियन्ताका नाममा राजनीति नगर्न सुझाव दिएका छन्।

महानगरपालिका क्षेत्रभित्र भएका विकास निर्माणका कामको अनुगमनसँगै मतदाताका गुनासा सुन्ने क्रममा शनिवार वडा–१५ पुगेका शाक्यले भने, ‘विकास निर्माणका काममा हामी सबै जनप्रतिनिधिको एक मत छ। तर, केही ठाउँमा व्यक्तिगत र राजनीतिक स्वार्थका कारण केही समस्या भएको छ।’

उनले मतदाताको गुनासो सुनिसकेपछि अन्तिममा सम्वोधन गर्दै कमलपोखरीलगायतका केही स्थानमा अनावश्यक विरोध गर्दा पुननिर्माणको काममा ढिलाई भएको बताए। ‘कमलपोखरी पुननिर्माणमा स्थानीय कसैको पनि विरोध छैन,’ शाक्यले भने, ‘बाहिरका मान्छे कमलपोखरी पुगेर अनावश्यक अवरोध गर्ने प्रयास गरिरहेका छन्। अभियन्ताका नाममा कमलपोखरीमा असान्दर्भिक कार्य गरेर नागरिकलाई भ्रम छर्ने प्रयास भैरहेको छ।’

केही अभियन्ताहरु कमलपोखरीको माटो अनुहारमा दलेर प्रधानमन्त्रीको राजीनामा माग्न बालुवाटार गएको प्रसङ्ग पनि मेयर शाक्यले कोट्याए। ‘कमलपोखरीको माटो र प्रधानमन्त्रीको राजीनामाबिच के सम्बन्ध छ? अभियन्तालाई प्रश्न गर्न चाहन्छु,’ शाक्यले भने, ‘अभियन्ताले अनुहारमा कमलपोखरीको माटो दलेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने? यस्तो असान्दर्भिक विषयलाई समेत जोडेर नागरिकलाई भ्रम छर्ने र विकास निर्माणका काममा अवरोध गर्ने प्रयास भैरहेको छ। यी अवरोधलाई चिर्दै हामी समयमै कमलपोखरी पुननिर्माण सम्पन्न गर्छौ।’

शाक्यले त्यस्ता कुरालाई महानगरवासीले बोलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिए। ‘विगार्नलाई थोरै व्यक्ति भए पनि पुग्छ। विकास निर्माणका काममा अवरोध गर्न एक जना व्यक्ति अदालत पुगेर एक पन्नाको उजुरी हाले पनि पुग्छ,’ शाक्यले भने, ‘तर, त्यसले राज्यलाई करोडौ घाटा भैरहेको हुन्छ। त्यसैले तपाईँहरुले त्यस्तो कार्यको विरुद्धमा बोल्नुपर्छ। राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ।’

शाक्यले विभिन्न सामाजिक सञ्जालमा पनि अभियन्ताको फरक–फरक परिभाषा उल्लेख गर्ने गरेको भन्दै राजनीतिक र व्यक्तिगत स्वार्थ पुरा गर्ने अभियन्ताले विकास निर्माणमा अवरोध गरेको भन्दै आक्रोश व्यक्त गरे।

शाक्यले हिजो भन्दा हेर्न लायकको कमलपोखरी बनाउन लागेको भन्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने कमलपोखरी बन्ने दाबी गरे। ‘बास्तुशास्त्रमा आधारित पोखरी बनाउनै लागेका हौं। पुरातत्व विभागले पनि मौलिकता कायम गर्नु भनेर भन्यो। मैले पुरातत्व विभागलाई मौलिकता कायम गर्न के गर्नुपर्छ हामीलाई डिजाइन दिन भने,’ शाक्यले भने, ‘पुरातत्व त्यो त मलाई पनि थाहा छैन भन्छ। कतिपय अवस्थामा पुरातत्व विभागबाट पनि भ्रम छर्ने काम भैरहेको छ। केहीले विरोध गर्दैमा काम रोक्दैनौं। केही दिनभित्रै पानी भर्ने योजना बनाइरहेका छौं। कमलपोखरी समयमै सम्पन्न हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell