PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

होलीमा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध, स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कारवाही



रासस

होलीमा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध, स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कारवाही

काठमाडौं : कोभिड-१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ।

प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन र शान्ति सुरक्षा चुस्त बनाउन आवश्यक निर्देशन दिइसकिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

‘सरकारले घरघरमै बसेर होली मनाउन अनुरोध गरिसकेको छ, भीडभाडमा पुगेर समूहगत रुपमा होली नमनाउन भनिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न मातहतका सबै प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ’, प्रवक्ता कुँवरले भने।

यस वर्ष आइतवार पहाडी क्षेत्रमा र सोमवार तराईमा होली मनाइँदै छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोभिड-१९ को संक्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरिसकेको छ। काठमाडौं प्रशासनले पनि संक्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घर भित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न भनेको छ। बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ।

यसरी सार्वजनिक स्थानमा आउँदा जाँदा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने गृह मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले ‘होलीमा हूल तथा ठूला जमघटबाट टाढा बसौँ, कोरोना होइन, माया बाँडौँ’ भनेर सन्देश प्रवाह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell