PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राजनीतिक कोर्ष हप्ता दिनमा परिवर्तन हुने प्रचण्डको उद्घोष, कठोर निर्णयको तयारीमा नेपाल लाग्दा जसपा भन्छ, ‘ओलीलाई न समर्थन, न विरोध’



प्रकाश भण्डारी

राजनीतिक कोर्ष हप्ता दिनमा परिवर्तन हुने प्रचण्डको उद्घोष, कठोर निर्णयको तयारीमा नेपाल लाग्दा जसपा भन्छ, ‘ओलीलाई न समर्थन, न विरोध’

काठमाडौं :  फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अस्तित्वमा रहेको फैसला गरेपछी माओवादी र एमालेका नेता आ-आफ्नो पुरानै पार्टीमा लागे। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनका विरुद्ध मोर्चाबन्दीमा लागेका एमालेका वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फैसला यता भने एकै मञ्चमा देखिएका थिएनन्।

तर, शनिवार उनीहरु एकै मञ्चमा देखिने अवसर जुट्यो। वृहत नागरिक आन्दोलनले नेपाली कांग्रेस र जसपाका नेताहरुका साथ राजधानीको प्रज्ञा प्रतिष्ठानको डबलिमा प्रचण्ड-नेपाललाई जुटाएको थियो।

ओलीविरुद्धको मोर्चाबन्दी बलियो बन्न नसकिरहेका बेला ओलीको विकल्प कठोर राजनीतिक निर्णय गरेरै भए पनि दिने प्रचण्ड-नेपालको उद्घोष छ।

कांग्रेसका नेता डा मिनेन्द्र रिजालले ओलीलाई विश्वासको मत दिन नसक्ने बताए भने जनता समाजवादी (जसपा)का संयोजक महन्थ ठाकुरले ओलीलाई आफ्नो समर्थन र विरोध दुबै नहुने बताए।

'प्लान टु' किन बनेन?

वृहत नागरिक आन्दोलनले प्रज्ञाको डबलीमा गरेको अन्तर्कियामा नेताहरुलाई प्रश्न गर्ने जिम्मेवारीमा थिए राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनाल। उनले सुरुमै एमाले भित्रको राजनीतिक संकटबारे बेलिविस्तार लगाए। माधव नेपालमाथि ओलीले प्रहार गरेर राजनीतिक फाइदा उठाएको खनालले तर्क थियो।

ओलीले पेलेका बारेमा मात्रै खनालले तर्क गरेनन् बरु माधव नेपाललाई नै प्रश्न गरे- प्लान टु किन बनेन? कठोर राजनीतिक निर्णय गर्नुपरे के गर्नुहुन्छ?

खनालका प्रश्नको जवाफ दिन नेपाललाई त्यति सहज भएन 'म निकै अप्ठेरो मानिरहेको छु। पार्टी भित्रको कुरा यहाँ गर्न निकै अप्ठेरो छ। पार्टीमै गरे भैहाल्यो नि भन्नुहोला। तर, पार्टीमा ढोका बन्द छ। त्यसैले म यहाँ भन्न थालेको छु,' नेपालले पार्टीको किचलोबारे भने।

संसद पुनर्स्थापनापछि प्लान टु किन बनेन भन्ने खनालको प्रश्नको जवाफ भने नेपालले दिएनन्। बरु नेता नेपालले ओलीलाई अहिले सरकारबाट किन बिदाइ गर्न सकिएको छैन भन्नेबारेमा आफ्नो बिचार केन्द्रित गरे।

'राजनीति सरल रेखामा बढ्दैन। अनेक दाउपेच भइरहेका छन्। ओलीले छोडदिय हुन्थ्यो भन्ने सबैलाई लागेको छ। म जस्तोसुकै चुनौतिको सामना गर्न तयार छु,' नेपालले भने।

अलमलको अवस्थामा रहेका नेपाल आफू सबै कुरा प्रष्ट भन्न सक्ने अवस्थामा नरहेको बताइरहेका बेला नागरिक समाजका तर्फबाट भने उनलाई प्रश्न सोध्ने क्रम रोकिएको थिएन।

'कठोर निर्णय गर्न तयार हुनुहुन्छ? संसदमा फ्लोर क्रस गर्नुपर्ने भए के गर्नुहुन्छ?,' नेपाललाई फेरी प्रश्न सोधियो।

आफूलाई सबैकुरा भन्न लगाएर अप्ठेरोमा नपार्न आग्रह गरिरहेका नेपालले आफ्नो संकेत बुझ्न अनुरोध गरे। भने, 'हिजोकै संसदीय दलको बैठकमा नगएर हामीले संकेत देखाइसकेको छौँ। समयको नाडि छामिरहेका छौँ। समय आउछ ठ्याक्क अघि बढ्छौँ।'

नेपालले ओली नेतृत्वको सरकार जसपा र कांग्रेसको साथ रहेसम्म रहिरहने दाबी गरे।

'हप्ता दिन संसद हेर्छु नभए सडक'

प्रचण्ड अघि बोलेका माधव नेपालले आफ्नो संकेत बुझ्न अनुरोध गरिरहदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने अलि प्रष्ट देखिन्थे। उनले सवाल जवाफका क्रममा सरकारलाई किन समर्थन कायम छ? भन्ने देखि कहिले राजनीतिक निकास निस्कन्छ? भन्ने प्रश्नको खुला जवाफ दिए।

ओलीप्रति आक्रामक देखिएका प्रचण्डले ओली सरकारलाई नै आफूले समर्थन कायम राख्नु बाध्यता सुनाए।

प्रचण्डले आफूमाथि सरकारलाई समर्थन कायम राख्न दबाब भएको भन्दै भने, 'हिजो सडकमा भएका साथिहरुले मलाई हत्त र पत्त समर्थन फिर्ता नले है भनेर जबरजस्त दबाब छ। म नाम चाहि भन्दिन कसैको। समर्थन फिर्ता लिए झन उल्टो पर्छ है भन्ने छ।'

उनले ओलीलाई धेरै दिन आफ्नो समर्थन नरहने बताए। ओलीविरुद्धको राजनीतिक मोर्चा कमजोर भए पनि आफ्नो नैतिकताले ओलीलाई समर्थन कायम राख्न नसक्ने प्रचण्डको भनाई थियो।

'मैले जसलाई प्रतिगामी भनेको छु त्यसलाई समर्थन गर्न सक्दिन चाहे राजनीति जतासुकै जाओस। मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्दछ। म केही दिन भित्रमै त्यो प्रक्रिया अगाडी बढाउँछु,' प्रचण्डले भने। ओलीलाई सरकारबाट हटाउँन आफूले भए सम्मका उपाए लगाएको प्रचण्डको दाबी छ। प्रचण्डले हप्ता दिन भित्रै राजनीतिले निकास पाउने दाबी गरे।

जसपा र कांग्रेससँग सहकार्यका बिषयमा पहल भइरहेको प्रचण्डले बताए। तर, धेरै दिन संसदलाई कुरेर नबस्ने उनको भनाई छ। 'फागुन २३ गते संसदबाट ओलीलाई हाटाउन संसद सचिवालयमा पुगेपछि पार्टी अलग गरियो। सबैभन्दा बढि म माथि प्रहार भइरहेको छ। म माथि अन्याय भएको छ। मलाइ तपाइले न्याय दिनुस्। कांग्रेस र जसपासँग सहकार्यको प्रयास जारी छ। दुई चार दिन संसदमा प्रयास गर्ने हो। नभए सडकमा आउँछु.’ उनले भने।

उनले जसपाका संयोजक महन्थ ठाकुरलाई सरकारमा जानका लागि बालुवाटार नधाउन समेत आग्रह गरे। जसपाले नै सरकार बनाउन सक्ने भन्दै बालुवाटार धाउनुको औचित्य नभएको प्रचण्डको दाबी छ।

'तपाइ नै सरकार बनाउनुस। भइहाल्छ त बाबा वालुवाटार धाइरहनै पर्दैन। म त प्रष्ट मान्छे हो,' प्रचण्डले भने। संसद पुनस्थापना लगतै आफूले चरणबद्द रुपमा योजना अघि सार्नुपर्ने भए पनि आफू रिल्याक्समा लाग्नु कमजोरी भएको प्रचण्डले बताए

ओलीको न समर्थन न विरोध : ठाकुर

नयाँ सरकार गठनका लागि जसपा निर्णायक दल बनेको भन्दै आवाज उठिरहेको भए पनि उसले भने आफू निर्णायक नभएको दाबी गर्दै आएको छ।

शनिवारको अन्तर्क्रियामा पनि जसपाका संयोजक महन्थ ठाकुरले आफू निर्णायक नभएको बताए। 'जब देशलाई अप्ठेरो पर्छ हाम्रो सम्झना हुन्छ। हामी निर्णायक ठाउँमा छैनौँ। हामीले सरकारलाई समर्थन गरेका पनि छैनौँ। प्रचण्डजीले सरकारलाई समर्थन गरिरहनुभएको छ अनि कसरी हामीलाई सहयोग गरेन भन्न सक्नुहुन्छ?,' ठाकुरले प्रतिप्रश्न गर्दै भने।

बरु आफू राज्यसत्तबाट पीडित भएको र जसले आफ्ना माग सुनुवाई गर्छ उसलाई साथ दिने अडानमा रहेको ठाकुरले बताए। उनले ओलीसँग लिखित सम्झौता नगर्ने तत्काल कार्यान्वयन भए मात्रै सहमति हुनसक्ने दावी गरे।

'हामीले चेकमा हुदैन भनेका छौ। क्यास चाहियो। सबै सरकारसँग तीन बुँदे सहमतति गरेका छौ। तर कार्यान्वयन भएन,' उनले भने।

जसपाले प्रतिगमन गरेका ओलीलाई नै साथ दिइरहेको भन्दै नागरिक समाजले ठाकुर माथि तिखा प्रश्न गरे पनि उनी जवाफ भने हाँस्दै फर्काइरहेका थिए। नागरिक समाजका तर्फबाट प्रा खनालले ओलीलाई संसदमा समर्थनको मत दिनुहुन्छ? भन्दै प्रश्न गर्दा ठाकुरको जवाफ भने अलि प्रष्ट भएन। 'निर्णय त हामीले संसदमा भोट हाल्ने बेलमा गर्ने हो। अहिले नै निर्णय गर्ने होइन। तपाइहरुले पनि निर्णय भोट हाल्दा नै गर्नुहुन्छ। अहिले त जसको विचार सहि छ त्यसलाई त ठिक भन्न मिल्यो नी,' उनले भने।

कांग्रेसले ओलीलाई विश्वासको मत दिन सक्दैन

डबलीमा भइरहेको अन्तर्क्रिया राजनीतिक निकासका लागि नेताहरुलाई दबाब दिन आयोजना गरिएको भए पनि नेताहरुबीच नै बेला बेलामा घोचपेच भइरहेको हुन्थ्यो। कांग्रेसका नेता डा मिनेन्द्र रिजालले आफू सबै प्रश्नको उत्तर दिन नसक्ने भन्दै नागरिक समाजलाई त्यस्तो अपेक्षा नगर्न अनुरोध गरिरहेका थिए।

उनले आफू नेपाली कांग्रेसको गर्धन मात्रै भएको र सभापति शेरबहादुर देउवा टाउको भएकाले टाउको पनि गर्धन अनुसार चलाउन पहल भइरहेको बताए। 'म नेपाली कांग्रेसको गर्धन मात्रै हो। पहल त टाउको पनि गर्धन अनुसार नै चलोस भन्ने हो। त्यसलै म तपाइले सोधेका सबै प्रश्नको जवौ दिन सक्ने अवस्थामा छैन्,' रिजालले भने।

तर, उनले संसदमा ओलीलाई विश्वासको मत दिन नसक्ने बताए। उनले अन्तिम समयमा कांग्रेसले निर्णय गर्ने र त्यो परिपक्क निर्णयले मात्रै निकास निस्कने उनको भनाई थियो। 'हामी ओलीजीले फेरी केही अर्को कदम चाल्न सजिलो हुनेगरी निर्णय गर्दैनौँ। अन्तिम सयममा आएपछि निर्णय त हुन्छ नै। परिपक्व निर्णयले मात्रै निकास निस्कन्छ। तर, हामी ओलीलाई विश्वासको मत दिन सक्दैनौँ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell