PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

यस्तो देखियो पशुपति आर्यघाटमा कांग्रेस नेता नवीन्द्रराज जोशीको अन्तिम बिदाई

यस्तो देखियो पशुपति आर्यघाटमा कांग्रेस नेता नवीन्द्रराज जोशीको अन्तिम बिदाई

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेता जोशीको आज साँझ अन्त्येष्टि गरिएको हो।

यसअघि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताहरुले नेता जोशीलाई श्रद्धाञ्जली दिएका छन्। श्रद्धाञ्जली दिनको लागि नेता जोशीको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा राखिएको थियो।

जोशीको पार्थिव शरिरमा स्व जोशीका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिए। अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलिका लागि उहाँको नीजी निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सानेपामा उनको पार्थिव शरिरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरे।

जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्नीप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका थिए।

 

नेता जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर सम्मान व्यक्त गरिएको थियो। उनलाई श्रद्धाञ्जली दिन नेता तथा कार्यकर्ताहरु सानेपा पुगेका थिए।

जोशीको गएराति निधन भएको हो। फागुन १४ गते मस्तिस्कघात भई जोशी नर्भिक अस्पतालमा उपचाररत थिए। नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रवार राति ८ : २४ बजे निधन भएको थियो।

विस २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी नेपाल विद्यार्थी सङ्घको पूर्वमहामन्त्री, काठमाडौँ महानगरपालिकाको पूर्वउपमेयर, विस २०६४ र २०७० सालमा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए। नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्षरत अथक योद्धा स्व जोशीले राजनीतिलाई सँधै जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, बौद्धिक र क्षमतावान नेता जोशी कांग्रेसका निष्ठावान राजनीतिज्ञका रुपमा परिचित थिए।

मस्तिष्कघात हुनुभन्दा पहिले स्व नेता जोशी आफ्नो निर्वाचन क्षेत्रको घरघरमा पुगेर कोरोनाको सामग्री वितरण गर्दै आएका थिए। विसं २०७३ सालमा उद्योगमन्त्री बनेका नेता जोशी नेपाली कांग्रेसको १२ औँ र १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यमा निर्वाचित भए। स्व जोशीका श्रीमति र एक छोरी छन्।



ट्रेन्डिङ पोस्ट

Ncell