PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रंगशालामा हजारौँको भीडः होली कार्यक्रम सञ्चालन गर्न भने रोक, 'फुटबल हेर्नेलाई जडिबुटी खुवाएर पठाएको हो?'



लक्ष्मी बलायर

रंगशालामा हजारौँको भीडः होली कार्यक्रम सञ्चालन गर्न भने रोक, 'फुटबल हेर्नेलाई जडिबुटी खुवाएर पठाएको हो?'

गत वर्ष होलीका कार्यक्रम तय भएअनुसार हुन सकेनन्। कोरोना संक्रमणको त्रासमा सीमित रुपमा मात्रै होली मनाइयो। धेरै कार्यक्रम स्थगित गरिए। यसपटक भने पहिलाको होलीलाई बिर्सने गरि फेरि धुमधामका साथ होली मनाउने तयारी थियो। त्यसका लागि धेरै स्थानमा कन्सर्ट समेत आयोजना गरिने घोषणा भयो। टिकट बिक्री गर्न थालियो। तर, भारतमा कोरोना संक्रमण बढेको भन्दै चैत ११ गते काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भीडभाड गरेर र सामूहिक रुपमा  होली खेल्न प्रतिबन्ध लगायो। जसकारण फेरि तय गरिएका कार्यक्रम रद्ध हुने अवस्थामा पुगे।

जिल्ला प्रशासनको उक्त निर्णयले होलीको पूर्वसन्ध्यासम्म कन्सर्ट तथा प्रोग्राम आयोजक र व्यवसायी निकै अन्योलमा देखिएका छन्। दशरथ रंगशालमा करिब ८ हजार दर्शक राखेर फुटबल प्रतियोगिता हुँदा केही सय टिकट बेच्ने टार्गेट राखेर होली कार्यक्रम राखेका आयोजक निराश देखिएका छन्।

अमा इभेन्टले आयोजना गरेको होली फेस्ट २०२१, मेराकी कोर्पले प्रस्तुत गरेको टुवर्ग कलरस्प्लश,  एस्कोबारले टुवर्ग कलर फुस २०२२ र इमाल इभेन्टले होली २०२१ स्पेशल जस्तै अन्य थुप्रै कार्यक्रम आयोजना हुने भनिएको थियो। तर कोरोनाको त्रासमा सरकारले भीडभाड गरेर होली खेल्न प्रतिबन्ध लगाउँदा सबै कार्यक्रम स्थगित भएका छन्।

केटिएम इस्कोबार इन्टरटेन्टमेन्ट प्रा. लि को संचालक असिम राणा सरकारले गरेको निर्णय अमानवीय भएको र आफू अन्योलमा परेको बताउँछन्।

'आजभन्दा पाँच/सात दिन अघि गृहमन्त्रालयसँग सल्लाह गरेर लगानी गरेका हौँ। अन्तिम अवस्थामा आएर सरकारले कोभिडको संकमण बढ्यो र अब कार्यक्रम गर्न मिल्दैन भन्छ। यो निर्णयले हामी व्यवसायीलाई निकै दुःख दिएको छ' उनले गुनासो गरे।

उनले १ करोडको लगानी रहेको कार्यक्रममा ५० लाख खर्च भइसकेको समेत बताएका छन्। सर्वसाधरणलाई रमाइलो गराउन गोकर्ण फोरेस्ट रिर्सटमा अन्तर्राष्ट्रिय र नेपाली कलाकारहरुको प्रस्तुति दिने कार्यक्रम गर्ने सोच बनाएका थिए उनले। तर अन्तिम समयमा त्यो सम्पन्न हुने अवस्था अहिले देखिएन।

'अहिले रंगशालामा ‍हजारौँ मानिस भेला भएर फुटबल चलिरहेको छ। के तिनिहरुलाई चाहिँ जडिबुटी खुवाएर पठाएको हुन्छन्? त्यसले चाहिँ कोभिड नसर्ने रे। नेताहरुले बोलाएर भेला गर्दा पनि नसर्ने तर एकदिन होली मनाउँदा भने सर्ने रे?' उनी सरकारसँग प्रश्न समेत गर्छन्।

प्रोगामको इनभिटेसन दिए पनि टिकट भने खासै बिक्री नगरेको असिमले बताए।

यता, काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले घरमा होली मनाउन मिल्ने भए पनि सार्वजनिक स्थलमा कार्यक्रम गरेर होली मनाउन रोक लगाएको बताएका छन्।

यो प्रतिबन्ध लगाउनु रहर नभई वाध्यता भएको पराजुली बताउँछन्। स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयबाट आदेश आएपछि नै यस्तो निर्णय गरेको उनले सुनाए।

'होली भनेपछि माक्स खोल्नै पर्‍यो। हातमा रगं दल्नै पर्‍यो। जसले संक्रमण फैलिने डर बढी हुन्छ। छिमेकी मुलुक भारतमा लकडाउन भएको स्थिति छ। सचेतना अपनाउँदा आफैँलाई नै फाइदा हुन्छ।'

उनले कसैले पनि यो निर्णयलाई अन्यथा लिन नहुने बताए।

फुटबल गर्दा कोरोना नसर्ने तर होली मनाउँदा सर्ने भनेर धेरैले आफूलाई प्रश्न गरेको पराजुली सुनाउँछन्। त्यसैले आफूले खेलकुदमन्त्रीलाई सबैतिर एकरुपता हुनुपर्‍यो भनेर फोन समेत गरेको दाबी गर्छन् उनी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell