PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रशिक्षक महर्जन भन्छन् : योजना अनुसार नै खेल्यौँ, स्कोर फाइनलमा गर्छौं

प्रशिक्षक महर्जन भन्छन् : योजना अनुसार नै खेल्यौँ, स्कोर फाइनलमा गर्छौं

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : थ्री नेसन्स कप अन्तर्गत आज सम्पन्न बंगलादेश र नेपालबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा गोलरहित बराबरी खेलेसँगै नेपालले फाइनलमा स्थान सुरक्षित पनि गरेको छ।

र, फाइनलमा नेपालको प्रतिस्पर्धी उही बंगलादेश नै हुनेछ। प्रतियोगिताबाट बाहिरिएको कीर्गिस्तानले नेपाल बसाइको क्रममा अन्तिम खेलको रुपमा भोलि त्रिभुवन आर्मी फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

दर्शकको उल्लेखनीय उपस्थिति रहेको आजको खेलमा बराबरीमा रोकिएपछि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले आफूहरुले योजना अनुसार नै खेलेको प्रतिकृया दिए। यसअघि कीर्गिस्तानसँगको खेलमा बराबरी खेलेपछि नेपालको अट्याकिङ पोजिसनमा केही कमजोरी रहेको स्वीकार्दै काउन्सिलिङ गरेर त्यसलाई सुधार्ने बताएका उनले आजको खेलपछि फाइनलमा पुगेकामा सन्तुष्ट सुनिए।

अघिल्लो खेलमा जस्तै आजको खेलमा पनि राम्रै बल पोजिसनमा राखेको नेपालले केही राम्रा अवसरहरु बनाएर पनि त्यसलाई सदुपयोग गर्न चुकेको थियो।

‘नहार्ने तर अंक लिने भन्ने लक्ष्य थियो। फाइनल पुगेका छौं। अब फाइनलमा स्कोर गर्नेछौं’, खेलपछि महर्जनले भने, ‘सुरुवात जित्ने गरी नै गरेका हौं। जसरी भएपनि फाइनल पुग्ने भन्ने थियो। एक प्वाइन्ट जोडेर भए पनि फाइनल पुगेका छौं।’

त्यस्मै सही थप्दै आजको खेलमा म्यान अफ द म्याच समेत बनेका नेपाली टोलीका उपकप्तान रोहित चन्दले पनि रणनीति अनुसार नै खेलेको बताए।

‘कोचले भनेजस्तै योजना अनुसार नै खेल्यौं। फाइनलमा पुगेको छौं। त्यसलाई सकारात्मक रुपमा लिएका छौं,’ उनले भने। चन्दले स्कोरिङमा भने कमजोरी भएको स्वीकारोक्ति दिए।

त्यस्तै प्रशिक्षक महर्जनले फाइनलमा ‘गर या मर’ को स्थिति हुने हुनाले जित निकाल्ने गरी खेल्ने बताए।

उनले भने, ‘फाइनल भनेको डू अर डाइ हो। बंगलादेशलाई ग्याप पनि धेरै थियो। यो दुईवटै म्याचमा गर्न नसकेको स्कोर फाइनलमा चाहिँ गर्नेछौं। आशा गरौं।’

नेपाली फुटबल टिमको स्कोरमा समस्या नयाँ भने होइन। खेल राम्रो देखाउने तर स्कोर गर्न नसक्दा नेपालले पहिल्यैबाट समस्या भोग्दै आएको छ।

लामो समयदेखि गोल हुन किन सकेन? भन्ने प्रश्नमा महर्जन भन्छन्, ‘यो विगत देखिनै हुँदै आएको कुरा हो। बंगबन्धु, सागलगायतका प्रतियोगितामा चाहीँ स्कोर गर्न सकेका थियौं। पछिल्लो समयचाहिँ कठिनाइ देखिएको छ। त्यसलाई हामी सुधार गर्नेछौ।’

अब स्कोरिङमा केन्द्रीत हुनका लागि अभ्यासमा काउन्सिलिङ गर्नेदेखिका रणनीतिमा केन्द्रीत भएर खेलाडीहरुलाई मनोवैज्ञानिक रुपमा तयार गर्ने प्रतिकृया दिए।

त्यस्तै यसअघि नै फाइनल पुगिसकेको बंगलादेशका प्रशिक्षक जेम्स डे ले आजको प्रतिस्पर्धामा ‘एक्स्पेरिमेन्ट’ गरेको कुरालाई अस्वीकार गरेनन्। यद्यपि सबै टोलीको समस्या स्कोरिङमा रहेको दाबी समेत गरे। हुनपनि जारी थ्री नेशन्स कपको फाइनलसम्म पुग्दा तीन खेल भए जसमा एक गोल भयो। त्यो पनि आत्मघाती।

‘आज राम्रै भयो। फाइनलमा अझै टफ म्याच हुनेछ। त्यसका लागि तयारी हुनुछ।’ उनले भने।



ट्रेन्डिङ पोस्ट

Ncell