‘होलिया मेला, मयजु मस्युला अबिर भचाः नं तये मज्युला…’
गीतका शब्दहरुले भन्छ - 'होलीको मेला केटी, तिमीलाई थाहा छैन र? अलिकति अबिर दल्नु हुन्न र?'
काठमाडौं उपत्यकामा रहेका दाफाहरुमा बिहान साँझ गुञ्जिने यो गीतको लयले फागुको उल्लासमा बग्लै रौनक थप्छ। कुनैबेला यी र यस्तै लोकभाका गाउँदै फागुका दिन शहर बजार परिक्रमा गर्थे युवाहरु। आफूलाई मनपरेको मान्छेसामु पुग्थे। अनि गीतमार्फत् नै आफ्ना भावना व्यक्त गर्थे। महिला पुरुष सबैका लागि प्रेम बोकेर आउँथ्यो वसन्त ऋतु। मतिना 'प्रेम' अभिव्यक्त गर्ने अवसर हुन्थ्यो फागु।
एकाराम सिं पनि सम्झन्छन् ती दिन। शहरका टोलटोलमा गीत गाउँदै फागु खेल्दै हिँड्थे युवायुवती। पुरुषहरु एकआपसमा अबिर छर्दै गीत गाउँदै हिँड्थे। महिला टोली उनीहरुको स्वरमा स्वर मिलाउँथे। झण्डै तीन दशकअघिसम्मको प्रचलन अब त कथाजस्तै भए।
पुरुषहरु ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः मा, व ल्यासे मदयेकः जा हे मनया’ अर्थात् ‘झ्यालमा रहेको तोरीको माला, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खाँदिन' भन्दै गीत गाउँथे।
आफूले मन पराएको तरुनी रिसाउँलाकी भनेर फेरि एक अर्कासँग ठट्टा गर्थे।
‘अबिरया होली तंचाया ल्यासे, अबिरं छगुं ख्वा हिसी दयेका बी’, काठमाडौं उपत्यकामा फागुका समयमा चर्चामा रहन्छ यो गीत। जसको अर्थ हुन्छ, 'अबिरको होली, रिसायौ कि केटी, अबिरले तिम्रो मुहार राम्रो बनाइदिनेछु। '
अबिरको रङसँगै साटिन्थ्यो प्रेम र भावनाको रङ। त्यो भावनामा लय भर्थ्यो गीतले। मल्लकालीन इतिहास बोकेका यी लोक गीतहरु अहिले पनि प्रचलनमा छन्। पहिला दाफाहरुमा सीमित यस्ता गीत अहिले पनि गाइन्छ। उही लयमा। बस् शब्द अनि गाइने परिवेश बद्लियो।
+++
रुखहरु हरिया देखिन थाल्छन्। फूलहरु रङ्गिबिचङ्गी। आकाश खुलेर निलै हुन्छ। वसन्त ऋतु लाग्छ तब वातावरण रमणीय हुन्छ। फागु पनि प्रकृतिसँगै बेग्लै रङ बोकेर आउँछ। प्राकृतिक रुपमा वातावरण रमाइलो हुँदैछ। मौसमले पनि मानिसलाई उत्साहित बनाउँछ।
ऋतुहरुको राजा 'वसन्त'को स्वागतमा वसन्त पञ्चमीदेखि नै प्रेम विनयका गीत गाउने परम्परा छ। त्यसमा फागु विशेष बनेर आउँछ। जसको काठमाडौं उपत्यकामा बेग्लै परम्परागत् महत्व छ। धुमधामका साथ मनाइन्छ विभिन्न रसरागसहित।
रामकृष्ण दुवालका अनुसार वसन्तभित्र चार तह हुन्छ। पहिलो वसन्त, दोस्रो रास, तेस्रो तफा र अन्तिम फागु। वसन्त पञ्चमीका दिनदेखि पहिला दरबारहरुमा वसन्त श्रवण गरिने बताउँछन् यी संगीतकर्मी। विभिन्न ऋतुका गाथाहरु सहित दरबारमा गीतहरु गुञ्जिन्थे। ढिलो गरेर गाइने प्रेमभावका गीतहरुले वसन्तको आगमनको संकेत गर्थे। सरस्वती पूजाका दिन हनुमानढोकामा अहिले पनि वसन्त श्रवण गरिन्छ। रासमा कृष्ण र वृन्दावनको कथा सुन्न पाइन्छ भने तफामा ती कथाहरुलाई ताल सुरु मिलाएर प्रस्तुत गरिन्छ।
यी तीनै तहको समाप्तीपछि उल्लासमय वातावरणमा उत्सवका मनाइन्छ, फागु। एकआपसमा रङ खेलेर, अबिर छरेर फागु मनाउँदै गर्दा त्यहाँ विविध रङ देखिन्छ। ती रङहरुमा संगीतले प्राण भरेको हुन्छ। आत्मीयता साटासाट गर्ने पर्वका रुपमा रहेको फागु कालान्तरमा प्रेम गीतहरुले जिवन्त बनायो। गीत संगीतमा पुरुष र महिलाबीचको प्रेम र यौन सम्बन्धका भावहरु समेत प्रस्तुत भए।
सम्बन्धित समाचार : फागुमा भक्तपुरका दाफामा गुञ्जने त्यो गीत जुन सुन्न लजाउँछन् धेरै
बिस्तारै फागु 'होली' बन्यो। 'त्यसपछि गीत संगीतमा समेत होली शब्दले व्यापकता पायो,' दुवाल भन्छन्। त्यसैले हाल प्रचलनमा रहेका 'अबिरया होली…' जस्ता गीतहरु प्राचीन नभएको उनको दाबी छ।
भन्छन्, 'उपत्यकामा हामीले कहिल्यै होली मनाएनौं। इतिहास हेर्ने हो भने किरातकाल देखि नै यहाँ फागु मनाउँदै आइएको छ।'
फागुमा गीतको प्रयोगको महत्वबारे बोल्छन् दुवाल। किरात कालदेखि उत्सवका रुपमा मनाउँदै आएको फागु शासन र समयसँगै परिवर्तन हुँदै गयो। मल्ल राजाहरुले दरबारमा बाँसमा रङगिबिरङगी ध्वजा पताकाहरु सजाएर चीर स्वायगु (चीर ठड्याउन) सुरु गरेका थिए। ९ वटा ताल, ९ वटा बाजा बजाएर नव रसमा नाचेर रमाइलो गरेर चीर ठड्याउने गरिन्थ्यो। फागुका लोक गीतहरु मल्ल कालदेखि प्रचलनमा आए। जुन नेवारहरुको पहिचानसमेत बन्यो। धेरै ताल सुरहरुमा मिथिला क्षेत्रबाट प्रभावित थिए।
दुवाल दरबारमा चीर ठड्याउँदा बजाइएको लोक गीतकै लयमा बलि राजाको गीत गाउने इतिहास रहेको सुनाउँछन्।
'बलिराजा के द्वार मचे फागु… (बलिराजाको दरबारमा फागु मच्यो)'
दुवाल बलिराजाको इतिहास किरातकालको भएको सुनाउँछन्। भन्छन्, 'बलि राजाको दरबारमा नै फागु मचेको भनेपछि हाम्रो सभ्यता कति पुरानो होला त। उसको नामको गीत फागुको स्वागतमा पहिला यही गीत नै गाउने गरिन्थ्यो। पछि यसमा होलिकाको सन्दर्भ जोडियो र होली भयो। सत्य युगको कथालाई द्वापर युगका कथाहरुले पछाडि पार्यो। फागु शब्दसँगै अहिले यी गीतहरु हराइसकेका छन्।'
दुवाल फागु शब्दको चलनचल्ती घटे पनि उपत्यकाका नेवार वस्तीमा फागु शब्द नहराएको बताउँछन्।
'यहाँका नेवार वस्तीहरुमा अहिले पनि फागु मनाइन्छ। फागुका भजन गाइन्छ। तर त्यसको स्वरुप र शब्दहरुमा मात्रै परिवर्तन आएको छ,' उनी भन्छन्।
+++
यस पटक पनि वसन्त पञ्चमीदेखि नै उपत्यकामा फागुका गीत संगीतहरु गुञ्जिरहेका छन्। पुराना लय र गीतहरुमा नयाँनयाँ कुराहरु थपिएका छन्। नयाँ शब्द रचिएका छन्। नयाँ ताल सुरहरु बनेका छन्। इतिहास बन्दै जाने क्रममा रसरागका भावहरु पनि गीतसंगीतमा बढ्दै गए। अनि त्यसैलाई मानिसहरुले अंगाल्दै सिर्जे यस्ता प्रेम गीतहरु।
'अबिर इला लख: छ्वाका फागु पुन्हीया होली मिहतेवा (अबिर दलेर, पानी छ्यापेर फागु पुर्णिमाको दिन होली खेल्न आउ)'
आजसम्म पनि दाफाहरुमा यस्तै प्रेम गीतहरु गुञ्जिरहेका छन्। भागवतीय परम्परामा अनुसार यी गीतहरुमा प्रेमविनयका कुराहरु आएको दुवाल बताउँछन्। त्यसमा गीत संगीतका माध्यमबाट विभिन्न किसिमले प्रेम अभिव्यक्त गरिन्छ।
तर, उनी फागुमा गाइने यस्ता गीतहरुलाई मनोरञ्जनका लागि मात्रै नभएको बताउँछन्। यी गीतहरुको सम्बन्ध आत्मासँगै सम्बन्धित रहेको उनको तर्क छ।
भन्छन्, 'अहिलेका गीतहरु युवायुवतीको प्रेम विनयको कुराहरुमा मात्रै सीमित छन्। चर्चामा आएका गीतहरु रमाइलोका लागि बनाइएका हुन् जसको फागुसँग सम्बन्ध छैन। फागुमा हाम्रो जीवनमा शिक्षा, विकास, जनजीवन र व्यवस्थापनको कुरा पर्छ।'
उनका अनुसार पहिला फागुमा गाइने लोक गीतहरुमा ताल सुरु राग भावहरु मिलेका हुन्थे। नवरस मै गीतसंगीत गुञ्जिन्थ्यो। अहिलेका गीतहरु क्षणिक रमाइलोको लागि मात्रै प्रस्तुत भएकाले फागुलाई विकृतीका रुपमा व्याख्या गर्न समेत थालिएको छ।
'पहिला फागु भनेको रंगको पर्व थियो। अबिरको उत्सव थियो। मानिसहरु विभिन्न रङले सजिन्थे। अहिले मानिसहरु नचाहिँदो रङहरु अनुहारमा पोतेर अनावश्यक रुपमा हिँडेको समेत देखिन्छ। यसले इतिहास लेखनमा कस्तो सन्देश जान्छ?', उनी प्रश्न गर्छन्।
पहिला फागु खेल्ने गुठी हुन्थ्यो। गुठीमा आ-आफ्ना टोलका साथीभाइहरु सम्मेलित हुन्थे। आयस्ताबाट आउने रकमले पूजा गरेर गुठीका सदस्यबीच फागु खेलिन्थ्यो। प्रत्येक दाफाहरुमा 'क्वयने पूजा' गरिन्थ्यो। पछि सरकारले गुठीका जग्गाहरु लिएपछि आयस्ता आउन छाड्यो र फागुका गुठीहरु बन्द भए। त्यहाँ गाइने गीत संगीत बन्द भए। गुठीबाहेक आफूखुशी फागुमा रमाउने पनि हुन्थे। उनीहरु सबैजना सम्मिलित भएर रमाइलो गर्थे। फागुमा जीवनको अभ्युदय हुन्थ्यो।
नयाँ शब्दमा भए पनि फागुका लोकभाकाहरु उपत्यकामा जिवित नै छन्। ती धुनहरुले बिहान बेलुकी नेवार वस्तीहरु गुञ्जयमान भएकै छन्। वृद्धवृद्धाहरु दाफामा अबिरकै भाका हाल्दैछन्। शब्द बुझे पनि नबुझे पनि युवायुवतीहरु 'होली हे…' भन्दै फागुको रसमा झुमेकै छन्। तर, यही नयाँपनले मौलिकता गुम्ने खतरा पनि उत्तिकै छ।
दुवाल भन्छन्, 'त्यो बेला निर्माण गरिएका गीत संगीतहरुले प्रेमसँगमात्रै नभएर उपत्यकाको जीवनशैली र दशर्न व्यक्त गर्थ्यो। तर, आधुनिकता सँगै ती गीतसंगीतहरुमा धेरैले विकृति देखेका छन्। संस्कार बुझाउने गीतलाई विकृत नबनाइ फागु खेलौं।'