PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रहरी भन्छ : निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर, २० दिनभित्र टुंग्याउने डिआइजी सुवेदीको दाबी



एम बम

प्रहरी भन्छ : निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर, २० दिनभित्र टुंग्याउने डिआइजी सुवेदीको दाबी

कैलाली : कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको प्रहरीले दाबी गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले अनुसन्धान अन्तिमतिर पुगेको बताए।

‘निर्मला प्रकरणमा अब हामी अन्तिम चरणमा छौं,’ उनले भने, ‘पात्र भन्दा पनि प्रमाण संकलनको चरणमा छौँ अहिले। भागरथी प्रकरणपछि हामीलाई विश्वासिला सूचना पनि आउन थालेका छन्।’

सुवेदीले अगाडि थपे, ‘अब करिब २० दिनभित्र अनुसन्धान टुंग्याउनेतर्फ हामी लागिरहेका छौं। यो महिनाभित्र निष्कर्ष निकाल्छौं।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले पनि उक्त घटना केही दिनभित्रै टुङ्गोमा पुग्ने दाबी गरे। ‘निर्मला प्रकरणको अब महिना हैन दिन गणना सुरु भइसकेको छ। केहीदिन भित्रै अपराधी हाम्रो नियन्त्रणमा आउँछ,’ उनले भने।

२०७५ साउन १० गते घरबाट हराएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मलाको ११ गते निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। यो घटनामा फितलो अनुसन्धानलाई लिएर प्रहरीमाथि निरन्तर प्रश्न उठिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell