PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

काठमाडौंका धारामा झर्‍यो मेलम्चीको पानी, अनामनगर क्षेत्रमा २४ घण्टा पिउनयोग्य पानी



पहिलोपोस्ट

काठमाडौंका धारामा झर्‍यो मेलम्चीको पानी, अनामनगर क्षेत्रमा २४ घण्टा पिउनयोग्य पानी

काठमाडौं : बहुप्रतिक्षित मेलम्चीको पानी पानी राजधानीबासीको धारा धारामा पठाउन सुरु गरिएको छ।

महाकांलचौरस्थित पानी ट्यांकीबाट आइतबार वितरण सुरु गरिएको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत (सीइओ) मिलन शाक्य, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) कार्यकारी निर्देशक संजीवविक्रम राणा, वितरण शाखा प्रमुख लगायतले ताला खोलेर पानी वितरणको शुभारम्भ गरेका हुन्।

महांकालचौरबाट वितरण गरिने पानी महांकालचौर, चाबहिल, कुटुबहाल, देवकोटा सडक, बत्तीसपुतली, जयवागेश्वरी, सिफल, कालोपुल, एयरपोर्टहाइट,देवकोटा सडक लगायतका एरियामा पुग्नेछ। उक्त रिजर्भ्वायरमा जोडिएका सबै सिस्टमा करिब डेढ घण्टामा पानी पुग्नेछ।

बेलुकीसम्म अनामनगर, मिनभवन,खुमलटार गरि थप तीन वटा रिजर्भ्वायरबाट वितरण सुरु गर्ने तयारी छ। त्यसका लागि ती रिजर्भ्वायरहरुमा पानी भर्न सुरु गरिसकेको केयुकेएलका सीइओ शाक्यले बताए। उनका अनुसार आज बेलुकीबाट चार करोड लिटर पानी वितरण थाल्ने योजना छ। करिब ८० हजार धारामा पानी पुग्नेछ। विस्तारै पानी वितरणको परिमाण र क्षेत्र बढाउदै लैजाने योजना छ।

सोमबार बालाजु पोखरीबाट थप वितरण हुनेछ। त्यसपछि महाराजगञ्ज र बाँसबारीको पोखरीमा पनि वितरण हुनेछ। ‍बिस्तारै परीक्षण गर्दै वितरण गर्दै जाने योजना रहेको शाक्यले बताए। पहिलो दुई दिन ४ करोड त्यसपछि ६.५ करोड़ र ४ दिनपछि ८.५ करोड लिटर वितरण गरिने छ। त्यसपछि परिमाण र क्षेत्र बढाउदै लगेर बैशाखसम्म १७ करोड लिटर पानी वितरण गरिसक्ने योजना केयुकेएलले बनाएको छ।

पिउन योग्य हुने

सुन्दरीजलमा रहेको ट्रिटमेन्ट प्लान्टबाट पूर्ण रूपमा परीक्षण गरेर मात्रै वितरण गर्न लागिएकाले पानी पिउन योग्य हुने शाक्यले बताए। 'अहिले उपभोक्ताहरुमा पानी पिउन मिल्ने वा नमिल्ने भन्ने भ्रम छ,' उनले भने, 'राम्रोसँग परीक्षण गरिएकाले पूर्णरूपमा पानी पिउन योग्य छ।'

अहिले उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। केयुकेएलले करिब ८ करोड लिटर पानी वितरण गर्दै आएको छ। यसमा मेलम्चीको १७ करोड लिटर पानी थपिँदा करिब २५ करोड लिटर पानी पुग्छ। याङग्री र लार्केको ३४ करोड लिटर थपेर माग पूरा गर्ने योजना छ। याङग्री र लार्केको योजना प्रारम्भिक चरणमा छ।

सोही कारण मेलम्चीको पानी आएको भए पनि दैनिकरूपमा भने पानी वितरण हुने छैन। तालिका बनाएर केही घण्टा वितरण गर्ने योजनामा केयुकेएल छ। बिहान, दिउँसो र रातिसमेत पानी वितरण हुनेछ।

अनामनगर एरियामा चौबीसै घण्टा

अनामनगर एरियामा भने पाइलट प्रोजेक्टका रूपमा चौबीसै घण्टा पानी वितरण गर्न लागिएको छ। उक्त एरियाको करिब १६ सय धारामा पानी वितरण गर्न लागिएको हो। आयोजना कार्यान्वयन निर्देशनालयले तयार पारेको ५ सय १० नयाँ धारा र बाँकी पुरानै धारामा वितरण गरिनेछ। 'उपभोक्ताले पानीलाइ कसरी उपयोग गर्छन र चुहावट कस्तो हुन्छ हेर्नका लागि २४ सै घण्टा पानी छाड्न लागेका हौं,' शाक्यले भने, 'परीक्षण गर्दै सिक्दै जाने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell