PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सम्मान कार्यक्रममा संगीतकर्मीलाई 'सम्मान'नै बहिष्कार गर्न आग्रह, 'त्यो शोषकहरूले फकाउन दिएका हुन्'



सम्मान कार्यक्रममा संगीतकर्मीलाई 'सम्मान'नै बहिष्कार गर्न आग्रह, 'त्यो शोषकहरूले फकाउन दिएका हुन्'

शनिवार नेपाली संगीत क्षेत्रका दुई अग्रज सम्मानित भए। गायक कुमार बस्नेत र संगीतकार प्रकाश गुरुङलाई भक्तराज आचार्य संगीत प्रतिष्ठानले 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७७' प्रदान गरेको हो। कार्यक्रममा दुई स्रष्टाले नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा भयो।

कुमार बस्नेत लोक गीत तथा संगीत संरक्षण एवं प्रवर्द्धनमा ७ दशक यता सक्रिय छन्। ७८ वर्षको उमेरमा पनि लोकभाका संकलनमा लागि परेका छन्। किनकि उनलाई संगीत कुनै पनि देशको पहिचान र गौरवसँग जोडिएको विषय हो भन्ने लाग्दो रहेछ। संगीतमार्फत् पहिचान जोगाउन देखिएको उनको जोस उर्जाशील देखिन्थ्यो। भलै, संगीत क्षेत्रले बस्नेतहरूलाई सम्मान र सन्तुष्टि मात्र कहाँ दिएको रहेछ र?

उनले वर्षौ संगीत क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टाहरू आर्थिक अभावबाट गुज्रनुलाई दु:खद् विषय भएको बताए। 'सधैँ उस्तै तालले त संगीतकर्मी बाँच्दै बाँच्दैनौं नि,' उनले अभावबारे तीतो पोखे। यस क्षेत्रमा 'काम गर्ने कालु मकै खाने भालु' भन्ने उखान चरितार्थ भएको तर्क राखे। असन्तुष्टि पोखे,'यहाँ एकले अर्को स्रष्टाको सम्मान गर्दैन। गाउने बाहेक बजाउने, लेख्ने, नाच्ने पनि त कलाकार हो। तर यहाँ समान व्यवहार हुँदैन।'

उनले विदेशमा नेपाली लोक बाजाहरूको प्रयोगबारे उदाहरण दिँदै नेपालमा पनि विभिन्न लोक बाजा एवं भाका संकलन, संरक्षणमा जोड दिनुपर्ने बताए।

संगीतकार लक्ष्मण शेषले बस्नेतले इंगित गरेको आर्थिक अभावको चिन्तामा आड दिए।  नेपाली संगीत क्षेत्रमा व्याप्त 'माफिया'का कारण अग्रजदेखि नयाँ पुस्ताका संगीतकर्मी मारमा परेको उनको तर्क रह्यो।

उनले भने,'गीत, संगीत र सिर्जनाको क्षेत्रमा केही धमिरा र माफियाहरूको राज छ। उनीहरूले सर्जकहरूको सामाग्री विश्वका सयौं प्ल्याटफर्ममार्फत् बेचिरहेका छन्। तर, सम्बन्धित सर्जकलाई रोयल्टी दिइरहेका छैनन्। यसरी श्रष्टा र अग्रजहरूलाई लुटिरहेका छन् माफियाले।'  

उनले हालका लागि रोयल्टी एवं सिर्जनाको प्रतिलिपि अधिकारका लागि लड्नु नेपाली संगीत क्षेत्रको महाअभियान भएको बताए। यस अभियानमा साथ दिन र गीत/संगीतका माफियालाई निरुत्साहित पार्न संगीतकर्मीले केही 'सम्मान' कार्यक्रम बहिष्कार गर्नुपर्ने बताए।

'पुरस्कारको नाममा खादा र केही हजार रुपैयाँ दिन्छन्। त्यो शोषकहरूले फकाउन दिएका हुन्। बहिष्कार गर्नुस्। त्यसो नगर्नु नजानिँदो तरिकाले शोषकहरूलाई सम्वर्द्धन गर्नु हो,' शेषले भने,'केही हजार रुपैयाँको लोभ नगरी स्रष्टाका अमूल्य सिर्जनामाथि भइरहेको दलाली दुरुत्साहित गर्नुपर्छ।'

कुनै पनि कालजयी गीत हजारौं वर्ष बाँच्ने र त्यही गीत बेचेर करोडौं कमाइरहेकाहरूले श्रष्टालाई अधिकार अनुरुप केही नदिएको उनको आरोप थियो।

शेषले संकेत गरेको 'अधिकार' श्रष्टाको प्रतिलिपि अधिकारसँग जोडिएको छ। जसबारे पछिल्लो समय नेपाली संगीत वृत्तमा चर्चा हुँदै आएको छ। गत पुसमा गायक प्रमोद खरेलले आफ्नो गीतको प्रतिलिपि अधिकारको दुरुपयोग भएको भन्दै विन्ध्यवासिनी म्युजिक कम्पनीका कार्यकारी अधिकृत लीना शर्मा रेग्मीविरुद्ध उजुरी दिएपछि यस विषयमा विवाद चर्किएको थियो।

प्रतिलिपि अधिकारबारे संगीतकर्मी एवं वितरक प्रष्ट नहुँदा विवादले कानुनी रुप लिएको पहिलो पटक भने होइन। यसअघि सन् २०१६ मा गायक अविनाश घिसिङले गीत ‘चुईँचुँई चुइँकने जुत्ता’ बोलको गीत युट्युबमा आफ्नै च्यानलबाट सार्वजनिक गरे। गीत युट्युबमा राखेको चार दिनपछि घिसिङलाई गीतमा ‘कपिराइट क्लेम’ लागेको जानकारी दिँदै मेल आयो।

सोही दिन अविनाशले ‘चुईँचुईँ चुइँकने जुत्ता’का लेखक तथा संगीतकार जयनन्द लामासँग गीत रिमिक्सका लागि गरेको सहमतिको कानुनी कागज सार्वजनिक गरे। उनले फेसबुक पोस्टमार्फत् म्युजिक नेपालले कलाकारमाथि शोषण गरेको आरोप लगाए। आफूले किनेको गीतमाथि म्युजिक नेपालले कपिराइट क्लेम गर्न नहुने उनको तर्क थियो।

पाँच वर्षपछि पनि यस विषयमा आरोप प्रत्यारोप जारी छ। एक संगीतकर्मीले सम्मान कार्यक्रममा उभिएर अर्का संगीतकर्मीलाई 'सम्मान' नै बहिष्कार गर्न अग्रह गर्नुपर्ने अवस्था छ। भलै कानुनले भने स्रष्टाहरुको प्रतिलिपि अधिकार सुनिश्चित गर्ने दाबी गर्छ। गत जेठ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, बौद्धिक सम्पत्ति सुनिश्चित गर्ने बताएकी थिइन् ।

कानुन व्यवहारिक रुपमा कार्यान्वयन नै लक्ष्मण शेषलगायत संगीतकर्मीको माग हो।

सम्मान कार्यक्रममा संगीतकार संघका अध्यक्ष प्रकाश मुकारुङले पनि संगीतकर्मीले गीत/संगीत प्रयोग गरेबापत् रोयल्टी नपाउने विषयको उठान गरेका थिए।

आधुनिक,पप एवं चलचित्रका गीतहरूमा संगीत गर्दै आएका प्रकाश गुरुङले आफ्नो संगीतमा भक्तराज आचार्यको स्वर भर्न नपाएपनि उनको गायनबाट सधैँ प्रभावित भएको बताए। दुवै स्रष्टालाई आयोजकले ५० हजार १ रुपैयाँसहित सम्मान गरेको हो।

कार्यक्रममा गायकहरू सत्यराज आचार्य, स्वरुपराज आचार्यले र रञ्जित नेपालीले गीत गाएका थिए। उनीहरूलाई संगीतमा मनीष सिंह, गोपाल रसाइली, उमेश पण्डित, विपी सिंह, सञ्जिव लिम्बुलगायतले साथ दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell