काठमाडौं : बालुवाटार ललिता निवास जग्गा अपचलन प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराई विरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनवाइ हुँदैछ।
नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर रिट आज न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको इजलासमा एक नम्बर पेशीमा चढेको छ।
न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय लगायतलाई विपक्षी बनाइ एक वर्ष अगाडि रिट दायर गरेका थिए। तर, पेशीमा चढेर पटकपटक सुनुवाइ स्थगित हुँदै आएको छ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्दा नेपाल र भट्टराईको क्याविनेटले निर्णय गरेको देखिए पनि मन्त्रिपरिषद्को निर्णय अख्तियारको दायरामा नआउने भएपछि दुवै पूर्व प्रमविरुद्ध मुद्दा चलाइएको थिएन। त्यसविरुद्ध अधिवक्ता न्यौपानेले सर्वोच्चमा रिट हालेका थिए।
