PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

दर्शकको भव्य उपस्थितिमा नेपालले जित फर्किएको रौनक, प्रधानमन्त्रीको उपस्थितिदेखि महर्जनको सन्याससम्म

दर्शकको भव्य उपस्थितिमा नेपालले जित फर्किएको रौनक, प्रधानमन्त्रीको उपस्थितिदेखि महर्जनको सन्याससम्म

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली फुटबल टोलीले बंगलादेश, नेपाल र कीर्गस्तान सम्मिलित थ्री नेसन्स कपको उपाधि उचालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले बंगलादेशमाथि २-१ गोलअन्तरले जित निकाल्दा नेपालमा फुटबलको माहोल फेरि बनेको देख्न मिल्यो।

खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु मोहन बस्नेत, रामहरी खतिवडालगायत उपस्थित थिए। त्यस्तै, स्टेडियममा दर्शकको पनि उस्तै उपस्थिति थियो। ‘नेपाल, नेपाल’ भन्दै दर्शकले हुटिङ लगाइरहँदा खेलाडी पनि त्यतिकै हौसिरहेका थिए। अझ कप्तान किरण चेम्जोङ त दर्शकलाई उल्टै हौस्याउन भ्याइरहेका थिए।

प्रधानमन्त्री आउने भएपछि रंगशालामा दिउँसैबाट सुरक्षा ब्यवस्था कडा बनाइएको थियो। प्रधानमन्त्री आउदा पनि सुरक्षाकर्मीहरुले अस्वभाविक रुपले घेरेका थिए। राजनीतिक उथलपुथलले प्रधानमन्त्रीको सुरक्षा थ्रेट बढेकोले हुन सक्छ।

त्यस्तै, खेलका क्रममा एकजना समर्थक मैदान सहजै प्रवेश गरे र नेपाली खेलाडीहरुसँग अँगालो मार्न पनि पुगे।

त्यस्तै, राष्ट्रिय टोलीको कप्तानी गरेका विराज महर्जनले आज सन्यास लिए। प्रधानमन्त्रीबाट ब्लेजर लगाएका उनी घरेलु मैदानमा दर्शकको ठूलो संख्याबिच उपाधि सहित सन्यास लिँदा भाग्यमानी ठहरिए। अझ कप्तान किरण चेम्जोङले उपाधि नै महर्जनको नाममा डेडिकेट गरेको बताए। महर्जनलाई धन्यवाद दिन दर्शकहरुले ब्यानरहरु समेत ल्याएर प्यारापिटको छेउमा टाँगेका थिए।

रंगशालामा अघिल्लो सालको १३ औं सागपछिकै ठूलो रौनक थियो। नेपाली सिनियर टोलीले त वर्षौं पछि त्यहाँ खेल खेल्दै थियो। त्यसैले त खेलाडी उत्साहीत थिए। अझ प्रधानमन्त्री सहित शीर्ष नेताहरु रंगशालामा पुगेर खेलाडीहरुलाई उत्साह दिँदा खेलाडी मख्ख थिए नै। फ्यानहरुले पनि त्यति नै उत्साह दिइरहेका थिए।

उपाधि जितेसँगै नेपाली टोलीका कप्तान किरण चेम्जोङले यो उपाधि आजको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा सन्यास लिएका विराज महर्जनलाई डेडिकेट गरेको बताए।

‘म यो ट्रफी मेरो साथी विराज महर्जनलाई डेडिकेट गर्न चाहन्छु,’ कप्तान चेम्जोङले भने , ‘मैले यो प्रतियोगिता हुनु भन्दा अघि नै उनलाई विदाइसँगै यो ट्रफी डेडिकेट गर्ने भनेको थिएँ।’

त्यस्तै, चेम्जोङले घरेलु मैदानमा ट्रफीसँगै महर्जनलाई विदाइ गर्न पाएकोमा खुशी भएको बताए। राष्ट्रिय टोलिबाट ७३ औं खेल खेल्दै महर्जनले आज सन्यास लिएका हुन्।

खेलबारे कुरा गर्दै कप्तान चेम्जोङले ट्यालेन्ट युवा खेलाडीहरु टीममा रहेकाले राम्रो प्रदर्शन गर्न सकेको बताए। त्यस्तै, कप्तानको रुपमा पहिलो आधिकारिक ट्रफी जितेकोमा पनि चेम्जोङ मख्ख सुनिए।

नेपालका लागि संजोक राईलले खेलको १७ मिनेट ५१ सेकेन्डमा गोल गरी नेपाललाई अग्रता दिलाएका थिए। यस्तै, खेलको ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए। संजोक राईलाई आजको खेलको म्यान अफ द म्याच घोषित गरिएको छ।

बंगलादेशका लागि दोस्रो हाफमा महोबबुर रहमानले एक गोल फर्काएका थिए।

यो खेलसँगै पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्याससमेत लिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell