काठमाडौं : लामो समयपछि रंगशाला झण्डै भरिएको थियो। दर्शकको उपस्थिति उत्तिकै। हुटिङ उत्तिकै। प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरुदेखि खेलकुद पदाधिकारी, कलाकार लगायत अधिकांश क्षेत्रका मानिसहरुको उपस्थिति। प्यारापिटमा देखिन्थ्यो ‘थ्यांक यू विराज’, ‘विराज ३’ लेखिएका पम्प्लेटहरु। सोमबार दशरथ रंगशालाको दृश्य यस्तै देखियो। रंगशाला बाहिरपनि दर्शकको फुटबल क्रेट देखिन्थ्यो।
खेल सुरु भयो। प्रदर्शनको हिसाबले उस्तै उस्तै टिम नेपाल बंगलादेशबीचको खेलमा घम्साघम्सी राम्रै परिरहेको थियो। यसअघिका दुई खेल गोलरहित बराबरीमा रोकिएकाले पनि अनुमान पक्कै लाग्छ प्रतिस्पर्धा ठूलै हुनेवाला थियो। तर फाइनल खेलमा घरेलु टोली हाबी भयो।
नेपालका लागि संजोग राईलले खेलको १७ मिनेट ५१ सेकेन्डमा गोल गरी नेपाललाई अग्रता दिलाएका थिए। यस्तै, खेलको ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए। उता बंगलादेशका लागि दोस्रो हाफमा महोबबुर रहमानले एक गोल फर्काएका थिए। सन्दर्भ नेपालले बंगलादेशलाई कसरी रोकेर राख्ला भन्नेमा थियो।
खेलको ८९ औं मिनेटमा दर्शकहरुको आवाज थप कडा हुँदै गयो। कारण थियो, विराज महर्जन मैदानमा उत्रँदै थिए। आफ्नो अन्तिम अन्तर्राष्ट्रिय फुटबल खेल खेल्न। प्यारापिटमा राखिएका ब्यानर उनलाई नै 'डेडिकेट' गर्न प्रशंसकहरुले राखेका थिए।
त्यतिकैमा कप्तान किरण चेम्जोङले आफ्नो आर्मब्याण्ड फुकालेर उपकप्तान रोहित चन्दलाई दिए। र चन्दले ल्याएर महर्जनलाई दिए। त्यसपछि मैदानमा उत्रिए ‘मानार्थ कप्तान’ का रुपमा महर्जन। दर्शकहरुको हुटिङ त छँदै थियो।
समय सकियो। खेल नेपालले २-१ ले आफ्नो पक्षमा पार्यो। महर्जनलाई खेलाडीहरुले बोकेर घुमाए।
एक हिसाबले सन्यास लिनका लागि महर्जन भाग्यमानी देखिए। घरेलु मैदानमा दर्शकहरुको उपस्थितिबिच उपाधि जित्दै सन्यासको अवसर मिल्यो महर्जनलाई। अझ उनले विदाइको बेला प्रधानमन्त्रीबाट ‘ब्लेजर’ लगाउँदै विदा भए।
म्याच सकिएपछि कप्तान किरण चेम्जोङले उपाधि महर्जनलाई 'डेडिकेट' गरेको भन्दै अर्को सम्मान दिए। किरणले त्यसो भनिरहँदा उनी छेउमै बसेर मुसुमुसु हाँसिरहेका थिए।
सन् २००८ मार्च २५ मा पोखरामा सम्पन्न पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलिमा डेभ्यु गरेका उनी राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। उनीसँग हालसम्म ७३ क्याप रहेको छ।
सन् २०१९ मा मलेसियाविरुद्ध खेल खेलेयता धेरै खेलहरुमा उनी टिम भन्दा बाहिर रहे। तत्कालिन प्रशिक्षकको स्क्वाडमा उनी फिटनेसका कारण भन्दै अटाएका थिएनन्। आफ्नो करियरमा उनले १८ खेलमा कप्तानी गरे। पहिलो कप्तानी उनले भारतविरुद्ध सन् २०१५ को साफ च्याम्पियनसिपमा गरेका थिए।
उनको कप्तानीमा नेपालले १२ औं साग र बंगबन्धुकप जितेको थियो भने सोलिडारिटी कप पनि जितेको थियो।
घरेलु फुटबलमा उपाधिका हिसाबले उनी सर्वाधिक सफल कप्तान हुन्। उनले थ्री स्टार क्लब, मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्बलबाट लिगको उपाधि उचालिसकेका छन्। अघिल्लो सिजनमात्र उनको कप्तानीमा रहेको मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको थियो।
राष्ट्रिय टोलीका लागि उनले १ गोल गरेका छन्। सन् २००९ मा एएफसी च्यालेञ्ज कपमा कीर्गिस्तानविरुद्ध उनले गोल गरेका थिए।
फुटबलमै रहन्छु
सन्यासपछि विराजले विगतका तिता-मीठा कुराहरु बिर्सँदै यो विदाइले आफूलाई खुशी बनाएको प्रतिक्रिया दिए।
‘आज एकदमै ठूलो दिन हो। करियर सुरु गर्दै गर्दा यो स्थानमा आइपुग्छु भनेर कहिल्यै सोचेको थिइन। आफ्नो दायित्वहरु पुरा गर्दै गर्दै यो स्थानमा आइपुगेको छु,’ उनले भने, ‘आफूलाई माया गर्ने दर्शकहरुका अगाडि खेलेर सन्यास लिन पाउँदा आफूलाई एकदमै गर्व लागि रहेको छ। यो कुरा म जीवन भर बिर्सन सक्दिन।’
त्यस्तै, अब अगाडिको करियर फुटबलमै प्रशिक्षकको रुपमा रहेर अघि बढाउने इच्छा रहेको महर्जनले बताए। उनले आफूले फुटबलमा लागेर धेरैकुरा सिक्ने अवसर मिलेको भन्दै आफूले आफूलाई प्रमाणित गर्ने मौका पाएको बताए। अझै पनि आफू सिकाइकै प्रक्रियामा रहेकाले धेरै कुरा सिक्न बाँकी रहेको उनको भनाइ छ।
‘फुटबल क्षेत्रमा नै रहेर अघि बढ्नेछु,’ फ्यान र टिममेटहरुलाई धन्यवाद दिँदै महर्जनले भने, ‘म जहाँ छु उहाँहरुकै साथ सहयोग र हौसलाले छु। उहाँहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,’ महर्जनले भने, ‘उहाँहरुले जसरी मलाई जति माया गरिदिनुभएको छ त्यसरी नै नयाँ पुस्तालाई पनि गरिदिनुहोस। नेपाली फुटबललाई माया गरिराख्नुस भन्न चाहन्छु।’
उनले फुटबललको नयाँ पुस्तालाई आफ्नो मेहनत जारी राखे फुटबलमा अवसरहरु रहने भएकाले त्यसलाई लिँदै जानुपर्न सुझाए।
‘फुटबलमा अवसरहरु हुन्छन्, त्यसलाई लिँदै जानुहोला। सबैभन्दा ठूलो कुरा अनुशासन हो। अनुशासनमा रहेर मेहनत गर्दै जानुहोस। तपाईंले आफ्नो लक्ष्य प्राप्त गर्नुहुनेछ।’ उनले भने।