काठमाडौं : नेपाल सरकारले नेपाल भ्रमणमा आउने विदेशीलाई अन अराइभल भिसा दिने भएको छ। कोभिड-१९ को संक्रमण बढ्दै गएपछि एक वर्ष अगाडि सरकारले अन अराइभल भिसा दिन रोक लगाएको थियो।
भारत लगायतका विश्वका विभिन्न देशमा कोभिड-१९ को दोस्रो वेभ सुरु हुँदैगर्दा नेपालमा पनि पछिल्लो समय संक्रमण दर बढ्दै गएको छ। यस्तोमा सरकारले भने विदेशी पर्यटकका लागि नेपाल प्रवेशमा खुकुलो नीति अपनाएको हो।
पर्यटन विभागले २०७६ चैत ७ गते सूचना प्रकाशित गरी पदयात्रा, भ्रमण, क्यक्तिगत तथा सामूहिक पदयात्रा स्थगित गरेको थियो। त्यसको एक वर्षपछि विभागले सूचना प्रकाशित गरी यी कार्यक्रम सञ्चालनमा खुकुलो नीति लिएको हो।
गत वर्ष फागुनबाट रोक लगाइएको अन अराइभल भिसा अब विमानस्थलबाटै प्रदान गर्ने निर्णय सरकारले गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले हवाइ रुटबाट नेपाल आउने पर्यटकलाई उनीहरुको देशमा भिसा उपलब्धता नभए अन अराइभल भिसा उपलब्ध हुने जनाएको छ। तर, स्थलमार्गबाट नेपाल आउने पर्यटकले भने विदेशस्थित नेपाली मिसनबाट भिसा प्राप्त गरेपछि मात्र नेपाल प्रवेश गर्न पाउने जनाएको छ।
त्यस्तै, नेपाल आउने पर्यटकले नेपाल प्रस्थान गर्नुपूर्व ७२ घण्टा भित्रको कोभिड-१९ परीक्षणको पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने छ। अथवा कोभिड-१९ विरुद्को पूर्ण भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्ने छ।
नेपाल प्रस्थान गर्नुपूर्व विदेशीले नेपालको भिषा वा पर्यटन विभाग अथवा पर्यटन बोर्डको सिफारिस बुझाउनुपर्ने छ। नेपाल आउने विदेशीले यात्रा गर्नुपूर्व नै पर्यटन कार्यमा संलग्न हुने भन्ने सिफारिस प्राप्त गर्नुपर्ने छ।
त्यस्तै, नेपालमा बस्ने होटलको बुकिङ, वा बास बस्ने व्यवस्थाको ग्यारेन्टी देखाउनुपर्ने छ। त्यस्तै यात्रा बीमाको कागज पनि देखाउनुपर्ने छ, सो बीमामा नेपाल बसाइका क्रममा आपतकालीन खोज, उद्दार, उपचार लगायत समावेश हुनपर्ने छ।
नेपाल आउने यात्रुलाई ती कागजात भएपछि मात्र नेपाल प्रवेश गराउन विमान सञ्चालकलाई निर्देशन दिइएको छ।
क्वारेन्टाइनमा बस्न नपर्ने
यसैबिच पीसीआर नेगेटिभ रिपोर्ट अथवा कोभ्याक्स कार्ड भएका पर्यटकले नेपाल प्रवेश गरेपछि पुन:पीसीआर परीक्षण गर्नुपर्ने छ। पीसीआर रिपोर्ट प्राप्त नहुँदासम्म उनीहरु होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ। यदि पीसीआर रिपोर्ट पोजेटिभ आए उनीहरु होटलमै स्वास्थ्य मापदण्ड पालना गर्दै नेगेटिभ रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ। यदि नेगेटिभ आयो भने उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने छैन। उनीहरु पदयात्रा, पर्वतारोहण तथा यात्रा गर्न पाउने छन्।
यसअघि नेपाल आउने जोसुकैले पनि यहाँ प्रवेश गरिसकेपछि कम्तिमा ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था थियो।
पर्यटकलाई घुमाउने एजेन्सीहरुले उनीहरुसँग यात्रामा सहभागी हुने पथ प्रदर्शकहरुको एक लाख सम्मको स्वास्थ्य बीमा गराउनुपर्ने छ।
भारतीय पर्यटकका हकमा हवाइ मार्गबाट नेपाल प्रवेश गर्नेहरुले नेपाल-भारत ट्राभल बबल एग्रिमेन्ट आकर्षित हुने विभागले जनाएको छ। साथै स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकका हकमा सीमा नाकामा उनीहरुले पीसीआर नेगेटिभ रिपोर्ट अथवा कोभ्याक्स कार्ड देखाउनुपर्ने छ। नेपाल प्रवेश पछि उनीहरुले पीसीआर परीक्षण गर्नुपर्ने छ। उनीहरुले त्यसका लागि नेपाल सरकारले तय गरेका मापदण्ड पूर्ण पालना गर्नुपर्ने समेत विभागले जनाएको छ।
त्यस्तै, विभागले विदेशी पर्यटक नेपाल भित्र्याउने कम्पनीहरुलाई समेत आउने पर्यटकका सम्पूर्ण जानकारी विभागमा उपलब्ध गराउन निर्देशन दिएको छ।
नेपालमा रहँदा सबै पर्यटकको निगरानी, उपचार उनीहरुलाई नेपाल ल्याउने संस्थाको जिम्मेवारी हुने विभागले जनाएको छ। साथै नेपालमा पदयात्रा, पर्वतारोहण गर्दा पूर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गराउने जिम्मेवारी समेत यात्रा सहजिकरण गर्ने कम्पनीको हुने निर्देशनमा उल्लेख छ।
यसरी मापदण्ड पालना नगरे, पर्यटक, उनीहरुको यात्रा सहजीकरण गर्ने कम्पनीलाई कारवाही गरिने निर्देशनमा उल्लेख छ।