PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

गृहमन्त्रीको नेतृत्वमा थारुहट थारुवान संघर्ष समितिसँग सरकारको वार्ता सुरु



पहिलोपोस्ट

गृहमन्त्रीको नेतृत्वमा थारुहट थारुवान संघर्ष समितिसँग सरकारको वार्ता सुरु

काठमाडौं : थरुहट थारुवान संघर्ष समितिसँग सरकारको वार्ता सुरु भएको छ। विभिन्न माग राखि आन्दोलनरत समुहसँग गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठन भएको सरकारी टोलीले  वार्ता सुरु गरेको हो।

सोमवार सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले थरुहट थारुवान संघर्ष समितिसँग वार्ता गर्न वार्ता टोली गठन गरिएको जानकारी गराएका थिए। सरकारले गठन गरेको वार्ता टोलीमा गृहमन्त्रीसहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई, सांसद भगवती चौधरी सदस्य रहेका छन्।

समितिले जनता समाजवादी पार्टीका नेता तथा सांसद रेशम चौधरीको रिहाइको माग गरिरहेको छ। केही दिनअघि समितिले चौधरीको रिहाइका लागि भन्दै आयोजना गरेको धर्ना कार्यक्रममा गृहमन्त्री थापा आफैँ पुगेका थिए। थापाले सरकारले चौधरीको रिहाइका लागि पहल गर्ने बताएका थिए।

थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोलीमा रहेका छन्।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा छन्।

यता, सरकारलाई समर्थनका लागि जसपाले समेत रेशम चौधरीको रिहाइको माग्लाई बटमलाइन बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell