PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बागमतीका मुख्यमन्त्रीले बोलाए संसदीय दलको बैठक, अविश्वासको प्रस्ताव फिर्ताबारे छलफल हुने



निशा गुरुङ

बागमतीका मुख्यमन्त्रीले बोलाए संसदीय दलको बैठक, अविश्वासको प्रस्ताव फिर्ताबारे छलफल हुने

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठक बोलाएका छन्। प्रदेश सभामा एमाले संसदीय दलका नेतासमेत रहेका पौडेलले भोलि बुधबारको लागि दलको बैठक बोलाएका हुन्। बुधबार बस्ने बैठकमा आफ्नै दलका सांसदहरूले प्रदेश सभामा दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिन पौडेलले निर्देशन दिने बताइएको छ। एमालेकै माधव पक्षका सांसद अष्टलक्ष्मी शाक्यलगायतले अविश्वासको प्रस्ताव पेश गरेका थिए।

बुधबारको बैठकमा निर्णय गरेर मुख्यमन्त्री पौडेलले शाक्यलाई अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिने तयारीसमेत गरेको नेकपा एमालेका मुख्य सचेतक केशव पाण्डेले जानकारी दिएका छन्। अविश्वासको प्रस्ताव प्रदेश सभामा विचाराधीन छ। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा हुँदा एमालेकै माधव नेपाल समूह र माओवादी केन्द्रका सांसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।  त्यसबेला नेपाल समूहकी सांसद शाक्यलाई संसदीय दलको नेता प्रस्ताव गर्दै पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो। 

भोलि हुने संसदीय दलको बैठकमा अविश्वासको प्रस्तावको बिषयमा खासगरी कुरा हुने मुख्य सचेतक पाण्डेले बताए। ‘अविश्वासको प्रस्तावको विषयमा छलफल गर्ने योजना रहेको छ। त्यसलगाएत सदन संचालन गर्ने विषय तथा निति कार्यक्रम तथा बजेट निर्णयको बारेमा पनि छलफल हुने कार्ययोजना अनुसार संसदीय दलको बैठक बस्न लागिएको हो,' पाण्डेले भने।

उनका अनुसार भोलि हुने संसदीय दलको बैठकमा पूर्व माओवादी केन्द्रका नेताहरु तथा एमालेकै माधव समूहका सांसदहरुलाई समेत इच्छा अनुसार बैठकमा आउनसक्ने छन्।

मुख्यमन्त्री पौडेलले संसदीय दलको बैठक बोलाएपछि बैठकमा सहभागी हुने कि नहुने भन्ने प्रश्नमा माधव पक्षका सांसद मुनु सिक्देलको जवाफ थियो, 'किन नजानु, आफ्ना पार्टीको बैठकमा म किन नजाने?' सर्वोच्चले एमाले एउटै रहेको प्रमाणित गरिसकेपछि बैठकमा सहभागी नहुने भन्ने कुरै हुँदैन,' सांसद सिक्देलले भनिन्।

तर नेपाल पक्षका सांसदहरु सबैजना उपस्थित हुन्छन् की हुँदैनन् भन्ने कुरा भने अझै अन्यौलमा छ। यसअनुरुप अब कसरी अघि बढ्ने भन्ने बिषयमा थप छलफल गर्नको लागि संसदीय दलको बैठक बोलाएको मुख्यमन्त्री डोरमणी पौडेलको मुख्य सचेतक केशव पाण्डेले बताएका छन्।

बुधबारको संसदीय दलको बैठकमा एमालेकै माधवकुमार नेपाल समूहका सांसद सहभागी हुन्छन् या हुँदैनन भन्ने बारे अझै टुंगो भने लागेको छैन। प्रदेश सभामा ११० सदस्य सांसद छन्। जसमा एमालेको एकल बहुमत छ। बुधबारको बैठकमा सरकारमा नयाँ मन्त्रीहरु नियुक्त गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।  यसअघि जमरकट्टेल, अरुण नेपाल र युवराज दुलालले राजीनामा दिएर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। तत्काल उनीहरुले राजीनामा दिएर रिक्त मन्त्रालयमा नयाँ मन्त्रीसहित थप २ गरी पाँच जनामन्त्री नियुक्त गर्ने समेत बुझिएको छ।   

प्रदेशसभामा नेकपा एमालेका ५७ नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टी २, नयाँ शक्ति पार्टी १ जना सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell